एउटा अधुरो अन्तर्वार्ता

फाल्गुन २९, २०७२- फागुन १२ गते जोमसोमका लागि पोखराबाट उडेको तारा एअरको दुर्घटनाग्रस्त टुइनअटर विमानमा ज्यान गुमाएका २३ जनामध्ये क्याप्टेन रोशन मानन्धरसँग ‘एभिएसन’ सम्बन्धी कार्यक्रममा मेरो जम्काभेट भइरहन्थ्यो । पहिलो भेट कहिले भयो, यकिन सम्झना छैन ।

तर, पछिल्लोपटक गएको असोज ९ गते मैले ती ५४ वर्षीय पाइलटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जेट विमान पार्किङ–वेमा नयाँ जहाजको साथ भेटेको थिएँ । क्यानडाको क्यालगरीबाट ९ दिन लगाई मानन्धर ताराले खरिद गरेको नयाँ टुइनअटर विमानका साथ भारतको अहमदावादबाट दिउँसो १ बजे काठमाडौं ओर्लिएका थिए ।

७० करोड रुपैयाँ फ्याक्ट्री मूल्य तोकिएको विमान काठमाडौंसम्म ल्याउने काम सजिलो थिएन । उनले त्यस दिन मसँग क्यानडाबाट उडेपछि सर्बियामा नेपाली भएकैले भिसा नपाएको दु:ख सुनाएका थिए ।

नेपालजस्तो गरिब मुलुकका विमान कम्पनीले जहाज खरिद गर्नु र त्यसलाई उडाएर ल्याउने काम ‘असनमा आलु किनेर घर ल्याउनु’ जस्तो सजिलो नभएको बताएका थिए । त्यसपछि मैले उनलाई एउटा लामो ‘कफी इन्टरभ्यू’ का लागि अफर गरेँ ।

उनले मेरो प्रस्तावलाई तत्काल स्विकारे । फोन नम्बर लेनदेन गर्‍यौं । क्यानेडियन पाइलट स्टेफनका साथ नौवटा मुलुकका १० वटा एअरपोर्ट हुँदै ६० घन्टा लामो उडान भरेर काठमाडौं उत्रिएका उनी थकित थिए । हामीले केही सातापछि भेटेर गफ गर्ने सहमति गर्‍यौं ।

...

क्याप्टेन मानन्धर र मेरो भेट भएको तीन दिनअघि मात्रै भारतले नेपालमाथि नाकाबन्दी लागाएको थियो । उनको र मेरो भेट भएको दुई दिनपछि विमानस्थलस्थित आयल निगमको डिपोले अन्तर्राष्ट्रिय विमानलाई हवाई इन्धन दिन नसक्ने भन्दै ‘नोटम’ जारी गर्‍यो ।

डोमेस्टिक विमानलाई ‘एयरलिफ्ट’ गरेर इन्धन दिन थालियो । नाकाबन्दीको असरले पेट्रोल अभाव भएपछि बाइक चढेर जानुपर्ने मेरा रिपोर्टिङ पनि प्रभावित भए ।

त्यसबीचमा उनीसँग मैले दुईपटक खोजें । एकपटक उनको मोबाइल स्विच अफ थियो । अर्कोपटक मेरो आफ्नै कारणले फेरि भेट हुन सकेन । केही महिनाको अन्तरालपछि गत माघ तेस्रो साता वायुसेवा सञ्चालक संघले गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरेको ‘सेफ्टी’ सम्बन्धी सेमिनारले फेरि हामीलाई भेट्ने मौका दियो ।

यही बेला तारा र यती एअरलाइन्सले पहिलोपटक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको ठहर गर्दै ‘इन्टरनेसनल एअर ट्रान्सपोर्ट एसोसिएसन’ (आइटा) ले प्रमाणपत्र दिएको थियो । मानन्धरसँग अन्तर्वार्ताका लागि अर्को बहाना थपियो । सेमिनार सकिएपछि हामीले अन्तर्वार्ता सक्ने योजना बनायौं ।

यसमा यतीका मिडिया मेनेजर भीमराज राईले पनि सघाउने पक्कापक्की भयो । तर, मेरो एक्कासि लगालग भरतपुर र धनगढी जानुपर्ने कार्यक्रम आइपर्‍यो । मैले यसबारे मेनेजर राईलाई जानकारी गराएर समय सारें । फागुन १२ गते म धनगढीमा पारिवारिक कार्यक्रममा थिएँ ।

मलाई प्रहरी स्रोतले तारा एअरको टुइनअटर जहाज हराएको खबर टिपायो । त्यस बेला सवा ८ बजेको थियो । ती प्रहरीले दिएको खबर मैले तारा एअरका म्यानेजर राईलाई सोधें । उनले पुष्टि गरे । तर, विस्तृत खबर आइनसकेको बताए । ईकान्तिपुरमा तत्काल समाचार अपडेट गर्नुपर्ने भएकाले मेरो सुरुवाती चासो ताराको कुनै खास विमान र पाइलटबारे थिएन ।

मैले जहाज हराएको समय र यात्रु संख्याबारे मात्रै चासो राखेको थिएँ । मैले घटनामा ताराले उडाइरहेको पुरानो टुइनअटर अथवा डोर्नियर विमान पो पर्‍यो होला भन्ने ठानेको थिएँ ।

तर, मेनेजर राईले आश्चार्य प्रकट गर्दै भर्खरै ल्याइएको नयाँ टुइनअटर घटनामा परेको बताएपछि मैले क्याप्टेन मानन्धरले त्यस विमानबारे असोजमा भनेको विशेषता सम्झिहालें । उनले भनेका थिए, ‘यो विमान नेपालमा उडिरहेका तीन सय सिरिजका टुइनअटरभन्दा एडभान्स छ ।

अघिल्लो भर्सनभन्दा यसमा धेरै विषय सुधारिएका छन् ।’ अनि मैले मेनेजर राईलाई ‘यो विमान ल्याउने क्याप्टेन रोशन मानन्धरले पुरानो भर्सनभन्दा धेरै राम्रो बताउनुभएको थियो’ भनेको मात्रै के थिएँ, उनले दु:ख बोले, ‘कस्तो ब्याड लक !

आज क्याप्टेन रोशन नै उडानमा हुनुहुन्थ्यो । त्यसमाथि उहाँले नै क्यानडाबाट उडाएर ल्याएको जहाज घटनामा पर्‍यो ।’ राईले यति भनेपछि म ‘सक’ भएँ । लगत्तै मैले उनै पाइलट मानन्धरको मोबाइलमा फोन गरें । सम्पर्क हुन सकेन ।

...

भित्तेपात्रोमा फागुन महिनाको पानो पल्टिएपछि धेरै खुसी हुनेमा वरिष्ठ क्याप्टेन मानन्धर पनि पर्थे । २५ वर्षअघि फागुन १९ गते उनले जनकपुरकी पूनम मानन्धरसँग लगनगाँठो कँसेको विशेष दिन हो ।

काठमाडौंको कोर–नेवारी बस्ती डल्लुमा जन्मे/हुर्केका मानन्धरले यसपटक २५ औं ‘म्यारिज एनिभरसरी’ लाई विशेष बनाउन एक साताका लागि भारतको गान्तोक जाने योजना बनाएका थिए । जहाज बुधबार दुर्घटनामा परेको थियो । सोमबार मात्रै पोखरा गएका उनी रोस्टरअनुसार शुक्रबार काठमाडौं फर्किने दिन थियो ।

शनिबार अर्थात् फागुन १५ गते उनी छोरीहरू २४ वर्षीया रोपुमा, २२ वर्षीया उपमा, १४ वर्षीय छोरा ऋषिरमण र पत्नी पूनमसहित भद्रपुर हुँदै गान्तोक जाँदै थिए । पोखरा जानुअघि नै उनले सोमबार काठमाडौंस्थित आफ्नो मुख्य कार्यालयमा ५ वटा टिकट पनि ‘बुक’ गरिसकेका थिए ।

दुर्भाग्य ! उनले उडाएको विमान म्याग्दीमा दुर्घटनामा परेपछि उनको २५ औं वैवाहिक वर्षगाँठ केवल क्यालेन्डरमै सीमित रह्यो । तीन छोरी, छोरा र पत्नीलाई छाडेर उनी सदाका लागि यो संसारबाट बिदा भए । काठमाडौंबाहिर ‘नाइट स्टप’ परेपछि उनी हरेक रात सुत्नुअघि पत्नी/छोराछोरीलाई फोन गर्न छुटाउँदैन्थे ।

दुर्घटनामा परेको अघिल्लो रात पनि उनले पत्नी पूनमलाई फोन गरी छोराछोरीको खानपिन र सुताइको अवस्थाबारे बुझेका थिए । पत्नीसँगको कुराकानीलाई बिट मार्दै उनले ‘छोराछोरीलाई राम्ररी सुताउनू । गुड नाइट !’ भनी टेलिफोन राखेका थिए ।

उनीहरूबीचको अन्तिम संवाद थियो त्यो । यसबीच पूनमले उनलाई धेरैपटक सपनामा खोजिन् तर फेला पारिसकेकी छैनन् । आफूले मात्रै नभई छोरीहरूले समेत सपनामा बुवालाई खोजिरहेको तर भेट हुन नसकेको उनले बताइन् ।

...

क्यानडाबाट पाइलट कोर्स पढेर आएका मानन्धरले भद्रपुर हुँदै गान्तोक जान टिकट बुक गरेको दुई दिनपछि जोमसोमका लागि उडाएको टुइनअटर म्याग्दीको तिर्खे ढुंगामा दुर्घटनामा पर्‍यो ।

मानन्धरसहित ४ सय घन्टा आकाशमा बिताइसकेका ३० वर्षीय को–पाइलट दिकेश नेमकुल, ४ वर्षदेखि परिचारिका रहेकी २४ वर्षीया रमा राउत, दुइटा शिशुसहित २३ जनाले ज्यान गुमाए । पोखराबाट जोमसोम पुग्न जहाजले ९२ किलोमिटरको आकाशको बाटो छिचोल्नुपर्छ ।

बिहान ७ बजेर ५० मिनेट जाँदा क्याप्टेन मानन्धरले कमान्ड गरेको त्यो विमानले ५५ किलोमिटरको बाटो छिचोलेर घोडेपानी क्रस गरी तातोपानीमाथि पुगिसकेको थियो । १० हजार ५ सय फिट उचाइमा उडिरहेको जहाज घोडेपानी पुगेपछि मानन्धरले पोखरा टावरलाई ‘नोट गराएको’ जहाजको अवस्थासम्बन्धी रिपोर्ट नै अन्तिम बन्यो ।

घोडेपानीपछि जहाज कालीगण्डकीको तीरैतीर जोमसोम जानुपर्ने रुट छ । उक्त रुटमा जहाज घोडेपानीदेखि लेतेसम्म टावरको सम्पर्कबाहिर रहन्छ । ठूला/ठूला पहाडको खोंचको भित्रबाट उडेर जाने जहाज लेते पुगेपछि मात्रै जोमसोम टावरको सम्पर्कमा पुग्छ । घोडेपानीदेखि लेतेसम्मको खोंचमा जहाजले पोखरा र जोमसोम टावरको रेडियो फ्रिइक्वाइन्सी नै भेट्दैन ।

मानन्धरले यदि त्यो दिन जोमसोमसम्म विमान पुर्‍याएको भए उनको उडान अवधिमा १० मिनेट थपिन्थ्यो । पोखराबाट उड्नुअघिसम्म उनले नेपाली आकाशमा २० हजार १ सय ८ घन्टा विमान उडाइसकेका थिए ।

यसमध्ये टुइनअटरमा मात्रै उनले १८ हजार ५ सय घन्टा बिताइसकेका थिए भने बाँकी समय यती एअरलाइन्सकै ब्रिटिस विमान जेटस्ट्रिम र स्विडिस विमान स्याब–३४० उडाएका थिए । यती एअरलाइन्समा आउनुअघि उनले नेपाल वायुसेवा निगम र लुम्बिनी एअरबेजको टुइनअटर–३०० सिरिज पनि उडाएका थिए ।

ताराका अपरेसन म्यानेजर शान्त प्रजापतीका अनुसार, प्रशिक्षक पाइलट र चेक पाइलटका रूपमा पनि काम गरिरहेका यी अनुभवी गुमाउनुपर्दा नेपाली उड्डयन क्षेत्रले अतुलनीय क्षति बेहोरेको छ । साथीभाइबीच भावुक, सहयोगी, मिलनसार र सामाजिक पहिचान बनाएका मानन्धरका अति मिल्ने साथीहरूको सूचीमा पाइलट विजय गिरी, लक्की शाह र शंकर श्रेष्ठ पर्थे ।

तर, यी तीनैजना मानन्धरअघि नै छुट्टाछुट्टै हवाई दुर्घटनामा परेर नेपाली आकाशबाट बिदा भइसकेका छन् । दुर्घटनामा पर्नुअघि मानन्धर प्राय: सँगसँगै नेपाली आकाशमा उड्ने ती साथीलाई सम्झिरहन्थे ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget