आफ्नै छोरी शुबिहानीलाई धुर्मुस र सुन्तलीको चिठी 'अरुलाई हसाउँदा तिमीलाई पो रुवायौँ कि छोरी !'

मायाकी खानी
शुबिहानी !!
मानिसहरु भन्छन् छोराछोरी आफ्नै शरीरको विस्तारित रुप हो भनेर । सायद यसो भन्नुको मतलब भौतिक रुपमा सधैंसँगै हुनु भनेको होला । तर, तिमी हाम्रो प्रेमको, भावनाको, कल्पना, चाहना, धेरै कुराको विस्तारित रुप हौ । पत्र मार्फत तिमीलाई हाम्रो बाध्यताका निहुँ सुनाएर आफ्नो मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौं । हुन त तिमीले एउटै प्रश्न; ‘मम्मी बाबा, तपाइँहरुको लागि प्राथमिकता म हो या अरु केही ?’ भनेर सोध्यौ भने हाम्रा यी सबै कुराहरु व्यर्थ हुन्छन्, हरेक कारणहरु अफसोच हुन्छन् । यत्ति सम्झ, यो तिम्रो बाबुआमाको मन बुझाउने एउटा बहाना हो ।

तिमी गर्भमा आयौ । हाम्रो प्रेमको प्रतीक तिमी यो धर्तीमा आउनुपूर्वको तिम्रो प्रतिक्षा तिम्रो जन्मसँगै पुरा भयो । नौ महिनासम्म तिमीलाई कोखमा बोक्दादेखि नै शारीरिक रुपमा अलि कमजोर भएछु । त्यसैले तिमी नौ महिना पुग्नु १५ दिन अघि नै अप्रेशन गरेर यस धर्तीमा पैदा गर्यौँ । सब दुखाई र पीडा बिर्सीएर तिम्रो कोमल शरीर सुम्सुम्याउँदै, हेर्दै रमाउँदै गर्दा अचानक तिमी गहिरो बिमारी हुन पुग्यौ । तिमी १६ दिनकी थियौ । तिम्रो जन्म र हाम्रो खुसी सपना जस्तै भयो । एक महिनासम्म तिमीलाई हस्पिटलमै राख्यौँ । धन्न, विज्ञान र प्रविधिको यो आधुनिक युगमा तिमीले रोगलाई जित्यौ र हामीलाई हर्षविभोर बनायौ । छोरी खास कुरा के भने नी, तिमी जन्मेको ३ महिना पुगेर ४ लाग्दा नलाग्दै तिमीलाई घरमा छाडेर हामी काममा हिंड्न बाध्य भयौँ । साह्रै मन पोल्छ यो कुराले ।

सधैं विवाद भयो मनभित्र, मनमनै द्वन्द्व चल्यो, धर्म, कर्म र प्रेमवीचको भिन्नतालाई लिएर । वाध्यता, परिस्थिति, बहाना र सम्बन्धबीचको प्राथमिकतालाई लिएर । तिमी हाम्रो प्रेम, तिमी हाम्रो जिम्मेवारी, प्राथमिकता जे भने पनि तिमी हौ हाम्रो, अनि फेरी हाम्रो काम ? जसले तिम्रो बाबुआमालाई एक बनायो जीवनभरलाई । हाम्रो कर्म हाम्रो धर्म पनि त हो छोरी । तर कहिलेकाहीँ मन भारी हुन्छ, अनि आफ्नै मनले आफैँसँग प्रश्न गर्छ, दुनियाँ हँसाउन हिँडेका हामीले कतै तिमीलाई पो रुवायौँ की ?

तिमी जन्मिदै हाम्रो भाग्य बनेर जन्मिएकी छौ छोरी । तिमी जन्मेपछि नै हामीलाई सरकारले सरसफाई दूत घोषणा गर्‍यो । सारा देशभरबाट फोहोरमैला हटाउने, स्वच्छताको एउटा अभियन्ता बनायो । तिमीलाई छोडेर हामी देशका ३० जिल्ला गयौं । सरसफाई सम्बन्धी चेतना फैलायौं । तर कसम, हरेक साँझ तिम्रो सम्झनामा मन आत्तिन्थ्यो, रुन्थ्यौं हामी तिमीलाई सम्झेर । पूर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्दा हरेक निर्दोष बाल चेहरामा हामी हामै्र निर्दोष तर सजाय पाइरहेकी शुविहानीको देख्थ्यौँ ।

छोरी, त्यसपछि पनि हामी तिमीबाट अझै टाढा, सात समुन्द्र पारी अमेरिका प्रस्थान गर्यौँ । त्यतिबेला तिमी १४ महिनाकी थियौ । दुध चुसाउन नपाउँदा छाति नै अपवित्र भएको भानले साह्रै मन पोल्थ्यो । सबभन्दा ठूलो पाप गर्दैछु की भन्ने पीरले कयौँ रात निदाउन सकिन । छोरी, हामीलाई सबैभन्दा असह्य बज्रपात तब पर्‍यो, जतिबेला ७.६ म्याग्नीच्युडको भूकम्प गयो देशमा । भूकम्पका कारण यता देशमा धरहरा ढल्दै थियो, घर, भवन र संरचनाहरु ध्वस्त हुँदै थिए, उता हाम्रो मनमा त्यो भन्दा ठूलो कम्पन जारी थियो ।
काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, गोरखा ध्वस्त भएको, हजारौं मानिसहरु पुरिएका र ज्यान गुमाएका खबरहरु सबभन्दा ठूलो सनसनी हाम्रै लागि भयो होला । नहोस् पनि कसरी, हाम्रो मुटुको टुक्रा त्यही भूकम्पको भूमरीमा छ । धेरै बेर फोन लागेन, अत्तोपत्तो छैन । छोरी, साँच्ची त्यो बेला हामी दुवै पागल नै भएका थियौं । न शरीरले काम गर्छ न दिमागले । तिमीलाई छोडेर आएको ग्लानीले यत्ति पोल्यो नी, मुटु नै खरानी भएको आभाष भयो । क्वाँ क्वाँ डाको छोडेर रुन पनि सकिन । छोरी, साँच्चै भन्दा मैले आमाको महत्व त्यो बेला मात्र बुझें । मेरी आमा पनि त्यहि भूकम्पको भूमरीमा हुनुहुन्थ्यो नी, तर कसम होला मलाई तिम्रो मात्र याद आयो । माया साँच्चै उँदो बग्दो रहेछ । त्यो मायाले आमाको महत्व र माया कस्तो हुँदो रहेछ भन्ने कुराको महसुस गरायो ।

जब फोनमा तिमी सकुशल रहेको थाहा पायौं, अनिमात्र सास फेर्न सकियो । छोरी खै कसरी बाच्यौं हामी त्यो पलसम्म, सास फेरेको सम्झनै छैन । हामी अमेरिका हाम्रो कर्मका लागि गएको । हाम्रो धर्म नै मानिसको मुहारमा मुस्कान ल्याउने हो, तर शुविहानी, तिम्रो मुहारको मुस्कान हामीलाई लामो समयसम्म खड्कियो । तिम्रो सानो आवाजले त्यो बेला हामीलाई फेरी एकपटक जीवन दियो छारी । दिनदिनै टिभि, पत्रपत्रिका र अनलाइनमा आउने समाचार र तस्विर, सामाजिक सञ्जालमा देखिएका चित्रले हामीलाई घायल बनायो । हजारौं मानिसहरु पुरिएको, ज्यान गुमाएको खबरले हामीलाई हँसाउन दिएन । अमेरिकामा कार्यक्रम गरेर हँसाउन मनले मान्दै मानेन । हामी सबै कार्यक्रम रद्द गरेर तुरुन्तै नेपाल फर्कियौं ।
अमेरिकामै हुँदा सानो बच्चा पुरिएको र जिवितै उद्धार गरिएको अनि अर्को त्यस्तै बच्ची पुरिएको ठाउँमा मृत भेटिएको दृश्य हेर्दा त म चिच्याउन पुगेंछु थाहै नपाई । हामी नेपाल फर्कियौं, एयरपोर्ट देखिनै मन कुँडिन थाल्यो । त्रास, हतास, पीडा, आतेस सबै एकैपटक महसुस भयो । हामी सिधै तिमीलाई भेट्न घर आइपुग्यौं । आउने वित्तिकै तिमीलाई च्याप्पै अँगालो मारेर रुन थालेंछु । तिम्रो निर्दोष हातको स्पर्श, सासको गन्धले म भित्र प्राण भरिदियो छोरी । तिमी मुसुक्क मुस्कुरायौ हामीलाई हेरेर । त्यतिबेला मैलै तिमीलाई देवीको रुपमा देखें । यति मिठो मुस्कान सहित, कति सजिलै हामीलाई माफ गर्‍यौ है । पछि मात्र थाहा भयो भूकम्पमा परी मेरी आमाको ढाड भाँचिएको रहेछ । मैले आमाको बारेमा त सोच्नै भुलेको रहेँछु । तिमीलाई भेटेपछि मात्र याद आयो । आमाको मनले पनि सजिलै  माफ गरी दिनुभयो ।

तिम्रो मुस्कानले हामीलाई आनन्दित मात्र बनाएन उर्जा र शक्ति पनि दियो । तिम्रो हाँसो देशभरका भूकम्प पीडितहरुको मुहारमा ल्याउन मन लाग्यो । कति तिमी जस्तै बालबालिका होलान् जसको हाँसो हरायो होला यो भूकम्पसँगै, कति विचल्लिमा परे होलान् भन्ने पीरले औडाहा भयो । मन मान्दै मानेन चुप लागेर बस्न, तिम्रो हाँसोको उर्जा लिएर हामी फेरी हिंड्यौं सकेसम्म धेरैको आँसु पुच्छ्न । फेरी तिमीलाई छाड्यौं हामीले छोरी । तिमी बुझ्छ्यौ होला नी यति ज्ञानी छौ । तिमीलाई एक्लै पारेर भएपनि तिमी जस्तै अवोध बालबालिकाको पीडाहरु कम गर्न निस्एिका हौं छोरी हामी । गाँस, बास, कपास नै गुमाएकाको सानो भएपनि साहारा बन्न हिंडेका हौं हामी । आखिर तिमी त हामी नहुँदा पनि तिम्रा बाबुआमा जति नै माया गर्ने, ठूलोबाबा, ठूलोमामुको साथमा छौ नी । उहाँहरुको साथको हामी पनि सधैं ऋणी छौं । भूकम्पमा कतिले त बाबु आमा र आफन्त नै गुमाएर टुहुरा समेत भएका छन् ।
त्यसपछि हामी अहोरात्र उद्धार र राहत वितरणमा लाग्यौं । सानै भएपनि धेरै ठाउँमा सहयोग बाँड्न सफल भयौं । तिमीलाई एक्लै रुवाएर भएपनि धेरै ओठहरुमा मुस्कानको बिऊ रोप्यौं । यो बेला फेरी कर्मले हामीलाई जित्यो । ११ वटा जिल्ला पुगेर, म्याट, त्रिपाल लगायतका आवश्यक सामाग्री बाँड्यौं । हाम्रो टेलिसिरियल छायाङ्कन स्थानमा पुगेर धेरै सहयोग वितरण गर्‍यौं । नुवाकोटको ओखरपौवामा ४० वटा चर्पी निर्माण गर्‍यौं । नुवाकोटकै महाकाली निमाविको ७ कोठे भवन निर्माण सकेपछि त्यहाँका बालबालिकाको खुशी हामीलाई तिम्रो हाँसो जस्तै लागेको थियो । उनीहरुलाई, झोला, कापी, किताब वितरण गर्दा हामीलाई एकदम आनन्द भएको थियो छोरी ।

त्यसपछि हामी अर्को महान काममा लाग्यौं । काभ्रेको डाँडागाउँको पहरी बस्तीमा एउटा बस्ती नै बसाल्न सफल भयौं जसलाई हामीले धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती को नाम दियौं । १८ परिवारले ती घरमा ओत पाए । तिमीजस्ता धेरै बच्चाहरु यो जाडोमा कठ्याङ्ग्रिनु परेन छोरी । यो झण्डै ३ महिनाको अवधिमा मैले त तिमीसँग कहिलेकाहीँ भेटीरहेँ । तिम्रो बाबाले १/२ पटक मात्र भेट्न पाउनुभयो ।
आशा छ तिमीले हामीलाई बुझ्ने छौ । आजभोलि पनि त हामी विभिन्न कार्यक्रममा हिडी रहन्छौं । धुर्मुस सुन्तली सरसफाइ अभियान देशभर जारी छ । अचेल त तिमी हाँसी हाँसी विदा दिन्छौ । साह्रै आनन्द लाग्छ । तिम्रो माया हाम्रो लागि शक्ति हो छोरी । यहि मायाको साहारामा हामी बाँचुञ्जेल सबैलाई हँसाइरहन पहल गर्ने छौं । तिमी पनि सधैं यसरी नै हाँसीरहनु ।
उही, तिमीलाई धेरै माया गर्ने
बाबा, मामु/धुर्मुस,सुन्तली
UJYAALO ONLINE
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget