काठमाडौंमा विद्युतीय बस चलाउन चीनले गर्‍यो अध्ययन, सुरुमा ३० बस ल्याइने


काठमाडौँ, २६ फागुन । चीनबाट ल्याउने तयारीमा रहेको अपाङ्गमैत्री विद्युतीय बस (इ-बस) का लागि काठमाडौँ उपत्यकाको भौगोलिक अध्ययन सकिएको छ । तर पूर्णरुपमा अध्ययन प्रतिवेदन आउन बाँकी छ ।
काठमाडौँ महानगरपालिकाले ल्याउन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउँदो छ वा छैन भनेर भौगोलिक अध्ययन गरिएको महानगरपालिकाले जनाएको छ । “चार दिनअघि चीनको मोटर कम्पनी सिआरआरसिटीका चिनियाँ प्रतिनिधि आई उपत्यकाका विभिन्न स्थानको अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदनमात्र आउन बाँकी रहेको छ ।” महानगरपालिकाअन्तर्गत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भन्नुभयो– “केही दिनमा प्रतिवेदन आउनेछ । सोहीअनुरुप बस ल्याउने गृहकार्य सुरु हुन्छ ।”
काफ्लेका अनुसार अध्ययन प्रतिवेदनअनुसार मात्र सिआरआरसिटीले इ–बस उपलब्ध गराउनेछ । सुरुमा ३० बस ल्याउन लागिएको छ । ल्याइने बसमध्ये २० महानगरले किन्नेछ भने १० वटा चीन सरकारले अनुदानमा दिनेछ ।
सो विद्युतीय बस एकपटक विद्युतीय चार्ज गरेपछि २०० किमी चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घन्टा लाग्ने बताइएको छ ।
चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेको महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध गराउन आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनका लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।
शारीरिक रूपमा अशक्त व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताका लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुई ढोकासहितको बस माग गरेको छ । विद्युतीय एक बसको मूल्य करिब रु एक करोड हुनेछ ।
समयसमयमा हुने गरेको इन्धन अभावले गर्दा यस किसिमको बस ल्याउन लागिएको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ । रासस
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget