भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु ।
‘पुलिसको लठ्ठी कति तगडा
खुल्लामञ्च नै बन्दछ
छैन झगडा ।’
पञ्चायतकालीन दिन थियो त्यो । र, प्रहसनमा महजोडीले यति भन्दा दर्शक दीर्घबाट करतल ध्वनि गुञ्जन्थ्यो ।
अहिले परिवेश बदलिएको छ । खुल्लामञ्च बन्द छैन । त्यो कांग्रेस पार्टी जस्तै चौतर्फी ‘ह्वाङ्ग’ छ । आस्थाको काँडेतार उहिल्यै चुडिएको हो कांग्रेसमा । र, त नास्ताको मनोवृत्तिले यत्र तत्र सर्वत ‘कांग्रेस –झगडा’ छताछुल्ल छ । कांग्रेसीहरूको प्याज छोडाउने नियति देखेर दर्शकहरूको आँखाबाट वलिन्द्र आँसुका धारा चुहिसक्यो । तर, उनीहरू निर्मग्न वाद–विवाद र प्रतिवाद जन्माइरहेका छन् ।
कांग्रेसीहरूको पछिल्लो अवस्था देख्दा लाग्छ यस्तो–उनीहरूमा महाधिवेशनको ‘चटारो’ छैन । नीति छाडेका कांग्रेसीहरू त्यसैकारण आ–आफ्नो नेताको खोजीमा धु्रविकृत भएर महासकस व्यहोर्दैछन् । राजधानीका पार्टी प्यालेसहरूमा विहे र व्रतवन्धको हतारो देखिदैन । जहाँ गयो त्यही ‘जयनेपालधारी’हरू नेता दाइहरूको आतिथ्यमा ‘दाइँ’ गरिरहेकै पाइन्छन् ।
यस्तो थिएन र हैन कांग्रेस । नीति, विचार र सिद्धान्तमा अडिग थिए पहिले कांग्रेसी । परिवर्तन सूचक जुनसुकै आन्दोलनमा उनीहरूको सहभागिता होइन, नेतृत्व नै थियो । यो बाजेले खाएको घ्यु नातीको हातमा खोजिने उदाहरण होइन । अहिले कांग्रेसमा इतिहास धुमिल गारउने चेष्टा र चिन्तनले बास गरेको छ । कांग्रेस कोइराला, देउवा (कोदे) संस्कृतिमा ‘तीनपाने’ पार्ने काममा उद्दत छ ।
पौडेल र सिटौलालाई सुजाता–स्वीकार्य थिइन भने देउवामा सर्वसम्मत हुन सक्थ्यो । यसो किन गरिएन ? यसैमा ‘गाँठी’ कुरो छ । र, त्यो गाँठी कुरो हो– कांग्रेसमा स्वाभिमान खोजिदैन । कांग्रेसीहरूलाई सर्वहिताय चाहिएको छैन । कांग्रेसमा ‘अंश र वंश’को खोजी नै प्राथमिकता पर्छ ।
नहुनु पथ्र्यो यो । दुर्भाग्य यही भइरहेछ । हिजो कोठामा सीमित कोदे–संस्कृति अहिले मापसे मनोवृत्तिले सडकमै ढुलमुलाइरहेछ । भन्नु अलि दुःखद छ–पार्टी सभापति सुशील कोइरालाको निधनपछि पनि कतिपयलाई ‘कोइराल’ नभइ भएको छैन । अनि केहीले परिमार्जित देउवा–स्वरुपमा पनि रुग्ण मानसिकताले देखावटी–टिप्पणी गरिरहेका छन् ।
कोइराला रहेनन् अब । त्यसपछि पौडेल भएको भए ठिकै हुन्थ्यो । अथवा सिटौला–समर्पणमा के कमी थियो ? पौडेल र सिटौलालाई सुजाता–स्वीकार्य थिइन भने देउवामा सर्वसम्मत हुन सक्थ्यो । यसो किन गरिएन ? यसैमा ‘गाँठी’ कुरो छ । र, त्यो गाँठी कुरो हो– कांग्रेसमा स्वाभिमान खोजिदैन । कांग्रेसीहरूलाई सर्वहिताय चाहिएको छैन । कांग्रेसमा ‘अंश र वंश’को खोजी नै प्राथमिकता पर्छ ।
यी हरपहरू लेखिरहँदा केही समयअघि सह–महामन्त्री पदबाट राजीनामा दिएका नेता पूर्णबहादुर खड्कालाई सम्झनैपर्छ । खासगरी पार्टी पद्धतिका खातिर, निष्ठाका दृष्टिकोण र वचनवद्धताका अर्थमा नेता खड्काले आफ्नो ‘धर्म’ निर्वाह गरेका थिए । उनले किन, के का लागि यसरी पदत्याग गरे ? कांग्रेस–वृत्तमा यसमाथि मन्थन भएन । हो, यहीनेर कांग्रेस र कांग्रेसीहरूको कमजोरीको भेद खुल्छ ।
वास्तवमा कांग्रेस ‘दास, आस र त्रास’ त्रिकोणको सहवासले चलेको छ । देखेको कुरा बोल्नै नसक्ने, बोलेको कुरामा अड्नै नसक्ने र अडेको धरातलमा टिक्नै नसकेर कांग्रेस र कांग्रेसीहरू विग्रेका हुन् । पार्टी नीति र नेतृत्व चयनको प्रसङ्ग होस् या व्यवस्था परिवर्तनका मुद्दामा नै किन नहोस्, उनीहरूले आ–आफ्नो सुरक्षामा पार्टीलार्ई असुरक्षित बनाइरहेका छन् । बाघ–बाख्रा र घाँस जस्तो समूहमा रहने तर कसको अनुपस्थितिमा कसलाई कसरी आफूले खाने उनीहरू यस्तै दाउ र ताकमा छन् । पात्र र प्रवृत्तिका दृष्टिले सिटौला–बाघ, पौडेल– बाख्रा र सुजाता–घाँस जस्तै देखिएका छन् । एकले अर्काको अस्तित्व नस्वीकार्ने र एकले अर्कालाई सक्न कुनै कसर बाँकी नराख्ने यी पात्र र प्रवृत्तिलाई सहज पूल तार्ने सूत्र र सम्वाहक देउवा मात्रै हुन सक्ने अवस्था सिर्जित भएको छ । यस तथ्यलाई जतिसक्दो छिटो कांग्रेसीहरूले खुल्लामञ्चदेखि भृकुटीमण्डपसम्म स्वीकार्छन्, त्यति नै चाँडो कांग्रेस नवीन आयाम र आयतनमा फैलनेछ ।
ratopati
Post a Comment