‘स्लो’ इन्टरनेट चल्नेमा नेपाल विश्वकै दोस्रो, कहिले होला ‘फास्ट’?

 काठमाडौं, फागुन २६
सेवाग्राही ठगेको भन्दै इन्टरनेट प्रदायक कम्पनीमा छापा मार्ने प्रहरीको तयारी
इन्टरनेट सुस्त गतिमा चल्ने देशहरुमध्ये नेपाल विश्वकै दोस्रो नम्बरमा पर्छ। करिब २२ वर्ष अघि नेपाल इन्टरनेटका मार्फत् विश्वसँग जोडिन पुगेको हो। पछिल्लो समय नेपालमा इन्टरनेट प्रदायक कम्पनीहरु एक दर्जनभन्दा बढी छन् तर आधादर्जन जतिले मात्र सेवा दिइरहेका छन्।
२५६ एमबिपिएस स्पीडको इन्टरनेट जोडेकोमा त्यसको आधा स्पीडमा पनि नचल्ने भन्दै सेवाग्राहीले धेरै नै गुनासो गर्ने गरेका छन्। नेपालमा अहिले वल्र्डलिंक, सुविसु, भायानेट, वेभ सर्र्फर, ब्रोडलिंक, आइटेललगायतका कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् ।
ग्राहकको गुनासोको विषयमा कुरा गर्दा उनीहरु इन्टरनेटको गतिमा कुनै पनि समस्या नभएको दाबी गर्छन्। नेपालमा झन् लोडसेडिङको बेला धेरै नै सुस्त गतिमा चल्ने गरेको छ। कहिले काँही प्रविधिक समस्याका कारण मात्र प्रयोगकर्ताले समस्या खेप्नु परेको तर सेवाग्राहीले माग गरे बमोजिमको स्पीडमा कमी नआएको कम्पनीहरुको दाबी छ।
सेवाग्राहीले भने बिहानभन्दा साँझ इन्टरनेट नै नचल्ने गरेको बताउँदै आएका छन् । जावलाखेलका अमित महर्जनले आफूले साँझपख कहिल्यै सहज तरिकाले इन्टरनेट चलाउन नपाएको गुनासो गरे।
‘लोडसेडिङ भएको समयमा पनि हामीले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएका छौँ,’ भायानेटका म्यानेजर अजिज श्रेष्ठले भने, ‘फाइबर अप्टिक्स भएका कारण लोडसेडिङले खासै असर पारेको छैन।’ उनले ग्राहकले भने बमोजिमकै स्पीडमा नेट प्रदान गरेको दाबी गरे।
‘हाम्रो समस्या भनेको कहिलेकाँही हुने प्राविधिक गडबडीमा मात्र हो,’ उनले भने, ‘यस्तो समस्या भएमा हामी ग्राहकलाई खबर गर्छौँ। साथै कुनै कारणले इन्टरनेटको केबल चुँडिएमा भने स्थिति हेरेर समस्याको समाधान गर्ने गरेका छौँ।’
आइटेलले पनि लोडसेडिङका कारण केबल र फाइबर इन्टरनेट प्रयोगकर्ताले हालसम्म कुनै प्रकारको समस्या भोग्नु नपरेको बताएको छ। आइटेलका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटमा कुनै समस्या भएमा मात्र हाम्रा ग्राहकलाई केही असहजता हुन्छ। नत्र भने कुनै प्रकारको समस्या छैन।’
केबल इन्टरनेट प्रयोगकर्ताले भने ‘ब्याकअप’ समस्याका कारण कहिलेकाँही अप्ठ्यारो हुने उनले बताए। ‘बत्ती नभएका बेला केबल इन्टरनेटमा कहिलेकाँही समस्या हुने गरेको छ’ सुबिसुकी सुपरभाइजर संगीता खड्काले भनिन्, ‘अप्टिकल फाइबर इन्टरनेट प्रयोग गर्दा समस्या छैन। प्राविधिक कारणले मात्र ग्राहकलाई समस्या हुन्छ। लोडसेडिङ बढेपछि धेरै जसो ग्राहकले इन्भर्रटर प्रयोग गर्दै आएका छन्। त्यसैले कुनै खासै समस्या छैन।’
साथै कम्पनीसँग १० घण्टासम्मको ब्याकअप सुविधा भएका कारण प्रयोगकर्ताले कुनै प्रकारको समस्या झेल्नु नपर्ने खड्काले बताइन्। उनले भनिन्, ‘कुनै कारणले केबलमा समस्या आएमा पर्याप्त जनशक्ति भएका कारण छिटो भन्दा छिटो समस्या समाधान गर्न हामी तत्पर छौँ। कुनै पनि प्रकारको समस्याको हामी २४ घण्टा भित्र नैसमाधान गर्छौँ।’
‘लोडसेडिङले सेवामा खासै असर गरेको छैन,’ वल्र्डलिंककी रिजु शाक्यले भनिन्, ‘नाकाबन्दीका समयमा केही असहता भएको थियो। हाल हामी जेनेरेटरले ब्याकअप दिइरहेका छौँ। प्रयोगकर्ताले पनि राउटर चलाउन इन्भर्रटरको प्रयोग गर्ने गरेका छन्।’
‘ब्याकअप भएका कारण इन्टरनेट सेवा दिन त्यस्तो खासै समस्या छैन,’ वेबसर्फरका संचित खड्काले भने, ‘हामीले निरन्तर सेवा दिँदै आएका छौँ।’ इन्टरनेट प्रदायक कम्पनीहरुले सेवामा समस्या नभएको र कहिले काँही प्राविधिक समस्या मात्र आउने गरेको दाबी गरेपनि सेवाग्राही भने उनीहरुको सेवाबाट सन्तुष्ट छैनन्। पैसा खर्च गरेर नेट जोडेपनि आफुले चाहे जति स्पीडमा नचलेका कारण दिक्क भएका छन्।
एउटा ग्राहकलाई दिएको लाइनबाट नै अर्को ग्राहकलाई सोही स्पीडकोसेवा दिने गरेका कारण सुस्त हुन पुगेको एक इन्टरनेट प्रदायक कम्पनीमा काम गरेर हाल कतारमा रहेका एक नेपालीले भने।
उनले इन्टरनेट प्रदायक कम्पनीहरुलाई अनुगमन गरी यस्ता प्रकारका काम बन्द गर्नुपर्नेमा सबैको ध्यान जानु पर्ने बताए।
उपभोक्ता ठगेको आरोपमा केही कम्पनीमाथि सेवाग्राहीले कारबाहीको माग गर्दै प्रहरीमा समेत उजुरी दिएका छन् । इन्टरनेट प्रदायक संस्थाहरुमा प्रहरीले छिट्टै छापा मारेर इन्टरनेट स्लो हुनुको कारण माग गर्ने तयारी गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget