गर्भवती हुनलाई पनि योजना चाहिन्छ : माल्भिका सुब्बा

पहिलो पटक गर्भवती भएको थाहा पाउँदा तपाईलाई कस्तो अनुभूतिको महशुस गर्नुभयो ?
मेरो विवाह भएको साँढे तीन वर्ष पुगीसकेपछि अब प्लान बनाएर बच्चा जन्माउनु पर्दछ भनेर गर्भवती हुनुभन्दा पहिले डाक्टरमा गएर आफ्नो स्वास्थ्यको जाँच गराएकी थिए । सँगै श्रीमान्को पनि स्वास्थ्य जाँच गराएका थियौँ । त्यसरी हामीले दुवैजनाको सल्लाहमा गर्भ राख्ने निर्णय गर्यौँ ।
सुरुमा गर्भवती भएको थाहा पाउँदा त मलाईं साह्रै डर लागेको थियो । म एकदमै काम गर्ने महिला हुँ । कामकाजी महिलाहरु जतिखेर पनि बाहिर हिडिरहनु पर्ने हुन्छ । एक्कासी अब कतिवटा कामहरु रोकिने हो भन्ने सोचेकी थिए । तर श्रीमानले हैन केही हुँदैन नडराउ सबै काम हामीले सँगै मिलेर गर्ने हो भन्नुभयो । त्यसपछि दोस्रो दिनदेखि अब आफूलाई कसरी खुशी राख्न सकिन्छ भन्ने तर्फ बढी ध्यान दिन थाले ।
सुरुको तीन महिनामा तपाईंलाई कस्तो अनुभव भयो ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नुभयो ?
सुरुको तीन महिना त सुत्दैमा बित्यो । धेरै थाकिन्थ्यो । कामको लोड धेरै थियो । धेरै वाकवाकी लाग्ने, थकाइ लाग्ने, गाह्रो हुनेसँगै शरिरमा पनि परिवर्तन आउँन थाल्यो । सानो सानो कुरामा चित्त दुख्ने, रुन मन लाग्थ्यो । त्यसमा पनि खशीको मासुको गन्ध नै मलाई मन नपर्ने भएको थियो ।
म गर्भवती भएको सुरुवाती समयमा दशैं परेको थियो । दशैं, तिहार भरी मैले मासु पनि खाइन । गर्भवती हुदाँको सुरुवाती समयमा सानो चित्त हुँदो रहेछ । सानो सानो कुरामा पनि म श्रीमानसँग खुबै झगडा गथ्र्ये । तर पनि महिलाहरुको लागि गर्भवती हुँदाको सुरुवाती समयलाई एकदमै खतराको रुपमा लिने गरिन्छ । यो समयमा गर्भको बच्चा खेरजाने संभावना लगायतका विभिन्न समस्या देखिने भएकाले चाहिने भन्दा धेरै ठाउँहरुमा जाने गरिन । हिड्दा पनि दौडधुप कम भयो । भारी सामानहरु उठाउन छोडिदिए । त्यसपछि खानापानदेखि आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ नै बढी लाग्न थाले । पहिले म दुध खादैँनथ्यें । क्याल्सियमको कमी थियो मलाई । त्यसपछि मैले दूध, सागसब्जी लगायतका पोषिलो खानेकुराहरु खान थाले ।
यो समयमा श्रीमानको सहयोग कति आवश्यक हुन्छ ?
महिलाहरुका लागि श्रीमानको सहयोग भएन भने त एकदमै गाह्रो छ । यस्तो अवस्थामा एक्लैले कत्तिवटा कामहरु गर्न सकिदैँन । गर्भवती भएको समयमा सामानहरु उठाउन सकिदैँन । आफ्नो सुरुवाल फेर्नेदेखि मोजा लगाउन पनि गाह्रो हुन्छ । हातखुट्टा सुनिन्छ । दिनभर काम गर्यो भने राती सुत्न पनि गाह्रो हुन्छ । शरिर दुख्छ । श्रीमानले श्रीमतीको शरिर मसाज गरिदिने, कुरा सुनिदिने, खानेकुरा ल्याइदिनु गर्नुपर्दछ यो समयमा । साथै सबैभन्दा महत्वपूर्ण त यो समयमा चाहिने भनेको श्रीमानको माया र परिवारको सहयोग नै हो ।
कस्तो अवस्थामा तपाईले डाक्टरको सहयोग लिने गर्नुभएको छ ?
मैले अलि ढिला नै बच्चा जन्माउँदै छु । धेरै सोच विचार गरेर हामीले यो निर्णय गरेका हौँ । एक पटक बच्चा चल्न थालेपछि दिनभर बच्चा नै चलेन पेटमा । त्यसबेला एकदम डर लाग्यो रातभर । भोलिपल्ट बिहानै डाक्टरमा गएर अल्ट्रासाउन्ड गराए । त्यसपछि सबै ठिक रहेछ भन्ने थाहा पाए र मन ढुक्क भयो ।
पहिलो प्राथमिकता भनेको सन्तान हुँदारहेछ । जे गरे पनि सुरुमा मेरो सन्तान ठिक छ कि छैन भन्ने हुन्छ । २८ हप्ता भएदेखि हरेक दिन मैले बिहान र बेलुका मेरो बच्चा ठिक छ कि छैन ? पेटमा खेलीरहेको छ कि छैन भनेर थाहा पाउन केहि समय दिन्छु, पेट छामेर बस्छु ।
जाडो महिना थियो त्यतिबेला म धेरै जसो घरमै बसिरहेकी थिएँ । दिनभर घरमा बस्दा म बिरामी हुने रहेछु भन्ने मलाई त्यतिबेला नै थाहा भयो ।
एकदिन मलाई एक्कासी रिङ्गाटा लाग्यो । त्यस अघि कहिल्यै पनि त्यस्तो भएको अनुभव थिएन । त्यसपछि तुरुन्तै डाक्टरलाई फोन गरेर आफ्नो समस्या सुनाए । डाक्टरले पानी खानुस अनि दुई घण्टासम्म हेर्नुहोस् तपाईको बच्चा चलेको छ भने ठिक छ छैन भने मलाई फेरी फोन गर्नुस भन्नुभयो । अनि नआत्तिएर बसें । गर्भवती भएको समयमा सधैं बाँयातिर ढल्कनु पर्दछ । त्यसै अनुरुप ढल्के । बच्चा चलेपछि ढुक्क भएर आनन्दसँग बसें ।
एकपटक फेरि धेरै काम गरेर मेरो खुट्टा दुख्न थाल्यो । त्यस्तो समस्या पनि अगाडि कहिल्यै देखिएको थिएन । पल्टाउनै नमिल्ने भएपछि फरी डाक्टरलाई फोन गरें । डाक्टरले त्यसमा तातो लगाउन र सिटामोल खान सल्लाह दिनुभयो । त्यसको दुई दिनमै त्यो समस्या पनि हल भयो । जति पढें पनि केतिपय अवस्थामा केहि हुने बित्तिकै मनको शान्तिका लागि पनि डाक्टरलाई फोन गरिहाल्छु ।
यस्तो अवस्थामा आफ्नो सुन्दरताको कसरी ख्याल राख्नुहुन्छ ?
पहिले पहिले महिलाहरुले आफू गर्भवती हुदाँ आफ्नो पेट लुकाएर हिड्ने गर्दथ्यें । प्राय महिलाहरु गर्भवती हुने बित्तिकै मिडियाबाट टाढा हुने गर्नुहुन्थ्यो । तर अहिलेको यो समयमा आएर हामीले त्यस्तो गर्नु हुदैँन । काम गर्ने महिलाहरुले गर्भवती हुने बित्तिकै आफूलाई लुकाउनु हुँदैन । जो कोहिले पनि लुकाउनु पर्ने अवस्था अहिले छैन ।
मैले आफूले समय सापेक्ष लुगाहरु लगाउने, मेकअप गर्ने गर्दछु । किनभने आफू जति राम्रो देखियो, मनलाई पनि त्यति नै राम्रो लाग्दो रहेछ । यत्तिकै कुनै मेकअप र गेटअप बिना हिड्दा आफूलाई पनि यत्तिकै अल्छि लाग्ने रहेछ । यो अवस्थामा महिलाहरु मोटाउने गर्दछन् । त्यसरी मोटाउने बित्तिकै म राम्री देखिन्न भन्ने जस्तो भाव मनमा आउँने रहेछ । त्यसैले फेसन, लुगा, मेकअपमा ध्यान दियो भने आफूलाई पनि रमाइलो लाग्दो रहेछ ।
तपाईले आफूलाई कसरी स्वस्थ राख्ने गर्नुहुन्छ ?
मैले पहिले पनि योगा गथ्र्ये । गर्भवती भएपछि पनि अहिले योगा गरिरहेकी छु । जुन दिन म योगा गर्दिन्न, त्यो दिन म बिरामी हुने गर्दछु । बेलुका बेलुका पहिले म हिड्ने गर्दथ्यें, तर अहिले हिड्न भन्दा पनि योगा नै गरिरहेकी छु । दिनमा २० देखि आधा घण्टासम्म म व्यायाम र योगा गर्छु । त्यसले शरिरमा दिनभर एकदम फूर्ति ल्याउने गर्दछ । र दिनभरीमा म आफ्नो काम मज्जाले गर्न सक्छु ।
गर्भवती अवस्थाको बारेमा कसैसँग केही कुरा सोध्न अथवा भन्न चाहनु भयो भने आफ्नो अनुभव कत्तिको सुनाउनु हुन्छ ?
यही अवस्थामा कतिपय मेरा साथीहरु गर्भवती अवस्थामा हुनु हुन्छ । कतिले बच्चा जन्माइसक्नु भएको छ । त्यसैले मलाई केहि पर्ने बित्तिकै जो चिनेका नजिकमा हुनुहुन्छ, जसले यो अवस्थालाई भोगीसक्नु भएको छ उहाँहरुलाई फोन गरेर रहेक दिन जसो मैले उहाँहरुसँग कुरा गरिरहेकी हुन्छु ।
तपाई जस्तै महिलाहरु कति आमा बन्दै हुनुहुन्छ । कति बन्ने योजना बनाउँदै हुनुहुन्छ । उहाँहरुका लागि कसरी आफ्नो ख्याल राख्ने भन्ने बारेमा आफ्नो अनुभवमार्फत के भन्न चाहानु हुन्छ ?
हाम्रो नेपाली समाजमा गर्भवती हुने बित्तिकै यो गर्नु हुन्छ यो गर्नु हुदैँन भन्ने धेरै कुरा उठ्ने रहेछ । यसरी नहिड, त्यसरी नहिड भन्ने गरेको पनि सुनिन्छ । यस्ता कुरा धेरै सुन्यो भने एकदम दुख लाग्दो रहेछ । त्यस्तो गर्न हुँदैन । आफू खुशी हुनुपर्दछ । आफूलाई कसरी खुशी राख्न सक्नुहुन्छ, त्यसरी नै कामहरु गर्नु पर्दछ ।
गर्भवती अवस्थामा दुई जनाको खाना खानु पर्दछ भन्ने पनि गरेको सुनिन्छ । तर त्यसो होइन । किन भने हाम्रो तौल धेरै हुने गर्दछ । बच्चाको तौल बढीमा ५ किलोग्रामसम्मको हुने गरेको पाइन्छ । त्यसले गर्दा जे पनि ब्यालेन्स मिलाएर खाएन भने झन धेरै मोटाइन्छ । यसले गर्दा बच्चा जन्माउन समस्या हुन्छ । मनोरञ्जनात्मक कुरा हेनुपर्दछ । मारकाटका फिल्म हेर्नु हुदैँन । राम्रा गीतहरु सुन्ने, गर्भवती अवस्थामा कसैले नराम्रो कुरा गर्ने बित्तिकै यस्तो कुरा नगर्नुस भन्नु पर्दछ । सबैभन्दा बढी त सकारात्मक कुरामा मात्र ध्यान दिनुपर्दछ ।
गर्भवती महिलाले कसरी चेकअप गर्र्नु पर्दछ भन्ने बारेमा यहाँलाई कत्तिको थाहा छ ?
इन्टरनेटमा हेर्दा, पढ्दा त बाहिरतिर नर्मल डेलिभरीलाई नै बढी प्राथमिकता दिने गरेको पाईन्छ । त्यस्तो अवस्थामा पहिले मिड वाइफसँग नै सल्लाह गरेको पाइन्छ । त्यसपछि गाइनोलोजिस्टसँग सल्लाह गर्ने गरेको भन्ने थाहा छ मलाई । तर नेपालमा काठमाण्डौँमा बसेको अवस्थामा मलाई अहिलेसम्म त्यस्तो थाहा छैन ।
नेपालमा नर्मल डेलिभरीमा चिरफार गरेको पाइन्छ । यसमा यहाँको धारणा के छ ?
पहिलो प्राथमिकता त नर्मल डेलिभरी नै हो । किनभने त्यसमा पुनःस्थापनाको समय पनि नर्मल नै हुने गर्दछ । र त्यसले महिलाहरुलाई धेरै फाइदा पनि गर्दछ । तर मेरो स्वास्थ्यमा केही समस्या देखिएकोले नर्मल डेलिभरी नहुने सम्भावना धेरै छ । अन्तिम अवस्थामा अल्ट्रासाउन्डको रिपोर्टले अहिलेको समस्या कायमै भएको देखायो भने मेरो सिजरिङ नै गर्नुपर्ने हुन्छ । तर मेरो पहिलो प्राथमिकता भनेको नर्मल डेलिभरी नै हो ।
हाम्रो समाजमा कतिपय कुराहरु आफ्नो श्रीमानसँग पनि भन्न नसकेको देखिन्छ । तपाईको परिवारमा कस्तो छ ?
म र मेरो श्रीमान् बिचमा एक अर्कासँग हरेक कुरा शेर हुने गर्दछ । तर नेपाली जनमानसमा के छ भने लोग्ने मानिसले श्रीमती गर्भवती हुँदा त्यति सहभागीता जनाउन हुदैँन भन्ने छ । यो महिलाहरुले मात्र भोग्नुपर्ने समस्या हो भन्ने सोचेको पाइन्छ । यो एकदम गलत हो । बच्चाको नाम, बच्चालाई नागरिकता आफ्नो नामबाट दिने तर सहभागीता भने न्यून हुने गरेको देखिन्छ । त्यस्तो गर्न हुदैँन ।
किनभने महिलाहरुलाई शारीरिक र मानसिक दुवै दृष्टिले धेरै गाह्रो हुने गर्दछ । त्यस्तो बेलामा झन श्रीमानको आवश्यकता पर्दछ । त्यसैले आफ्नो श्रीमती गर्भवती हुनुुहुन्छ भने सकेसम्म सहयोग गर्नका लागि सबै दाजुभाईहरुलाई आग्रह गर्दछु ।
साभार अन्तरवार्ता
nepaljapan

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget