नेपाली फुटबलको युग बदल्ने 'नवयुग'
नेपाली फुटबलका 'ह्याट्रिक हिरो' नवयुग श्रेष्ठ कुनै राम्रो विदेशी क्लबबाट अन्तर्राष्ट्रिय फुटबलको अनुभव संगाल्ने, त्यो दिनको पर्खाइमा छन्।
'इन्टरनेशनल क्लब'बाट खेले मात्रै फुटबलको स्तरमा परिवर्तन आउने उनको बुझाइ छ।
घरेलु फुटबल खेलुन्जेल राष्ट्रिय जर्सी उनको सपना थियो, जो पुरा भइसकेको छ।
***
११ अन्तर्राष्ट्रिय खेलमा नेपालले गोल गर्न सकेको थिएन। सन् २०१३को १४औं साफमा भारतविरुद्ध २-१को जित जित हात पारेपछिको १२औं खेल पनि भारतविरुद्ध नै थियो-१५ औं साफ च्याम्पियनसिपमा, पुस १२ गते। यही खेलमार्फत् नेपालले अन्तर्राष्ट्रिय गोलको खडेरी अन्त्य गर्यो।
खेलको तेस्रो मिनेटमा नै नवयुग श्रेष्ठले अगाडि बढाएर ल्याएको बल मैदानको देब्रेपट्टिबाट पोष्टको दाहिने कुनामा च्यापेर हानेका थिए। तर त्यो बल पोलमा ठोक्किएर फर्कियो। त्यही बललाई विमल घर्तीमगरले सदुपयोग गरे। र, १२औं खेलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गर्यो।
यही खेलबाट नवयुग नेपाली फुटबलप्रेमीको नजरमा परिसकेका थिए। त्यसको दुई महिना पनि नबित्दै उनको नाम नेपाली फुटबलमा कहिल्यै नमेटिनेगरी लेखिएको छ। सागमा २३ वर्षपछि स्वर्ण जिताउन उनले गरेको निर्णायक गोल होस् वा एक महिनामा तीन ह्याटि्रक गर्ने खेलाडीको रुपमा होस्। लगातार दुई प्रतियोगितामा सर्वाधिक गोलकर्ताको नाम लेखाउने उनी बंगबन्धु कपका उत्कृष्ट खेलाडी भए।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'सानैदेखि एक न एक दिन राष्ट्रिय टिमको जर्सी लाएर मैदानमा उत्रने सपना थियो। त्यो पुरा भयो। मैले त्यसको कदर पनि गर्न सकेँ।'
उनले राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा उत्रिएको करिब ७ महिनामात्रै भयो। गत भदौ १४ गते पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण फुटबलबाट उनले डेब्यु गरेका हुन्। त्यो खेल गोलरहीत बराबरीमा टुंगियो।
त्यसपछि नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा जुटिरहेकै थियो। त्यसैबेला म्याचफिक्सिङ प्रकरण सार्वजनिक भयो। तात्कालीन कप्तान सागर थापासहित केही सिनियर खेलाडी निलम्बनमा परे। नेपालको फुटबल हाँक्ने जिम्मा युवा खेलाडीका काँधमा आयो। नवयुग तिनै आश गरिएका युवा खेलाडीमध्ये एक हुन्।
साफ च्याम्पसियनसिपमा नेपालको प्रदर्शन सन्तोषजनक रहेन। गोलको खडेरी चिर्न सफल भएपनि नेपाल अघिल्लो चरण प्रवेश गरेन। श्रीलंकासँग १-० र भारतसँग ४-१ले पराजितहुँदै समूहचरणबाट नै बाहिरियो।
त्यसको केही सातामै नेपाली टोली बंगबन्धु कप खेल्न गयो। बंग्लादेशमा पुस २४ देखि माघ ८ सम्म सम्पन्न यही प्रतियोगिताले उनको पहिचान बदल्यो।
सेमिफाइनलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्सविरुद्ध खेलमा नवयुगले आफ्नो अन्तर्राष्ट्रिय गोलको खाता खोले भने यही खेलमा उनले ह्याटि्रक पनि पुरा गरे।
उनले भने, 'मैले गोल गर्नुपर्छ र गर्नसक्छु भन्ने थियो। यसमा म कन्पि्कडेन्ट थिएँ। तर, ह्याटि्रकको बारेमा त मैले सोचेकै थिइनँ।'
उनले सुनाए, 'त्यो त मेरा लागि एकदमै खुशीको क्षण हो। कहिल्यै नबिर्सने क्षण।'
फाइनलमा बहराइनविरुद्ध एक गोल गरेका नवयुग यो प्रतियोगिताका टप स्कोरर र बेस्ट प्लेयर दुबै बने। बंगबन्धु कप उनको फुटबल यात्राको एउटा महत्वपूर्ण टर्निङप्वाइन्ट हो।
***
इलाम मंगलबारेका नवयुगको यो सफलताको कारक उनको लगाव र निरन्तरता नै हो। थाहा पाउने भएदेखिको उनको फुटबल रहर अहिले पनि उत्तिकै छ।
स्कुल जान थालेदेखि नै 'गोल' खेल्न थालेका हुन्। स्थानीय सूर्योदय माविको मैदानमा उनीहरु प्लास्टिकका गोल उफार्थे। कहिले कपडा र प्लाष्टिक पोको पारेर गोल बनाएर खेल्थे।
आफ्नो समयमा इलामको जिल्लास्तरीय फुटबलमा नाम कमाएका नवयुगका बाबु चन्›केशरले छोराको लगाव चाँडै ठम्याइहाले। स्थानीय एक विद्यालयका शिक्षक चन्द्रकेशर कहिलेकाहीँ स्कुलको कामले जिल्ला सदरमुकाम वा झापा झर्थे। फर्कँदा छोराका लागि फुटबल ल्यादिन्थे।
तीनचार कक्षातिर पढ्दा बाबुले फुटबल ल्याइदिएपछि उनले साँच्चिकै फुटबल खेल्न पाए। फुटबलहरु हराउँदै गए। फाट्दै गए। फेरिँदै गए। उनको लगाव र रुचि भने फेरिएन। अझ त्यसमै रमाउँदै गए।
गोल गर्ने उनको बानी यतिबेलै बसिसकेको थियो। उनले सम्भि्कए, 'म सानैदेखि स्ट्राइकर नै खेल्ने हो। धेरै गोल पनि गर्थेँ।'
***
नवयुग ६ कक्षामा पढ्दा ४ फिट १० इन्चभन्दा होचा खेलाडीहरुको फुटबल प्रतियोगिता हुने भयो। स्कुलमा छनोट हुँदा उनलाई उचाइले साथ दियो। सूर्योदय माविको तर्फबाट टिममा सामेल भए।
उनले सम्भि्कए, 'त्यो प्रतियोगितामा हामीले अधिकांश खेल जित्यौं। मैले पनि गोल गरेँ।'
यो प्रतियोगितालगत्तै स्थानीय उदित क्लबले भानुभक्त स्कुलको मैदानमा फुटबलको 'ट्रेनिङ' गराउन थाल्यो। स्कुलबाट फर्किएपछि किताबको झोला थन्क्याएर उनी हतारहतार मैदानतिर दौडन्थे। फुटबल सिक्थे र आफ्नो रहर पुरा गर्थे। यतिञ्जेल उनका लागि फुटबल रहरमात्रै थियो।
रहर पुरा गर्नकै लागि उनी उदित क्लबबाट फुटबल खेल्न इलामका अधिकांश ठाउँ पुग्न थाले। उनले सुनाए, 'सप्पैमा म स्ट्राइकर नै खेल्थेँ। यसले गोल लाउन सक्छ, अगाडि खेलाउनु पर्छ भन्थे। धेरै खेलमा गोल लाउँथे। स्कुल पढ्दै थुप्रैपटक बेस्ट प्लेयर भएको छु।'
कक्षा ८मा पढ्दा उनी स्थानीय त्रिवेणी क्लबमा आबद्ध भए। त्रिवेणी क्लबका सिनियरहरु विक्रम श्रेष्ठ, मनिष श्रेष्ठ, पवन श्रेष्ठ, दिनेश शर्मालगायतले उनलाई सधैं राम्रो खेल्न प्रेरित गरिरहे। उनीहरुसँगै नवयुगको फुटबल यात्रा इलामबाहिर पनि पुग्न थाल्यो। झापा वा पाँचथरमा हुने प्रतियोगितामा समेत गोल गर्न उनी पुग्न थाले।
यतिबेलै १४ बर्ष मुनिकाको राष्ट्रिय फुटबल 'सभापति कप'को छनोट सुरु भयो। नवयुग इलामको क्षेत्र नं २ बाट छानिएर जिल्लासम्म पुगे। इलाममा फेरि छनोट भयो र नवयुग त्यो टोलीमा परे।
जित्न बानी परेका नवयुगले हार्नु परेन। उनी सहभागी भएको २०६० र २०६१ सालको सभापति कपमा इलाम च्याम्पियन बन्यो। २०६१ को फाइनलमा भने उनी बिरामी भए, १५ मिनेट भन्दा बढी खेल्न सकेनन्।
सभापति कप खेल्नेमध्येबाट केही खेलाडीलाई एन्फा एकेडेमीले प्रशिक्षणमा बोलाउने गर्छ। उनलाई पनि एन्फा एकेडेमीमा जाने रहर थियो। तर, छनोट भएनन्।
दोस्रोपटक सभापति कप जितेर इलाम फर्किएलगत्तै उनी फेरि काठमाडौं आए, यु(१६ सेलेक्सनका लागि। यसमा उनी असफल भए।
यतिबेलै उनको भेट एन्फाका वर्तमान महासचिव धिरेन्› प्रधानसँग भयो। उनको पहलमा नवयुगले सशस्त्र प्रहरीको एपीएफ क्लबमा फुटबल प्रशिक्षण लिए।
***
नवयुग एपीएफ क्लबमा फुटबल सिकिरहेकै थिए। यसैबेला एकजना साथीले आर्मीमा भर्ती खुलेको खबर सुनाए।
खबर ल्याउने साथीलाई उनले जवाफ दिन सकेनन्। जागिर नखाई नहुने पनि थिएन। आर्मीमा जागिर खाने सोंच पनि थिएन।
उनले भने, 'साथीले सुनाएपछि रहर पनि लाग्यो। फेरि बुबाले के भन्नुहुन्छ भन्ने भयो। मैले सरोजलाई ड्याडीसँग कुरा गर्न भनेँ। उसैले कुरा गर्यो। ड्याडीले हुन्छ भन्नुभएपछि हामी गयौं।'
आर्मी भिड्न उनी धनकुटा गए। सबैकुरामा सफल भए। पहिलो प्रयासमा नै भर्ती भए। सिपाही भएर छिरेका नवयुग अहिले अमल्दार छन्।
भर्ती भएपछि उनको प्रतिभाले त्यहाँ पनि ठाउँ पायो। नौ महिनाको सैन्य तालिम सकिएको केही समयमा नै उनी त्रिभुवन आर्मी क्लब आइहाले। उनले भने, 'आर्मीमा गेम भइरहन्छ र सेलेक्सन पनि। मैले छिट्टै ठाउँ पाइहालेँ।'
६७ सालमा उनले पहिलोपटक ए डिभिजन लिग खेले। यसपछि उनी आर्मी क्लबका महत्वपूर्ण खेलाडी भए। गोल गर्ने उनको बानी नै हो, आर्मी क्लबमा गोल नगर्ने कुरै भएन। आर्मीमा आफ्नो खेल जम्न थालेपछि उनलाई राष्ट्रिय टोलीको जर्सी लगाउने दिन नजिकै आइसकेजस्तो लाग्यो, जुन उनको सानैदेखिको सपना थियो।
६८ सालदेखि उनी प्रत्येक पल्ट नेसनल टिमका लागि क्याम्पमा बोलाइन्थे। तर, प्रत्येक पल्ट फालिन्थे। लगातार चार वर्ष क्याम्पबाटै फालिइदा पनि उनले हरेस खाएनन्।
'एकदिन न एकदिन पर्छु नै भन्ने थियो,' उनले भने।
सानैदेखिको सपना, बर्षौंको मेहेनत र चार बर्षदेखिको धैर्यपछि उनले राष्ट्रिय जर्सी लगाउन पाए। उनको सपना पुरा भयो। भारतविरुद्ध मैत्रीपूर्ण खेलबाट उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे।
'घरेलु फुटबल खेल्नु र अन्तर्राष्ट्रिय फुटबल खेल्नुमा के फरक हुँदोरहेछ त?'
'सबै फरक हुन्छ नि,' उनले जबाफ दिए, 'देशको लागि खेलिरहेको छु भन्ने हुँदोरहेछ। जिम्मेवारीबोध हुन्छ, डर पनि हुन्छ।'
***
साग फुटबलमा नेपालले स्वर्ण जितेपछि उनको नाम सापटी लिएर 'नेपाली फुटबलमा नवयुग सुरु भएको' भन्ने प्रतीकात्मक वाक्यांश धेरैले प्रयोग गरे। अझ राजनीतिमा समेत 'नवयुग' ल्याउनुपर्ने तर्क नेताहरुले गरे। यो प्रतियोगितामा उनले दुई ह्याटि्रक गर्दै एकै महिनामा तीन अन्तर्राष्ट्रिय ह्याटि्रकको कीर्तिमान त बनाए नै, भारतविरुद्धको फाइनलमा निर्णायक गोल गर्दै स्वर्ण दिलाउन पनि सफल भए।
'सागकै लागि भनेर खास तयारी नै भएन। हतारहतार भयो,' उनले भने, 'साफ र त्यसपछि बंगबन्धु खेल्यौं, खास तयारी गर्ने समय नै भएन।'
तर बंगबन्धु जितेकाले आत्मबल बढेको थियो, उत्साह थपिएको थियो। उनले भने, 'बंगबन्धु खेलेकै टिम नै थियो। इन्डिया मात्रै थपिएको थियो। त्यसैले जित्छौं भन्ने आत्मविश्वास थियो।'
उनले समूह चरणमा भुटानविरुद्ध र सेमिफाइनलमा मालदिभ्सविरुद्ध ह्याटि्रक गरे। फाइनलमा भारतविरुद्ध प्रकाश बुढाथोकीले दुर्लभ फ्रिकिक प्रहार गर्दै खेल बराबरी गरेका थिए। नवयुगले निर्णायक गोल गरे र २३ बर्षपछि नेपालले साग फुटबलमा स्वर्ण जित्यो।
'फाइनलमा भारतलाई हराउँदा कति खुशी लाग्यो भन्ने त कसरी भन्नु र,' उनले भने, 'मैले गोल गरेँ भन्नुभन्दा पनि हामीले इन्डियालाई हरायौं र २३ वर्षपछि स्वर्ण जित्यौं। यो नै ठूलो कुरा हो नि।'
एक महिनामा तीन ह्याटि्रकसहित ११ गोल, दुई प्रतियोगितामा लगातार सर्बाधिक गोलकर्ता। आखिर उनको गोलको राज के हो त?
नवयुग भन्छन्, 'स्ट्राइकरले बल एज्युम गर्न सक्नुपर्छ। आफ्नो ठाउँ चिन्नुपर्छ। ठाउँमा पुग्यो भने बल आफैं आइपुग्छ।'
'बल एज्युम' गर्नसक्ने हुन मेहेनत गर्नुपर्न उनी बताउँछन्।
'गेमहरु हेर्दा याद गर्नुपर्छ, प्रत्येक टि्रक प्यार्ि्क्टस गर्नुपर्छ,' उनले भने।
***
फुटबलको यो यात्रा तय गर्दा उनको औपचारिक अध्ययनकोे गति भने जाममा परेको छ। सूर्योदय स्कुलबाट एसएलसी गरेका उनले मंगलबारेको भानुभक्त उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा पढिरहेका छन्।
'परीक्षा दिन भ्याइनँ। यसपालिचाहिँ जसरी भएपनि इक्जाम दिनु छ,' उनले भने।
सानैदेखि उनको ध्यान पढाइमा भन्दा फुटबलमै थियो। त्यसैले घरमा अलिअलि गाली पनि खान्थे। उनले सुनाए, 'फुटबल खेलेपनि पढाइ नबिगार्नू भन्नुहुन्थ्यो, मेरो त ध्यानै फुटबलमा मात्रै जान्थ्यो। पढाइमा ध्यानै नजाने।'
अरु योजना के के छन् त?
उनले सुनाए, 'राम्रो खेल्ने नै मेरो योजना हो। यसका लागि म सकेसम्म मेहेनत गर्छु। अबको तयारी आउने साफ च्याम्पियनसिपका लागि हो। म नेपाललाई साफ जिताउन चाहन्छु।'
उनले थपे, 'बाहिरको क्लबबाट खेल्ने मन छ। इन्टरनेशनल क्लबबाट खेल्न सकियो भने नेपालका लागि पनि केही गर्न सकिन्छ।'
उनीसँगै फुटबल खेलेका अनन्त तामाङ र अन्जन विष्टसँगै विमल घर्तीमगरले स्पेनी क्लब मार्बेला युनाइटेडमा आबद्ध भएर युरोपियन फुटबलको अनुभव संगाल्न पाउने भएका छन्। विमलले बेल्जियन फुटबलको स्वाद चाखिसकेका छन्। नवयुग त्यस्तै दिनको पर्खाइमा छन्।
'इन्टरनेशनल क्लब'बाट खेले मात्रै फुटबलको स्तरमा परिवर्तन आउँछ,' उनले भने।
(तस्बिर: नवयुग श्रेष्ठको फेसबुकबाट)
Post a Comment