बुटवलमा सुन र दाईजोरहित विवाह

कुशको औंठीबाट स्वयंवर
पहेलै सुनका गरगहना र सुनबुट्टे सारी चोलीमा सिंगारिएकी बेहुली, लाखौंका सयौं गाडीको लावालस्करमा जन्तीसहित सजिएर बेहुली लिन जाने बेहुला। कसैको विवाह वा बेहुला बेहुलीभन्दा झट्ट सबैको मनमा आउने दृश्य हो यो।
तर बुटवलमा सनिबार यस्तो विवाह भयो जुन विवाहमा नत बेहुला पक्षबाट गरगहना किनिए नत बेहुली पक्षबाट दाईजो वा महंगा उपहार नै। एउटै मण्डपबाट सम्पन्न भएका दुई जोडी बेहुला बेहुलीको विवाह कार्यमा कुशको औंठीबाट स्वयंवर गरियो भने कुनैपनि सुनका गरगहना प्रयोग भएनन्।
परम्पराको नाममा पछिल्लो समयमा बढ्दै गएको फेसन तथा गरगहनाको प्रयोगले विवाह जस्तो पवित्र कार्यलाई अत्यन्त भड्किलो बनाएको भन्दै बेहुला जनार्दन न्यौपाने र सुन्दर भण्डारी तथा बेहुली यशोदा ओस्ती र समिक्षा डोटेलले सुन र दाईजो रहित विवाह गरेका हुन्।
बेहुलीले बेहुलालाई कुशको औंठी लगाईदिंदा बेहुलाले कुश संगै पोतेबाट बनाईएको औंठी लगाएर स्वयंवर गरेका थिए। ढाकाको चोली र सारीमा सजिएका बेहुलीले लगाएका सबै गरगहनामा पोते प्रयोग गरिएको थियो।
श्रीकृष्ण गण्डकी २ स्याङजाका न्यौपाने र रामपुर १५ पाल्पाकी ओस्ती र मालुङगा ८ स्याङजाका भण्डारी र चापाकोट ६ स्याङजाकी डोटेलका विचमा एउटै मण्डपबाट अन्य भन्दा फरक र नौलो विवाह भएको हो।
दुई व्यक्ति मात्र होईन दुई परिवारलाई एकआपसमा जोड्ने कार्यको रुपमा रहेको विवाहकै कारण कतिपय परिवारहरु जीवनभर सन्तानको विवाहको ऋण तिर्न नसक्दा घरबार नै बेच्नुपर्ने अवस्थामा पुग्ने गरेको भन्दै विवाहको गलत संस्कारलाई चिर्न यसप्रकारको विवाह गरिएको न्यौपाने बताउँछन्।
विवाहमा गरिने तडकभडक र होडबाजीले समाजमा धनी र गरिबको विचको खाडल झनै गहिरिँदै गएको भन्दै विवाहलाई गरगहना र धनदौलत प्रदर्शन गर्ने नभई दुई सम्बन्धलाई जोड्ने पवित्र कार्यको रुपमा विकास गर्नुपर्ने भण्डारी बताउँछन्।
विवाहका सबै विधीसहित १४ जना पण्डित र बटुकबाट स्वस्ती बाचन गरिएको उक्त विवाहमा चार परिवारको चार स्थानमा गरिने भोज समेत एकै स्थानमा गरिएको थियो।
तर विवाहको भोजको खर्च समेत बेहुली पक्षलाई बेहोर्न बन्देज लगाईएको थियो। ‘जन्म दिएर हुर्काएको छोरी जिम्मा लगाउनु जस्तो महान कार्य अरु केहि हुनै सक्दैन त्यसैमाथि आर्थिक बोझ लगाउनु महान पाप हो,’ न्यौपानेले भने।
बेहुली पक्षले बेहुलीलाई विदाई संगै बेहुला पक्षलाई गरिने टिकाटालो र दक्षिणा दिन रोक थियो। त्यसको साटो बेहुला पक्षबाट सबै जन्तीलाई रामनामी खादा, रुद्राक्ष माला र श्रीमद्भागवत गिता पुस्तक उपहार दिईयो।
‘धनले मानिसलाई लोभ र पाप कर्ममा उन्मुख गराउँछ पवित्र गिता र रुद्राक्षले मानिसलाई ज्ञानी र सत्कर्ममा लाग्न प्रेरणा दिन्छ। हाम्रो उद्देश्य लोभ र पाप बढाउनु होईन मानिसलाई ज्ञान र सत्कर्मको बाटोमा लाग्न प्रेरणा दिनु हो,’ न्यौपानेले तर्क गरे।
ज्योतिषशास्त्रमा आचार्य गरेका न्यौपाने र शिक्षा संकायमा अंग्रेजी विषयबाट मास्टर्स गरेका भण्डारी दुवैले स्थानीय लुम्बिनी टेलिभिजनमा धार्मिक कार्यक्रम समेत संचालन गर्दछन् भने बेहुली दुवैले व्यवस्थापनमा स्नातक गरेका छन्।
सानैदेखि सामाजिक क्षेत्रमा उत्साहित न्यौपानेले विवाहमा हुने अन्य फजुल खर्च कटाएर विभिन्न क्षेत्रमा सहयोग समेत गरेका छन्। न्यौपानेले आर्थिक रुपमा अत्यन्त कमजोर तथा जेहेन्दार दुईजना विद्यार्थी रुपन्देहीको जनजागृती मावि कक्षा ६ मा पढ्ने अर्जुन थारुलाई २५ हजार र कालिका उच्च मावि बुटवलमा कक्षा ९ मा पढ्ने रिना रैदासलाई २६ हजार रूपैयाँ प्रदान गरेका छन्।
त्यस्तै स्याङजा र पाल्पाको संगमस्थल राम्दीमा निर्माण हुँदै गरेको गौशालाको लागि १ लाख रुपैया प्रदान गरेका छन्। न्यौपानेले आफ्नो बुवा स्व. मोहनीलाल न्यौपानेको दमको कारण निधन भएको भन्दै बुवाको नाममा प्रतिष्ठान संचालन गरी दमका विरामीहरुको उपचारमा सहयोग गर्ने घोषणा समेत गरेका छन्।
हाम्रो चाहना अभियान र उत्साह, गहना र दाईजो रहित आध्यात्मिक विवाह भन्ने नारासहित सम्पन्न भएको सो विवाहमा विभिन्न क्षेत्रका व्यक्तिहरुबाट साहित्यीक, सांस्कृतिक एवं आध्यात्मिक प्रवचन समेत गरिएको थियो।
सो विवाह कार्यमा अखिल भारतीय हरीव्यासी निर्वाणी अखडा वृन्दावनका नारायणदास नागाजी, कौशिकजी महाराज, गोव्रती योगी सोमराजजी महाराज, कृष्ण गण्डकी आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष्ँ चैतन्य कृष्ण, धर्म जागरण अभियानका संयोजक शंकर पाण्डे लगायतले धार्मिक प्रवचन दिएका थिए।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget