२९ मंसिर, काठमाडौं । इन्धनको हाहाकार भइरहेका बेला सबैलाई ग्यासको चिन्ता छ । तर, ग्यासको खोजीमा भौंतारिएका चाबहिलका कानुन व्यवसायी कृष्ण देवकोटाले भने मंगलबार ग्यासको साटो गौशालाका प्रहरीको गोदाइ भेटेका छन् । उनलाई प्रहरीले बुटैबुटले हान्दै हिरासतमा थुनेको छ ।
देशमा लोकतन्त्र र गणतन्त्र आए पनि प्रहरीको व्यवहार भने अमानवीय एवं निरंकुश पञ्चायती शैलीकै छ भन्ने प्रमाण चाबहिल स्तुपा छेउमा काठमाडौंबासीले प्रत्यक्ष देख्न पाए ।
देवकोटाको अपराध ग्यास माग्नु !
अधिवक्ता देवकोटाले ग्यास पाइने आशामा केही दिनअघि चावहिलको स्तुपास्थित नेपाल ग्यासको डिपोबाट टोकन लिएका थिए । उनको टोकन नम्बर थियो २१३ ।
ग्यास बाँडिदै गरेको खबर सुनेपछि उनी बिहानै डिपोमा पुगेर लाइनमा बसे । लामो कुराइपछि जब उनको ग्यास लिने पालो आयो, उनले २१३ नम्बरको टोकन देखाए । तर, यो नम्बरको ग्यास वितरण भइसकेको डिपोवालाले जानकारी दिइन् ।
देवकोटाले आफूले वितरणबारे थाहा नपाएकाले टोकन नम्बरअनुसार ग्यास दिन माग गरे । उनले ग्यास पाउनुपर्ने दाबी गरिरहँदा त्यहाँ खटिएका प्रहरी उनीमाथि जाइलागे । देवकोटाले प्रहरीसँग आफ्नो टोकन नम्बरको सिलिण्डर डिपोमा हुनु र आफूले पाउनुपर्ने अडान राखे । त्यसपछि प्रहरीले उनीमाथि कुटपिट थाल्यो ।
ग्यास वितरण गर्न खटिएका महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक अरुणकुमार भण्डारी नेतृत्वको टोलीले उनलाई लछार-पछार गर्दै कुटपिट गरेको स्थानीय बताउँछन् ।
भण्डारीले ‘यसलाई लगेर लगेर थुनिदे’ भन्दै जवानहरुलाई निर्देशन दिए । त्यसपछि उनलाई गाडीमा कोचेर गौशाला पुर्याई हिरासतमा थुनियो ।
देवकोटालाई प्रहरीले बुटैबुटले पिट्दै र घिसार्दै भ्यानमा हालेको डिपोमा लाइन बसेका प्रत्यक्षदर्शीे बताउँछन् । देवकोटाले ‘कुनै गल्ती नै नगर्दा किन हिरासत जाने’ भनेपछि उनीमाथि प्रहरी थप आक्रमक बनेको प्रत्यक्षदर्शीले बताए । उनको ढाडमा लात्ती प्रहार भएको प्रत्क्षदर्शीले बताए ।
गौशालामा थुनिएका देवकोटाले प्रहरीले आफूमाथि ज्यादती गरेको गुनासो गरे । ‘मैले मरो टोकनअनुसार ग्यास पाउँ भनेको हुँ, देवकोटाले रुँदै भने, ‘आफ्नो अधिकारले पाउने कुरा माग्दा कुट्दै-कुट्दै जेलमा ल्याएर थुन्ने कस्तो व्यवस्था हो ?’ उनले आफ्नो टोकन प्रहरीले खोस्न खोजे पनि सुरक्षित राखेको बताए । आफ्नो शरीरमा प्रहरीको पिटाइको नीलडाम रहेको उनले बताए ।
‘मलाई टोकन नम्बर अनुसार आफ्नो पालोमा आएको ग्यास दिइएन् । प्रहरीले सहयोग गर्नुपर्नेमा उल्टै बर्बरता देखायो,’ हिरासतबाटै देवकोटाले भने- ‘मेरो लुगा च्यातिएको छ, शरीरभरि निलडाम छ ।’
पाठ सिकाउन बाँकी छ: इन्स्पेक्टर भण्डारी
गौशाला प्रहरी कार्यालयमा थुनिएका पीडितसम्म पुग्न प्रहरीले अनलाइनखबरको टिमलाई दिए । त्यसपछि अनलाइनखबरको टोली चाबहिलको स्तुपातिर लाग्यो, जहाँ उपभोक्ताहरु ग्यासको लाइनमै थिए । इन्स्पेक्टर भण्डारी पनि त्यहीँ भेटिए ।
ग्यासको खोजीमा आएको उपभोक्तालाई किन थुनेको ? अनलाइनखबरको प्रश्नमा प्रहरी निरीक्षक भण्डारीले ‘नआइज भन्दाभन्दै पटक-पटक ग्यास माग्न आएपछि आफूले थुनिदिएको सगर्व बताए ।
प्रहरी निरीक्षक भण्डारीले देबकोटालाई प्रहरी कार्यालयमा पुगेर ‘अझै पाठ सिकाउनै बाँकी नै रहेको’ बताए । ‘त्यत्तिकै छोडेर कहाँ हुन्छ, मैले भेट्नै बाँकी छ, केही कुरा सिकाएर मात्र छोड्छु’ धम्की दिने शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षक भण्डारीले भने- ‘कुटपिट भएको हैन, जान्न भन्यो, अनि तान्दा कपडा च्यातिएको हो ।’
onlinekhabar
Post a Comment