गगन थापा बाइबाइ, खुमबहादुर हाइहाइ !

काठमाडौं । कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा प्रभावशाली चित्रलेखा यादवलाई पराजित गर्दै सिरहाकी सीतादेवी आदव विजयी भइन् ।

तर, सभापति, महामन्त्री र कोषाध्यक्षको परिणाम आए पछि कांग्रेसमा महाधिवेशनको राप र ताप घटेको छैन । २५ खुल्ला केन्द्रीय सदस्यको मत गणना जारी छ । कुन पक्षका को नेता आउँछन्, कुन प्रभावशाली नेता फेरि पराजित हुन्छन् वा को लो प्रोफाइलको नेता जित्छन् भन्ने  थाहा पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ ।

तर, यतिखेर चर्चामा महामन्त्रीमा जितेका शशांकको होइन, हारेका गगन थापाको भइरहेको छ । महामन्त्रीमा भिडन्त पनि रोचक नै थियो । एकातिर देउवा पक्षबाट अर्जुननरसिंह केसी उम्मेदवार थिए भने सिटौला पक्षबाट उनै  गगन उम्मेदवार । यिनीहरुको उम्मेदवारी प्रतिस्पर्धीका रुपमा मात्र सीमित भएन । किनकी केसीका ज्वाईं थापा हुन् । ज्वाईं ससुराको सम्बन्ध भएका कारण अन्तिमसम्म पनि गगन उठ्दैनन् भन्ने आँकलन गरिएको थियो । तर, केसीको अनेक दाउका बावजुद पनि थापा रोकिएनन् । सम्मानजक ५८४ मत पनि ल्याए । तर, आफ्नो पक्षका देउवा विजयी हुँदा केसी जितेनन् । देउवालाई पहिलो चरणमा आएको जति भोट पनि केसीलाई  आएन । अझै प्रष्ट भन्दा केसी देउवा पक्षमा रुचाइनन् । रुचाइएका थिए भने, देउवाको भन्दा दुई सय मत कम अर्थात १३५० मत मात्रै ल्याएको भए पनि केसी जित्न सक्थे । तर, उनी १०१७ मैं रोकिए । शशांकले १४१७ मत प्राप्त गरे र सबैको आँकलन विपरीत बिपीपुत्रका रुपमा बाजी मारे ।

सामाजिक संजालमा दुई दिनसम्म ज्वाईं ससुराको भिडन्तले चर्चा पायो । गगनले सहयोग गरेका भए केसी  जित्थे पनि भनियो । तर, राजनीतिमा यो सबै सम्भव भएन । आफ्नो राजनीतिक भविष्यका लागि भन्दै जोखिम उठाएरै उम्मेदवारी दिएको गगनले अहिले पनि बतारहेका छन् । पार्टीमा सुधारको आवश्यकता भएको भन्दै निरन्तर क्रियाशील हुने उनको भनाई आएको छ ।

युवामाझ लोकप्रिय छवि बनाएका गगनको चर्चा फेरि चुलिएको छ । चर्चा चुलिनुको पछाडि अब ससुसा केसी होइनन्, खुमबहादुर खड्का छन् । किनकी अघिल्लो पटक सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेका गगन यसपटक महामन्त्रीमा पराजित भए । तर, भ्रष्टाचारमा भद्नामीका भारी बोक्दै जेल बसेर राजनीतिमा होमिएका खड्का २५ सदस्यको खुल्लाको मत गणनामा सबैभन्दा अगाडि देखिन्छ । मतगणनाको शैली हेर्दा उनी हार्छन् जस्तो देखिंदैन ।

एकातिर युवाहरुको प्रवेश भएको कांग्रेसमा गगनको बाइबाइ भयो भने, अर्कोतिर भ्रष्टाचारीको कीर्तिमान बनाएका खुमबहादुरको हाइहाइ भइरहेको छ । कांग्रेसका एक नेता यस्तो हुनुलाई राजनीतिक बिडम्बनाको रुपमा लिन्छन् । ‘गगन जो अघिल्लोपटक सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर,  यसपटक युवाहरुमा माग हुँदाहुँदै पनि महामन्त्रीमा पराजित हुन पुगे’ ती नेताको टिप्पणी छ, ‘खुमबहादुरहरुको हाइहाइ हुने देखिन्छ ।’ देउवालाई जिताउन अहम् भूमिका निभाएका खड्कालाई उपसभापति बनाउने चर्चा पनि उत्तिकै छ । यस्तोमा गगन थापा बाइबाइ, खुमबहादुर हाइहाइको अवस्थालाई कांग्रेसीजनले कसरी लेलान् ?
khabardabali
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget