लाससँग बिहे

-कृष्ण आचार्य

फागुन महिनाको दोश्रो साता बिहेको साइत जुराएर घरमा केटी हेर्न चटारो थियो । म मेरो निकै मिल्ने साथीको घर चितवनमा गएको थिएँ । उसको बुबाआमाले मलाई कृष्ण तिम्रो पनि प्रितमसँगै बिहे गर्नुपर्यो एउटै मण्डपमा के छ विचार भन्दै जिस्क्याउँदै हुनुहुन्थ्यो ।

म सानैदेखि बुबाआमुदेखि टाढा भएकाले पनि होला उहाँहरुको आत्मिएता मप्रति निकै गहिरो थियो । मलाई पनि खाफ्नै छोरा प्रितमजस्तै माया गर्नुहुन्थ्यो उहाँहरु । म काठमाण्डुदेखि समय मिलाएर बेलाबेला प्रितमसँगै चितवन गइरहन्थे । यसपटक भने उहाँहरुले हामीलाई अत्यन्तै जरुरी काम छ भनि झुक्याएर बोलाउनु भएको थियो । त्यहाँ गएपछि मात्र थाहा भयो कि त्यो जरुरी काम त प्रितमको बिहेको पो रहेछ !

मेरो मामुबुबा म सानै छँदादेखि अमेरिकामा बस्ने भएकाले म काठमाण्डुमा मामामाइजुसँग बस्दै आएको थिएँ । उहाँहरुले मलाई पनि अमेरिका लान नचाहेको होइन तर मलाई आफ्नो देश छाडेर जाने मन लागेन । उहाँहरुलाई पनि यतै आउन आग्रह गर्थे । तर म पहिलो श्रीमतीबाटको छोरा भएकाले होला बाबाले माया गरेता पनि मामुले खासै चासो दिनुभएन ।

यसरी म पहिल्यै देखि काठमाण्डुमै पढ्थे । प्रितम भने प्लस टु देखि काठमाण्डु आएको हो र हामीले सँगै मास्टर्ससम्म पढ्यौँ । मास्टसपछि दुबैजना एउटै कम्पनीमा काम गर्थ्यौँ । त्तिबेला म पनि प्रितमसँगै उसकै कोठामा बस्न थालेको थिएँ । त्यसैले पनि होला हाम्रो आत्मिएता साथीत्वको मात्र नभएर अझ गहिरो थियो । एकअर्काको सुख, दुःखको सहारा बनेका थियौँ हामी ।

प्रितम घरको एक्लो छोरा भएकाले उसलाई सबैले निकै माया गर्नुहुन्थ्यो । हजुरबुबा, हजुरआमा, अंकल अनि बुबाआमा निकै सुखी परिवार थियो उसको । उसको बुबा आर्मीको जागिरबाट पेन्सन पकाएर घरमै हुनुहुन्थ्यो । आमा गृहणी अनि अंकल सरकारी अधिकृत । सबै पढे लेखेका भएता पनि धार्मिक आस्था र विश्वासका हिसावले निकै कट्टरता थियो उसको परिवारमा । हामीलाई जहिले पनि बिहेको कुरामा आफ्नै जातको केटी खोज्नुपर्छ है फेरि लभ सबको चक्करमा परौला नि भन्दै उहाँहरु सम्झाउने गर्नुहुन्थ्यो । उसको बुबाको अगाडि हामी केही बोल्न सक्दैनथ्यौँ । टाउको मात्र हल्ल्लाउथ्यौँ ।

त्यसैले पनि होला त्यो दिन पनि प्रितमको बिहेका लागि उसको परिवारले उसकै जातको बाहुनी केटी खोजरहँदा उ भने आफ्नो प्रेमबारे मौन थियो । राति सुत्ने बेला मलाई के गर्ने होला यार लास्टै टेन्सन पो भयो । उता अन्जुसँग बिहेको बाँचा गरेको छु । यता केही दिनमै बिहे गरिदिने तयारी गर्दैछन् भन्दै थियो । उसले यसो भनिरहँदा मैले सान्तवना दिँदै उसलाई नआतिन र सबै ठिक हुने बताउँथे ।

फागुन १३ गते उसकै बाबुको साथीको छोरीसँग नवलपरासीको कालिका मन्दीरमा उसको बिहे छिनियो…

त्यो रात फागुन १० गते उसले अन्जुसँग निकैबेर फोनमा कुरा गर्यो । प्रितमलाई उसको बुबाले तैले कोही केटी हेरेको छस् भने भन् है नभन्नुभएको त होइन तर विचरा के गरोस् अन्जु तल्लो जातको केटी थिई । त्यसैले पनि बुबाको अगाडि उसले आफ्नो मुख खोल्न सकेन । अन्जुलाई पनि सबै कुरा सुनायो । अन्जु निकै रोई । नरोओस् पनि कसरी प्रितम ब्याचलर पढ्दै गर्दा १० कक्षामा पढ्ने उसकै कोठा छेउँकी अन्जुसँग मायाप्रेम जोडिएको आज ५ वर्ष भइसकेको थियो । त्यसबीचमा उनीहरुका निकै मिठा यादहरु एकअर्कासँग जोडिइसकेका थिए । दुबै मानसिक, शारीरिक र भौतिक रुपले एकअर्काको भइसकेका थिए । अब मात्र सामाजिक मान्यतालाई निरन्तरता दिन बिहेको खाँचो थियो । हाल अन्जु पनि ब्याचलन पढ्ने भइसकेकी थिइ । पढाइ र घरको काम गर्नमा ऊ निकै अगाडि थिई ।

अर्को दिन ११ गते बिहान प्रितमले आँट गरेर परिवारलाई सबै कुरा भन्ने निधोँ गर्यो । खाना खाएर पत्रिका पढिरहनुभएको बाबुको छेउँमा गएर डराउँदैल बुबा… बुबा.. भन्न थाल्यो । भूपु आर्मी भएकाले पनि होला के भन्छ सिधैँ भन न भनेर उसको बुबाले ठूलो र कडा स्वरमा बोल्दा शरीर नै काँप्थ्यो । तर प्रितमले लामो शास फेरेर मनका सबै बहहरु बुबा सामू पोखिदियो ।

एकछिनमै उसको बुबाले सबैलाई जम्मा गरेर सबै कुरा सुनाउँदै नाकै काट्यो नि । यतिका पैसा खर्च गरेर यसलाई पढाएको यही दिन देख्न हो । यो घरमा की यो बस्छ की म भन्दै कराउन थाल्नु भो । यो घरमा बस्ने भए र हाम्रो इज्जत प्यारो भए मैले भनेको मान नत्र आज तेरा लागि अन्तिम दिन भनेर उहाँ जंगिनुभयोे । अरु सबै चुपचाप रहे ।

राति उ अन्जुसँग सबै कुरा सुनाउँदै थियो । दुबै जना खुब रुँदै थिए । उसले आफू काठमाण्डु आउने र अन्जुुसँग बिहे गर्ने कुरा सुनाएपछि अन्जु अलि शान्त भइ र दुबै मिलेर योजनाहरु बनाउन थाले ।

मैले उसँग बिहे हुन लागेकी केटीको नमबर पत्ता लगाएको थिएँ । उसलाई फोन गरेर सबै कुरा भनिदिए र सहयोग गर्न आग्रह गरेँ । उसले पनि उनीहरुको प्रेम सफल पार्न आफूले सक्दो सहयोग गर्ने बाचा गरी ।

अर्को दिन १२ गते साँझ प्रितम काठमाण्डु जाने र १३ गते बिहान पशुपतिको गुहेश्वरीमा गएर बिहे गर्ने सल्लाह भयो । काठमाण्डुमा भएका साथीलाई बिहेको सबै सरसामान किन्न लगाइयो । म भने काठमाण्डु नजाने भएँ । यता बिहेको सबै तयारी सकिएको थियो । साथीले बिहे नगर्ने भएपछि दुबै परिवारको इज्जतका लागि आइपरेमा त्यैँले नै बिहे गर्नुपर्छ भन्ने प्रितमको ईच्छा थियो । म उसको र उसको परिवारको लागि उसले भनेको कुरा मान्न राजि भएँ ।

साथी योजना अनुसार १२ गते साँझ सबै सुतेपछि नारायणगढको पोखरा बसपार्क हुँदै काठमाण्डु हानियो । मैले अन्तिम बिदाइका हात हल्लाउँदै उसलाई बिहेको शुभकामना दिए । उसले आफ्नो परिवारलाई सम्हालिदिन आग्रह गर्यो र मैले उसलाई ढुक्क हुन आश्वासन दिएँ । मैले काठमाण्डुमा साथीहरुलाई फोन गरी सबै तयारी पुरा भए नभएको सोँधे । त्यहाँ बिहेको सबै तयारी पुरा भएको उनीहरुले बताए । अन्जुलाई दिउँसो नै फोन गरेर प्रितम साँझ काठमाण्डु आउनेबारे जानकारी दिइसकेका थियौँ । त्यसैले साँझ फोन गरेनौँ ।

सायद अन्जु यतिबेला बिहेको सपना सजाउँदै बसेकी छे होला । भोली बिहे भएकालेपनि आज निद्रा लाग्ने कुरै भएन ।

बिहान भइसकेको थियो । साथीले फोन गरेन । मैले गर्दा फोन अफ भन्यो । अन्जुलाई फोन गरेको उसको भाइले उठाएर दीदी नुहाउन गएको सुनायो ।

घरमा प्रितमको खोजि सुरु भयो । उ नभेटिएपछि हल्लाखल्ला भयो । मैले उसले लेखेको चिठ्ठी दिएँ । एकछिन त सन्नाटा छायो । केटा कटी पट्टीको मन्दिरमै भेट्ने पूर्व तयराी अनुरुप उहाँहरु मलाई लिएर मन्दिर जानुभयो । मैसँग प्रितमको बिहे छिनिएको केटीको बिहे गरिदिने निधौँ उहाँहरुले गर्नुभयो । यसरी उहाँहरुको इज्जत बच्ने र पछि प्रितमलाई पनि सजलो हुने सम्भावना भएकाले म पनि सबैको खुसीको लागि बिहे गर्न तयार भएँ । मलाई सबै मिलेर तयार गर्न थाले । प्रितमका लागि सिलाइएका लुगाहरु मेरा शरीरमा अलिक टाइट भए । म ऊ भन्दा अलिक मोटो नै थिएँ ।

सबै तयारी पुरा गरेर हामी मन्दिरतिर लाग्यौँ । मैले फोन हेर्ने फुर्सद पनि पाएन । मन्दिर जाँदा लगिन पनि र त्यतातिर ध्यान पनि गएन ।

हामी बिहे गरेर दिउँसो ३ बजे घर आइपुग्यौँ । मैले आफ्नो बिहे हुँदा र बाटोभरी प्रितम र अन्जुलाई सम्झिएँ । उनीहरुको बिहेको कल्पना गरेँ र आफू त्यहाँ हुन नपाएको दुःख महसुस गरेँ । घर गएर फेसबुकमार्फत बिहेको फोटो हेर्न निकै हतारिएको थिएँ ।

घरमा आएर कोठामा गएर फोन खोजे । अन्जु र काठमाण्डुका साथीको ५०० भन्दा बढी फोन आएको रहेछ अनि धेरै म्यासेज पनि । मैले हतार हतार अन्जुलाई फोन गरेँ । फोन अफ थियो । त्यसपछि प्रितमलाई गरेँ उसको पनि अफ । अन्जुको म्यासेजले म अचम्मित भएको थिएँ । अनि अन्य साथीहरुलाई गरेँ ।

म्यासेज पढेर पसिना पसिना भएको म साथीहरुको कुरा सुन्दा छानाबाट खसेजस्तो भएँ । मेरो होसै हरायो । म सपनामा छुँ या विपनामा पत्तै भएन ।

बिहान ८ बजे बिहेको साइत थियो । १० बजेसम्म प्रितमलाई कुरेकी अन्जुले आत्महत्या गरिछे !

प्रितमको १२ गते साझबाट फोन नलागेपछि उसले आफूलाई धोका दिएर परिवारले खोजिदिएको केटीसँग बिहे गर्न लागेको अनुमान गरेकी रहिछे । उसको म्यासेज र साथीहरुको कुराबाट मैले थाहाँ पाएँ ।

तर मलाई अचम्म लाग्यो । यहाँबाट अन्जुसँग बिहे गर्न हिँडेको प्रितम कहाँ गयो !

पछि बुझ्दै जाँदा थाहा भयो, ऊ चढेको बस धार्केमा दुर्घटना भएछ । प्रितमलाई चोट लागेछ । उसलाई प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरिएको रहेछ । बिहान ११ बजे होस आएपछि उसले नर्ससँग फोन मागेर अन्जुलाई फोन गरेछ । तर फोन अफ भएपछि काठमाण्ुका साथीलाई फोन गरेछ । पछि १२ बज साथीसँगै उसको कोठामा जाँदा त्यहाँ त रुवावासी पो चलिरहेछ !

हो अन्जुले यो संसार छाडेर गइछे । वास्तवमा प्रितम धोकेबाज थिएन तर समय र परिस्थिथिले उसलाई धोकेबाज बनाइदियो र अन्जुले यसलाई सहन गर्न सकिन । गरोस् पनि कसरी ? जसलाई तन, मन सबै सुम्पिएको छ उसले बिहेको आशा देखाएर धोका दिन्छ भने । तर त्यो धोका थिएन प्रितम त अन्जुका लागि भनेर घरपरिवार छाडेर गएको थियो । उ कसरी धोकेबाज हुनसक्छ ? कमजोरी त हाम्रो समाजको थियो । यदी तल्लो र माथिल्लो जात भन्ने हुँदैनथ्यो भने आज उनीहरुको बिहे घरपरिवारकै सहमतिमा धुमधामका साथ हुने थियो । उनीहरुको प्रेम यसरी निरिह हुनुपर्ने थिएन । अन्जुसँग भउको जस्तो घटना अरुसँग हुने थिएन ।

साथी मलाई फोनमा भन्दै थियो । हामी अन्जुको घरमा गयौँ । प्रितम त्यो सबै देखेर पागल जस्तै भयो । बिहेका लागि किनेका सामान सबै सँगै लगेर गएका थियौँ । प्रितम भित्र गयो र त्यो कपडा लगाएर आयो । अन्जुलाई पनि बाहिरबाटै ति कपडा लगाइदियो । साथी भन्दै थियो उसको निरिह अनुहार देखेर हामी कोही केही बोल्न सकेनौँ केबल उसको कार्य हेरिरह्यौँ ।

यो सबै गरिसकेपछि प्रितमले बट्टाबाट सिन्धुर झिक्यो र अन्जुको सिउँधो रंगाइदियो । अन्जु यो संसारमा नरहेता पनि उसले अन्जुको मृत शरीरसँग आफ्नो बाचा पुरा गर्यो । अनि सदा सदाका लागि आफ्नो प्रेमलाई अमर राख्यो ।

आज फागुन २२ गते । यो घटना भएको ९ दिनपुगिसक्दा अझैसम्म पनि प्रितम होसमा छैन । बेहोसिमै ऊ अन्जु… अन्जु भन्दै उसकै नाम पुकार्ने गर्छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget