भारतबाट शिवरात्रिमा मेला भर्न पाँचहजार साधु नेपाल आउने

काठमाडौँ,  पाशुपत क्षेत्रमा अहिले साधु सन्तको उपस्थिति निकै बाक्लो भएको छ ।सोमबार शिवरात्रि परेकाले देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजी लगायत आउने क्रम जारी छ । यही फागुन २४ गते शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावन लगायत स्थानबाट साधुसन्त आइरहेका छन् । बिगु बाबा समेत शिवरात्रिमा सहभागी हुन नेपाल आउनुहुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्वामी अभियानन्द र ९३ वर्षीय भीमा शङ्कर ‘गदुर बाबा’समेत आइपुग्नुभएको छ ।





सोमबार विहानसम्म पनि साधुसन्त आउने बताइएको छ । गत वर्ष सात हजार साधु सन्त आएकामा यस वर्ष पाँच हजार आउने अनुमान कोषले गरेको छ । साधु सन्त व्यवस्थापनका लागि रु ११ लाख कोषले विनियोजन गरेको छ ।

अन्नपूर्ण आश्रममा नागा बाबालाई खान बस्नको व्यवस्था मिलाइएको छ । स्वर्गद्वारीमा सन्न्यासी, तिलगङ्गामा सामान्य जोगी तथा सन्तलाई खान बस्नको व्यवस्था गरिएको कोषको सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । कोषले देशविदेशबाट आएका साधुको तह निर्धारण गरी बसोबास तथा बिदाइका बेला रु १०० देखि रु पाँच हजारसम्म दक्षिणाको व्यवस्था मिलाएको छ ।

कोषले यस वर्ष शिवरात्रिमा ११ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ । त्यसका लागि विभिन्न चार दिशाबाट दर्शनका लागि पङ्क्ति व्यवस्थापन काम भइरहेको छ ।
वनकाली आसपास नै भारतको अमरनाथ तीर्थस्थलको प्रारुप तयार गरी अवलोकन गराइने छ । दुई वर्षअघि सोही क्षेत्रमा जम्मुकास्मिरस्थित वैष्णोदेवीको मन्दिरको प्रारुप बनाइएको थियो । आजै पाशुपत क्षेत्रस्थित वनकाली मन्दिर परिसरमा १८ फि अग्लो र आठ फि चौडा गणेशको मूर्ति आज अनावरण गरिएको छ । पाल्पा जिल्ला र समग्र नेपालकै धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त जिल्लाको तेल्घा गाविस–४ मा २०० फिट अग्लो मन्दिर निर्माण गरेर उक्त मूर्ति त्यहाँ प्रतिष्ठापन गरिनेछ । आगामी चैत १३ गतेसम्म उक्त मूर्ति वनकालीमै राखिने छ ।
पशुपति क्षेत्रबाट उक्त मूर्तिलाई शोभायात्रा गर्दै आगामी छ महिनाभित्र पाल्पा पु¥याउने योजना रहेको काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितले बताउनुभयो । करिब रु एक करोडको लागतमा निर्माण गरिएको उक्त मूर्तिका निम्ति आवश्यक पर्ने गरगहनालगायत बहुमूल्य रत्न प्रतिष्ठित उद्योगपति जगदीशप्रसाद अग्रवालले प्रदान गर्नुभएको हो । रासस
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget