हलिउडमाथि बलिउड सुन्दरीहरुको हमला !

फाल्गुन २२, २०७२- कुनै फिल्म अवार्ड वितरण गर्नका लागि मञ्च उक्लिँदैमा कसैको यति धेरै चर्चा हुँदैन जति ओस्कर समारोहमा बलिउड हिरोइन प्रियंका चोपडाको भयो । बीबीसीले यसलाई एउटा ‘मोड’ का रूपमा व्याख्या गर्‍यो भने भारतीय सञ्चार माध्यमहरूले हलिउडमाथि बलिउडको प्रभावका रूपमा ।

न प्रियंकाले ओस्कर पाएकी हुन् न मनोनीत भएकी । तर, यति धेरै चर्चा किन भयो त ? ओस्कर वितरण गर्नुलाई नै हलिउडमाथि बलिउडको हमलाको रूपमा व्याख्या किन गरियो ? यसमा प्रियंकासँगै अर्की बलिउड सुन्दरी दीपिका पादुकोणलाई पनि जोडर व्याख्या गरिएको छ ।

टेलिफिल्म ‘क्वान्टिको’ बाट पिपुल्स च्वाइस अवार्ड पाएकी प्रियंका अब लगत्तै ‘बेवाच’ मा भिलेनको भूमिकामा देखिंदैछिन् । दीपिका भने भिन डिजलसँग ‘एक्सएक्सएक्स’ को नयाँ शृंखलामा व्यस्त छन् ।  बलिउडका यी दुई प्रतिस्पर्धी हिरोइनहरूको हलिउड सक्रियतालाई हलिउडको बजार विस्तार र बलिउडको प्रभाव विस्तारका रूपमा हेरिएको छ । जसरी केही वर्षअघि भटाभट भारतीय सुन्दरीहरूले विश्वसुन्दरीको ताज जित्थे, त्यसैगरी अहिले हलिउडका बिग बजेट फिल्ममा भूमिका पाउन थालेका छन् ।

यी दुवै परिघटनालाई भारतीय बजारमाथि पश्चिमको प्रभाव विस्तारको प्रयासका रूपमा हेरिएको छ ।  भारतमा हलिउड फिल्मको व्यापार पछिल्ला वर्षमा निकै बढेको छ । इरफान खानका स–साना भूमिका, भारतीय कथामाथि भारतमै निर्माण गरिएको ‘स्लमडग मिलेनियर’ ले जितेका ८ ओस्कर, एआर रहमान, गुल्जार र रसेल पुकेटीले एकैपटक पाएका ओस्कर, रहमानको ग्रामी र अनिल कपुरको टीभी शो, सबैको संयुक्त उपलब्धिका रूपमा प्रियंकाको ओस्कर मञ्च ‘आरोहण’ लाई हेरिएको छ ।

स्टिवन स्पिलवर्गको फिल्ममा देखिएका अमरिश पुरी र सन कनरीसँग देखिएका नसिरुद्धिन शाहको अभिनयले हलिउडमा बलिउडको आगमनको जुन संकेत दिन सकेको थिएन, त्यो काम प्रियंकाले गरेको मानिएको छ ।



तर, के साँच्चिकै यो बलिउडको हमला नै हो त ? आलोचकहरू त्यो मान्दैनन् । उनीहरू ठान्छन्– यो त उल्टो १ अरब भारतीयलाई अंग्रेजी फिल्म हेर्ने औपचारिक निम्तो हो । त्यस्ता हलिउड फिल्म, जहाँ भारतीय दर्शकले नै चाहेका स्वप्न सुन्दरीहरू हुनेछन् । गोराहरूको दुनियाँमा बलिउडका ‘ब्ल्याक ब्युटी’ हरूको जलवा छाउनेछ ।

अमेरिकापछिको हलिउडको दोस्रो ठूलो बजार एसिया हो । जापान, चीन र कोरिया यसमा अग्रणी छन् । अब यो लाइनमा भारत पनि थपिएको छ । भारतले हासिल गरेको आर्थिक वृद्धि र तीव्र सहरीकरणको फाइदा अहिले बलिउडलाई भइरहेको छ । एउटै फिल्मले ५ सय करोडको व्यापार गर्न थालेका छन् ।  संसारमै सबभन्दा धेरै फिल्म निर्माण गरे पनि र धेरै टिकट बिक्री भए पनि कुल कारोबारमा बलिउडभन्दा हलिउड अझै करिब ढाई–तीन गुणा ठूलो छ । हलिउड–बलिउडको अहिलेको आदान–प्रदानले एकातिर हलिउडको बजार विस्तारमा योगदान गर्नेछ भने अर्कातिर बलिउडलाई पनि ग्लोबल बनाउन मद्दत गर्नेछ ।

अहिले पश्चिममा जे–जति मात्रामा बलिउड फिल्म प्रदर्शन हुन्छन्, त्यसका मुख्य दर्शक विदेश पुगेका भारतीय नै हुने गरेका छन् । यिनले पश्चिमको मुख्य बजारमा धाक जमाउन सकेका छैनन् । तर, अब बलिउडका हिरोइनहरूले सायद, अंग्रेजी भाषाकै फिल्मबाटै त्यो काम गर्नेछन् ।

दीपिका र प्रियंका यो वर्ष बलिउडको सर्वाधिकमध्येको फिल्म ‘बाजिराव मस्तानी’ मा सँगै देखिएका थिए । हलिउडी शैलीका भव्य र रंगीन फिल्ममा विश्वास गर्ने संजयलीला भन्सालीको यो फिल्मबाट यी दुवैले बलिउडमा अवार्ड पनि पाए । आफ्नो पहिलो फिल्मबाटै हलिउडमा पनि उनीहरूले तरंग ल्याएका छन् । हेरौं यसले बलिउडलाई विश्वव्यापी बनाउँछ कि हलिउडलाई थप विस्तारित ?

हलिउडमा अश्वेत र ल्याटिन कलाकारको सहभागिता, उनीहरूलाई दिइने सम्मान तथा अवार्डहरूमा दिइने मनोनयनलाई लिएर चर्को बहस चलिरहेका बेला यी बलिउड अभिनेत्रीहरू हलिउड पुगेका छन् । यस्तोमा यो समावेशी नाराको फाइदा उनीहरूलाई पनि हुन सक्छ ।

मनोज नाइट श्यामलन मात्रै होइन, बलिउडै ‘मासुम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्विन’ जस्ता फिल्मका निर्देशक शेखर कपुरले अंग्रेजी फिल्ममा आफ्नो स्थान बनाएका थिए । केट ब्लान्चेटलाई लिएर उनले बनाएको ‘एलिजावेथ’ चर्चित फिल्म थियो । तर, पछिल्ला वर्षमा उनी पनि बलिउडतिरै फर्किएका छन् ।

हलिउडको काम गर्ने शैलीदेखि पाउने भूमिकासम्म हेर्दा एसियाली कलाकारलाई हलिउड खासै सजिलो ठाउँ मानिदैन । ज्याकी च्यानजस्ता कलाकार र आङ लीजस्ता निर्देशकहरू हलिउडमा स्थापित भएर पनि अझै ‘आउटसाइडर’ जस्ता मानिन्छन् । सन् २०१० यता ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड ‘शुद्ध अमेरिकी’ ले पाएका छैनन् । पछिल्ला दुई वर्ष यो अवार्ड मेक्सिकन अलेजान्द्रो गोन्जालेज (बर्डम्यान र दि रेभेनान्ट) ले पाए भने त्यसअघि मेक्सिोकै अल्फान्सो क्रुसो (ग्राभिटी) ताइवानका आङ ली (लाइफ अफ पाई), फ्रान्सका माइकल हजानभिकियस (द आर्टिस्ट) र बेलायतका टम हुपर (द किंग्स स्पिच) ले पाएका छन् । यसबाट पनि हलिउडमाथि गैरअमेरिकी मूलका कलाकार र निर्देशकको पकड प्रस्टिन्छ ।

यो विविधताको पनि भारतीय कलाकारहरूले फाइदा उठाउन सक्छन् । र, यससँगै उनीहरूको अर्को ‘प्लस प्वाइन्ट’ तिनै बलिउड दर्शक पनि हुनेछन् । त्यसको एउटा उदाहरण ओस्कर कार्यक्रममा लियानार्डोको बहुप्रतीक्षित विजयपछि दोस्रो बढी खोजी गरिएको समाचार प्रियंका चोपडाको उपस्थिति हुनुबाट पनि देखिन्छ ।


kantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget