उपराष्ट्रपति पुनले भने-सुगौली सन्धि रद्द हुनुपर्छ, गोर्खा भर्ती बन्द हुनुपर्छ

३० फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र बेलायतबीचको १८१६ मा सम्पन्न सुगौली सन्धि रद्द गरेर नेपालले आफ्नो गुमेको भू-भाग फिर्ता लिनुपर्ने बताएका छन् । साथै उनले भारत र बेलायतमा नेपाली सेना भर्ती गर्ने क्रम पनि रोकिनुपर्ने धारणा राखे ।
भारतीय उपराष्ट्रपतिले ब्रुनाईको सुरक्षार्थ भारतीय गोर्खा सैनिक तैनाथ गर्न गरेको प्रस्तावका विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र बुझाएको छ । मोर्चाले भारतीय उपराष्ट्रपतिको प्रस्तावले नेपालको स्वाभिमान र प्रतिष्ठामा ठेस पुगेकाले यसलाई रोक्न कूटनीतिक पहलको माग गरेको थियो ।
ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले ‘राम्रो कुरा उठाउनुभो’ भन्दै करिब १५ मिनेट गोर्खा भर्ती तथा ग्रेटर नेपालका विषयमा बोले । ‘गोर्खा भर्ती बन्द हुनुपर्छ भन्ने पक्षमा म पहिलेदेखि नै छु,’ पुनको भनाइ उद्वृत गर्दै प्रतिनिधिमण्डलका एक सदस्यले भने, ‘मेरो सैनिक जीवनका बेला यस्तो अडान लिँदा आफ्नै सर्कलबाट विरोध खेप्नुपरेको थियो । तर, आज पनि म यही अडानमा छु ।’
नेपाली युवाले विदेशमा आफ्नो सम्पूर्ण श्रम र पसिना बगाउने, अनि मर्ने बेलामा छोराछोरीका बोझ बन्न नेपाल फर्किने सिलसिला अन्त्य हुनुपर्ने पुनले बताए ।
सुगौली सन्धि र गोर्खा भर्ति अभिन्न रुपमा जोडिएको भन्दै उपराष्ट्रपति पुनले दुवै नेपालका लागि हितकर नभएको धारणा राखे । उनले भने, ‘म पनि तपाईंहरु जस्तै ग्रेटर नेपालको पक्षमा छु । हिजो अंग्रेजसँगको युद्धपछि सुगौली सन्धिमार्फत हामीले आफ्नो ठूलो भुभाग गुमायौं । राणाहरुको कमजोरीका कारण गुमेका भूभाग फिर्ता लिन चुक्यौं । यसबारे आजका दिनमा कुटनीतिक तवरबाट के-कस्ता कदम चाल्न सकिन्छ, हामीले चाल्नुपर्छ ।’
नेपाल र भारतबीच भएको सन्धि-सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्तिहरुको समूह गठन भएको उल्लेख गर्दै उनले १९५० को विभेदकारी सन्धि पुनरावलोकन गर्न समूहलाई सचेत बनाउनुपर्ने बताए ।
बु्रनाईमा गोर्खा सैनिक पठाउने भारतीय उपराष्ट्रपतिको प्रस्ताव अत्यन्त गम्भीर रहेको भन्दै उनले यसको कूटनीतिक समाधान खोज्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । पुले भने, ‘यो विषयलाई मैले एकदमै गम्भीररुपमा लिएको छु । अबिलम्ब यो ज्ञापनपत्र सरकारको सम्वन्धित निकायमा पठाउनेछु र ध्यानाकर्षण गराउनेछु ।’
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले उपराष्ट्रपति पुनले ज्ञापनपत्रलाई गम्भीरतापूर्वक लिएको र उहाँको प्रतिवद्धताबाट आफूहरु उत्साहित बनेको अनलाइखबरलाई बताएका छन् ।
nlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget