काठमाडौं, पुस २ । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग अभ्यास खेल खेल्दैछ । बंगलादेशको ढाकामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।
एक हप्ताको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली त्यहाँबाट सोझै साफ च्याम्पियनसिपको लागि आयोजनास्थल भारतको केरला जानेछ ।
अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता छ । म्याच फिक्सिङ प्रकरणमा नियमित कप्तान र उपकप्तान सहितका केही खेलाडी निलम्बनमा परेको अवस्थामा नेपाली टोलीमा अधिकतम नयाँ खेलाडीहरु समेटिएको हो ।
लगातार ९ खेलसम्म गोल गर्न नसकेर ओलचित बनेको नेपाली राष्ट्रिय फुटबल टोलीले यसपटक गोलको खडेरी चिर्ने धेरैको अपेक्षा छ ।
पछिल्लो पटक २०७० साल भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको समुह चरणमा भारतलाई २–१ ले हराएको नेपालले त्यसपछिका ९ खेलमा गोल गर्न सकेको छैन ।
यीमध्ये ७ खेल हारेको नेपालले भारत विरुद्धका पछिल्ला दुई खेल भने गोलरहित बराबरीमा टुंग्याएको छ ।
भारतमा यही पुस ८ गतेदेखि हुन लागेको साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समुह ‘ए’ मा छ ।
imagekhabar
Post a Comment