२ पुस, लण्डन ।
बेलायतको विदेश मन्त्रालय एवं कमनवेल्थ कार्यालयका राज्यमन्त्री ह्युगो स्वायरले आफू गोर्खा सैनिकको ज्वाइँ भएको बताएका छन् ।
स्वायरले नेपालको नयाँ संविधानलाई राजनीतिक प्रक्रियाको कोसेढुंगा बताउँदै बुधबार व्यवस्थापिका संसदले पुनर्निर्माण प्राधिकरण विधेयक पारित भएकोमा खुशी व्यक्त गरे । उनले अब भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण हुने आशा व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतवीचको सम्बन्ध विविध कारणले अझै गाढा हुँदै जाने बताए । तर, उनले नेपालले हाल भोगिरहेको नाकाबन्दीको समस्याबारे भने बोलेनन् ।
बरु बेलायती राज्यमन्त्री स्वायरले चाँहि संविधान निर्माणपछिबा बाँकी चुनौतीहरु चाँडै समाधान हुने र नाकाबन्दी खुल्ने आशा व्यक्त गरे ।
नेपाल र बेलायतवीचको कूटनीतिक सम्बन्ध दुई सय वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा आयोजना गरिएको विशेष कार्यक्रममा भाग लिन मन्त्री थापा बुधबार लण्डन आइपुगेका हुन् ।
बुधबारै थापाले बेलायती विदेश सचिव फिलिप ह्यामण्डसँग पनि भेटवार्ता गरेका छन् ।
मन्त्री थापाले समारोहलाई सम्बोधन गर्दै बेलायतले नेपाललाई पुर्याउँदै आएको सहयोगको सह्राना गरे । साथै थप सहयोगका लागि थापाले आग्रहसमेत गरे ।
कार्यक्रममा बेलायतका अन्तरराष्ट्रिय विकासमन्त्री देसमण्ड स्वानेले नेपालमा भूकम्पका बेला बेलायतले छिटोभन्दा छिटो सहयोग उपलब्ध गराएको जानकारी दिए । अब पुनः निर्माणमा नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको मन्त्री स्वानेले बताए ।
भूकम्प आएका बेला उद्धारका लागि नेपाल आएका हेलिकोप्टर फिर्ता पठाइइएको घटनादेखि नै बेलायत नेपालसँग असन्तुष्ट रहेको बताइँदै आएका बेला बेलायती मन्त्री स्वानेले नेपाललाई थप सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, पूर्वगोर्खा सैनिक, बुद्धिजीवी लगायतको ठूलो सहभागिता थियो । कार्यक्रममा मन्त्री थापाले बेलायती अधिकारीहरुका साथै नेपाली समुदायसँग फोटो सेसनसमेत गरे ।npkhabar
Post a Comment