अर्जुननरसिंह र गगनको भविश्यः सानेपाको कालो ड्रममा ; कसको भोट बढी आउला ?

२४ फागुन, काठमाडौं । झट्ट हेर्दा जाँड पकाउनेजस्तै देखिने काला ड्रमहरु नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा थन्किएका छन्, जहाँ ६१ उम्मेदवारहरुको राजनीतिक भविश्य कैद भएको छ । र, त्यहाँ महामन्त्रीका दाबेदार ज्वाइँ-ससुरा गगन थापा र अर्जुननरसिंहको मतपत्र पनि अरु उम्मेद्वारको जस्तै गुम्सिइरहेको अवस्थामा छ ।
कांग्रेसका सभापतिका लागि सोमबार दिउँसो दुई बजे पुनः मतदान हुँदैछ । तर, यो चुनावमा खासै रहस्यमय हुनेछैन । किनभने ठूलै उथल-पुथल नभए शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का जस्तै छ । अब हुने सभापतिको चुनावमा कृष्णप्रसाद सिटौलाको अनुपस्थितिमा देउवा वा रामचन्द्र पौडेलले कति भोट बढाउन सक्छन् भन्ने मात्रै हेर्ने हो । तर, महामन्त्रीको नतिजा बेग्लै रोचक हुनेवाला छ ।
पहिलो चरणमै ११ भोटले सभापति हुन चुकेका देउवा यो पटक आफ्नो भोट अझ बढाउने र शानदार जित हात पार्ने रणनीतिमा हुनेछन् । यद्यपि पौडेल समेत कसरी जित्न सकिएला भन्ने रणनीति बनाउन व्यस्त छन् । यसरी सभापतिका लागि दोस्रो चरणको भीडन्तको तयारी भइरहँदा  धेरैको ध्यान महामन्त्रीको चुनावमा कसले बाजी मार्ला भन्नेमा केन्द्रित भएको छ । नहोस् पनि किन ? महामन्त्रीमा बीपीपुत्र शशांक कोइराला, युवा नेता गगन थापा र अर्जुननरसिंह केसी चुनावी मैदानमा छन् । गगन र अर्जुननरसिंह केसी ज्वाइँ-ससुरा भएकाले पनि महामन्त्रीको चुनाव निकै रोचक छ ।
सामान्य विश्लेषण
महामन्त्री पदमा निर्वाचित हुनका लागि सभापतिमा जस्तो ५१ प्रतिशत बहुमत आवश्यक पर्दैन, धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ । यदि प्यानल अनुसार सभापतिलाई जस्तै मत जाने हो भने देउवा प्यानलका अर्जुननरसिंह केसी स्वतः विजयी हुने देखिन्छ । र, सोही अनुसार मत खसेको अवस्थामा भने रामचन्द्र जस्तै उनको प्यानलका शशांक दोस्रो र कृष्ण सिटौला प्यानलका गगन थापा तेस्रो, र त्यो पनि निकै कम मत आउने अनुमान गर्नुपर्ने हुन्छ ।
सभापतिका लागि दोस्रो चरणको भीडन्तको तयारी भइरहँदा  धेरैको ध्यान महामन्त्रीको चुनावमा कसले बाजी मार्ला भन्नेमा केन्द्रित भएको छ
तर, सभापतिलाई खसेको मतकै आधारमा महामन्त्री पदको निर्वाचन परिणाम अनुमान गर्नु  वस्तुसम्मत नहुने तर्क अधिकांशको छ । महामन्त्री पदको त्रिपक्षीय भिडन्त सभापतिको भन्दा धेरै रोचक र फरक हुनेमा दुई मत छैन ।

ससुरा भर्सेज ज्वाइँ
पहिलो चरणमा ११ मतले कांग्रेसको सभापति हुनबाट चुकेका शेरबहादुर देउवाले १५६४ मत पाएका छन् । उनको टीमबाट महामन्त्रीका उम्मेदवार केसी छन् । तर, उनको भोट यो भन्दा कम हुने अनुमान गर्न सकिन्छ ।
केसी लामो समय संस्थापन प्यानलमा रहेका नेता हुन् र, यो पटक पौडेलको टीममा नअटाएपछि मात्र देउवातिर गएका हुन् । उनलाई महामन्त्रीको अफर गर्दा देउवा टीमका नेताहरुको अपेक्षा थियो कि उनीसँगै ज्वाइँ गगन पनि आउनेछन् र राम्रै मत थपिनेछ । तर, त्यो गलत सावित भइसक्यो ।
देउवा समूहमा केसीसँग रुष्ट हुनेमा कार्यकर्ता मात्र होइन, प्रभावशाली नेताहरु नै छन् । त्यसमाथि केसीसँग लामो समयदेखि चिरप्रतिद्वन्द्वीकै अवस्थामा रहेकाहरु देउवाको टीममा नभएका होइनन् । यस्ताहरुबाट देउवा समूहबाटै महामन्त्रीमा फ्लोर क्रस नहोला भन्न सकिन्न ।
विश्लेषण गर्नै गाह्रो
योपटक देउवा समूहका मतदातामा गगनप्रति अर्कै आकर्षण पनि देखिएको छ । सभापतिमा शेरबहादुर महामन्त्रीमा गगन भन्ने युवा मतदाताहरुको जमात ठूलै थियो, यदि त्यो मतदान गर्ने ठाउँमा पनि देखियो भने अर्जुननरसिंह केसीको सट्टा गगनलाई भोट आउन सक्छ । तर, केसी विरोधीहरुले संस्थापन पक्षका उम्मेदवार शशांकलाई मतदान गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न । अर्थात अर्जुनरसिंह केसीको मत ११ सयमा केही तलमाथि हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
अर्का उम्मेदवार शशांक कोइराला हुन् । उनको प्यानलको सभापतिको मतका आधारमा भन्ने हो भने उनको मत ११६० हुनुपर्ने हो । बीपी कोइरालाका कान्छो छोरा भएकाले उनीप्रति कांग्रेसजनको मोह कम छैन । तर, पछिल्लो समय शशांकले विवादास्पद अभिव्यक्ति पनि दिइरहेका छन् ।

गगन कृष्ण सिटौलाको प्यानलबाट उम्मेदवार बनेका छन् । सभापतिमा सिटौलाले ३२४ मत पाएका छन् । गगनले यो भन्दा बढी मत ल्याउने अनुमान लगाउन सकिन्छ । किनकि गगन पनि संस्थापनकै नेता हुन् । पार्टीको युवा पुस्तामा उनको लोकप्रियता शशांकको भन्दा बढी नै छ ।
योपटक कांग्रेस महाधिवेशनमा धेरै युवा मतदाता छन् । र, उनीहरुले गगनलाई आफ्नो प्रतिनिधिका रुपमा छानेका छन् । र, त्यो दृष्टान्त मतदानमा पनि झल्किन सक्छ । तर, जसरी शेरबहादुरका समर्थकले महामन्त्रीमा गगन भने, त्यसरी रामचन्द्रका मतदाता भने भनेको पाइएन । अरु संस्थापनको प्यानलमा नपरेकाले भोट दिन मन भए पनि सकिएन भनेर केहीले मुखै खोलेर भने । त्यसैले संस्थापनको मत गगनले आफ्नो क्षमता र पहिचानका कारण जति ल्याउन सक्छन्, त्यो नै मुख्य हुनेछ । अर्थात देउवा समूहबाट फ्लोर क्रस हुने मत शशांकको सट्टा गगनतिर आएको भए र संस्थापनको मत केही तान्न सकेको भए शशांक र गगनको मत पनि हजार/एघार सय आसपास नै हुन सक्छ ।
अर्थात सभापतिमा आएको मतलाई हेरेर अहिले नै को जित्छ भन्न गाह्रो छ । तर, प्यानलको भोट जाने हो भने अर्जुननरसिंह केसीको सम्भावना गगन र शशांकको भन्दा केही बढी हुनसक्छ । तर, सभापतिको मत परिणाम भन्दा महामन्त्रीको परिणाम फरक पर्ने देखिन्छ ।
तर, धैर्य गरौं, अबको २४ घण्टामा सानेपामा राखिएको कालो ड्रमभित्रको रहस्य अवश्यै बाहिर आउनेछ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget