२८ वर्षीय युवकले ५५ परिवारलाई २० लाख रुपैँया बाँडे

दोलखा– रोजगारीको क्रममा स्विटजरल्याण्डमा बस्दै आएका एक युवकले आफ्नो कमाईबाट जन्मगाउँका भूकम्पपीडितका लागि नयाँ घर बनाउन २० लाख रुपैंया सहयोग रकम वितरण गरेका छन्।

दोलखाको सुनखानी गाविस १, डाँडाथोकका २८ वर्षीय कुलप्रसाद पौडेलले जन्म गाउँका ५५ जना भूकम्प पीडित परिवारलाई २० लाख रुपैयाँ र गाउँभरीका बिद्यालयमा पढ्ने निम्न आय भएका १ सय १७ जना बिद्यार्थीका लागि १ लाख १७ हजार रुपैयाँ रकम सहयोग गरेका हुन्।

उनले मंगलबार गाउँभरीका निम्न आय भएका ५५ भूकम्प पिडित परिवार र बालबालिकालाई गाउँ विकास समितिको सहयोगमा उक्त रकम हस्तान्तरण गरेका हुन्। गत वैशाखमा २९ गते केन्द्रबिन्दु परेको सुनखानीका ३८ विपन्न परिवार र छिमेकी सुन्द्रावतीका १७ परिवारलाई उनले नयाँ घर बनाउनका लागि उक्त रकम हस्तान्तरण गरेको कालिनाग उच्च मावि सुनखानीका शिक्षक मोहन पाठकले जानकारी दिए।

कुलप्रसादले गाविस र स्थानिय संयन्त्रसँगको छलफलका आधारमा निम्न आय भएकाहरुलाई विपन्न मानी प्रति परिवार १० हजारदेखि २ लाख रुपैयाँसम्म रकम बाँडेका हुन्। उनले मंगलबार गाउँमै कार्यक्रम गरी सुन्द्रावती गाविसका थिरप्रसाद ओलीलाई सबैभन्दा बढी दुई लाख रुपैयाँ, सुनखानी गाविस ६ का धनमाया खरेललाई एक लाख ८० हजार, सुन्द्रावतीका लक्ष्मी उप्रेतीलाई डेढ लाख र सुन्द्रावतीकै संगीता पकुवाललाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

कुलप्रसादले ५१ जनालाई १० हजारदेखि ६० हजार रुपैयाँसम्म वितरण गरेका छन्। सर्वपक्षीय उपस्थितिमा २८ वर्षे युवकले भूकम्प पीडितहरुलाई राहत बाडिरहेको देखेर कतिपयका आँखा रसाएका थिए भने कतिपयले उनको कार्यको प्रशंसा गरिरहेका थिए।

को हुन् कुलप्रसाद ?

निम्न आर्थिक हैसियतको परिवारमा गाउँमै जन्मिएका कुलप्रसाद २०६२ सालमा गाउँकै विद्यालयबाट एसएलसी दिए। परिवारका जेठा छोरा उनको काँधमा बाबुले थाम्दै आएको घर ब्यबहार र ऋणको भारी आईपुग्यो। उनको बाबु र परिवारको नाममा भएको १ लाख रुपैँया ऋणले पोलेपछि कुल प्रसाद काठमाडौं हानिए।

माईक्रोबसमा सहचालक भए, ईट्टा भट्टा, होटलमा पनि काम गर्न भ्याए। बसमा खलासी काम गर्ने क्रममा उनी भारतको सिक्किम पुगे। सिक्कीममा खलासी काम गर्ने क्रममा एक दिन कुलप्रसादको एक जना नेदरल्याण्डका प्राध्यापक डाक्टर ड्रिमसगँ भेट भयो।

उनले नेपालको पोखरामा होटल व्यवसाय गर्न लागेको र सिक्कीममा खलासी काम गरिरहेका कुलप्रसादको कामबाट प्रभावित भएको सुनाएर सगैँ पोखरा फर्कन आग्रह गरे। 'यहाँ (सिक्कीममा) नेपालीलाई अत्यन्तै अपमान गरिँदो रहेछ, तिम्रो काम देखेर प्रभावित भए म सगँ पोखरा हिँड भनेपछि ति विदेशीसगैँ पोखरा आईपुगँे,' उनले आफ्नो विगत सुनाउदै नागरिकसगँ भने, 'पोखरामा उनले शुरु गरेको रिसोर्ट व्यवसायमा किचेन हेल्पर भएर काम गर्न शुरु गरें।'

उनका अनुसार किचेन हेल्पर हुँदै वेटर भएका उनी मलेसिया, स्विजरलेण्डलगायत विभिन्न मुलुकमा होटलसम्बन्धी तालिमहरु दिलाउन पठाए। तालिम लिएर फर्किएपछि होटलको म्यानेजरमा नियुक्त भएका उनले पछि छुट्टै होटल समेत चलाए। पोखरामा कुल प्रसादको नाममा कृष्ण किचेन एण्ड कटेज सञ्चालन गर्छन्। होटल व्यवसायको क्रममा विदेश आउजाउ हुन थालेका उनलाई एक पटक स्विजरल्याण्ड पुगेपछि आफ्नो विगत सम्झीएर पढाईलाई अघि बढाउने निधो गरे। 'पोखराको ब्यापार भाईलाई जिम्मा लगाएर स्विजरल्याण्ड बस्न थालें,' उनले सुनाए, 'मेल नर्सिङ पढ्ने अवसर पाएपछि उतै राम्रो जागिर पाएँ।'
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget