पुष्प दुलाल
२९ मंसिर, काठमाडौं । बैदेशिक रोजगारीका लागि गत बैशाख १८ गते संयुक्त अरब इमिरेट्स (दुबइ) हिँडेकी सजिना तामाङलाई सिरिया पुगेपछि मात्रै आफू बेचिएको थाहा भयो ।
तामाङलाई दुबईमा सेक्यूरिटीको काम लगादिन्छु भनेर सिरिया पुर्याएर बेच्ने दलाल हुन् बुटवलका शोभकान्त भट्टरार्इ, जसलाई सजिनाले साथीका माध्यमबाट चिनेकी थिइन् । उनलाई दुबईमा मासिक ४० हजार रुपैयाँ कमाइ हुने बताइएको थियो ।
बायाँबाट पन्चु लामा, पूजा, सजिना, गेनु र शोभाकान्त
बायाँबाट पन्चु लामा, पूजा, सजिना, गेनु र शोभाकान्त
भट्टराईले तामाङसँगै चारजना युवतीहरुलाई दुबई पठाइदिन्छु भनेर झुक्याएर सिरियामा घरेलु कामदारको रुपमा प्रतिव्यक्ति ६ हजार डलर अर्थात् नेपाली ६ लाख रुपैयाँमा बिक्री गरे । बेचिएका युवतीहरुसँग पनि भट्टराईले ३०/३० हजार रुपैयाँ उठाए ।
दिल्लीको बाटो हुँदै दलाल भट्टराईले आफूसहित पूजा गेवा, सुनिता थापा र रेनु मगरलाई सिरिया पुर्याएको अलपत्र अवस्थामा सिरियामा रहेकी सजिनाले अनलाइनखबरसँग भाइबरमा दुखेसो पोखिन् ।
सजिनाका अनुसार दिल्लीमा ६ दिन राखेर उनीहरुलाई सिरिया पुर्याइएको थियो । जसमध्ये रेनु मगर नेपाल फर्किइसकेकी छन् भने तामाङ, गेवा र थापा द्वन्द्वग्रस्त देश सिरियामै बन्दी जीबन विताइरहेका छन् ।
सिरिया पुगेको महिना दिन जति उनले काम गर्न मानिनन्, काम नगरेपछि उनलाई खान पनि दिइएन । अन्तिममा ज्यान बचाउनकै लागि काम गर्न थालिन
इस्लामिक स्टेटको माग गर्ने आइएसएसको केन्द्र मानिन्छ सिरिया । नेपाल सरकारले सिरियामा कामदार पठाउन स्वीकृति दिएको छैन ।
‘जब सिरियाको टिकट देखेँ, तब मैले जाँदै जान्न भनेँ । तर, भट्टराईले एक महिनाका लागि हो, त्यसपछि दुबई नै आउने हो भनेपछि प्लेन चढ्न राजी भएँ ।’ तामाङले भनिन् ।
जब उनलाई सिरियामा बेचिएको थाहा भयो, उनले नेपाल फर्किन प्रयास गरिन् । तर, सजिनालाई किन्ने सिरियाली मालिकले उनलाई फर्किन दिएनन् ।
‘मैले मालिकलाई म दुबई जान भनेर आएकी हुँ, दलालले भुक्याएछ । म यहाँ काम गर्न सक्दिँन फर्किन्छु भनें, उसले तँलाई ६ हजार डलरमा किनेको हो, कि पैसा तिर, नत्र जेल हालिदिन्छु भन्यो’ तामाङले भनिन् ।
सिरिया पुगेको महिना दिन जति उनले काम गर्न मानिनन्, काम नगरेपछि उनलाई खान पनि दिइएन । अन्तिममा ज्यान बचाउनकै लागि काम गर्न थालेको तामाङले सुनाइन् ।
‘खान नपाएर भोकभोकै मर्नुभन्दा त बाँच्नकै लागि भए पनि काम गर्न थालेँ’ उनले सुनाइन्- ‘सुरुका तीन महिना मासिक २ सय डलर अर्थात नेपाली २० हजार रुपैयाँ तलब पाएँ । त्यसपछि त तलब नै दिएका छैनन् ।’
पटक-पटक कुटाइ खाइसकेँ
आफू सिरियाको कुन ठाउँमा छु भन्ने पनि थाहा छैन, सजिनालाई । उनले भनिन्-‘गाउँको पुरानो घरमा छु, त्यहाँ साहुनी, उनका दुई छोरी र दुई छोरा छन् । दैनिक गाली गर्छन्, तीन चार/पटक त साहुनीका छोराहरुले पिटे पनि ।’
बिहान ५ बजेदेखि राति १२ बजेसम्म घरायसी काम गर्नुपर्ने उनले सुनाइन् ।
प्रधानमन्त्री ज्यू, मलाई फर्काउनुहोस्
‘मानसिक पीडाले आक्रान्त बनाएको छ, जहिले जे पनि हुनसक्छ । बाँच्न पाउँछु, आफ्नो देश फर्किन पाउँछु वा पाउँदिन केही टुंगो छैन’ उनले भनिन्- ‘मेरो देशका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो एउटै आग्रह छ, मलाई आजै आफ्नो देश फर्काइदिनुहोस् ।’
घर बाहिर लडाइँ नै लडाइँ हुने गरेको र झ्यालबाट मान्छे मरेको विभत्स दृश्य देखिने गरेको उनले सुनाइन् ।
‘रातभरि सुत्न पाइँदैन, ननस्टप गोली बारुद पडि्करहेको छ । झ्यालबाटै मान्छे मरेको देखिन्छ, बाहिर निस्कन पाइँदैन’ उनले भनिन्- ‘जसरी भए पनि सरकारले मलाई यहाँबाट छिटोभन्दा छिटो देश फर्काओस् ।’
को हुन् तामाङ ?
तामाङको घर पूर्वी पहाडी जिल्ला धनकुटाको जोरपाटी गाउँमा हो । स्थानीय विद्यालयमा ९ कक्षासम्म मात्रै पढेकी उनले पारिवारको आर्थिक अवस्था नाजुक भएकाले विदेशिनु परेको दुखेसो सुनाइन् ।
अहिले उनी २६ वर्षकी भइन । किशोरावस्थामै विवाह गरेकी तामाङको ८ वर्षका छोरा छन् नेपालमा ।
बैदेशिक रोजगारीकै शिलशिलामा मलेसिया गएका श्रीमान ६ वर्षदेखि आफ्नो सम्पर्कमा नभएको उनले सुनाइन् ।
छोरालाई काठमाडौंमा दिदीकोमा राखेर आफू धन कमाउन विदेशिएको, तर दलालले फसाएको तामाङले बताइन् ।
को हुन् भट्टराई ?
बुटवल स्थायी घर भएका शोभकान्त भट्टराई चेलीबेटी तथा मानव बेचविखनमा सक्रिय छन् । उनले सजिना, रेनू, जुजा र सुनिताजस्तै दर्जनौं युवतीहरुलाई भारतको बाटो हुँदै सिरियामा बिक्री गरिरहेका छन् ।
सिरियाबाट फर्किएर रेनूले बुटवलको इलाका प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । जिल्लाबाट पत्र आउँछ अनि तपाईलाई खबर गर्छौं भनेर इलाका प्रहरीबाट रेनूलाई फर्काइयो तर ३ महिना बित्दा पनि आफूलाई खबर नगरिएको रेनूले अनलाइनखबरलाई बताइन् ।
आफूलाई काठमाडौंस्थित आशा फाउन्डेशनले नेपाल फर्काउन सरकारी निकायमा पहल गरेको रेनुले बताइन् ।
‘जब सिरियाबाटै आशा म्याडमसँग भाइबरमा सम्पर्क भयो तब म फर्किन पाएँ’ उनले सुनाइन्- ‘मलाई सिरियाको पीडा थाहा छ, त्यसैले मेरी साथी सजिनालाई जतिसक्दो चाँडो देश फर्काउन सबैसँग मेरो विनम्र अनुरोध छ ।’
onlinekhabar
Post a Comment