२ दिनमै ‘ड्रिम्स’को कारोबार १ करोड ७० लाख,अाखिर के छ, के छैन त फिल्ममा ?

अधिकांश चलेका भनिएका चलचित्रको ‘लाइफ टाइम बिजनेश’ होे, १ करोड ७० लाख । चलचित्रले १ करोड ७० लाख ग्रस कलेक्शन गर्दा निर्माता त्यसलाई हिट भएको मान्छन् ।
तर, शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम्स’को व्यापार २ दिनमै १ करोड ७० लाख पुगेको छ । हुनत, वितरक गोविन्द शाहीले २ दिनमा २ करोड ३५ लाखको ग्रस कलेक्शन भएको बताइरहेका छन् । तर, चलचित्रले शुक्रबार र शनिबार आक्रामक व्यापार गर्दै १ करोड ७० लाखको कारोबार गरेको छ ।
शुक्रबार काठमाण्डौमा ४० लाखको हारहारीमा व्यापार गरेको यो चलचित्रले मोफसलबाट २६ लाख कमाएको छ । शुक्रबार ६६ लाखको व्यापार गरेको चलचित्रले शनिबार देशैभरका हलमा हाउफुलका साथ आक्रामक व्यापार गर्‍यो ।
शनिबार चलचित्रले काठमाण्डौबाट करिब ६० लाखको कारोबार गरेको वुझिएको छ । जसमा गोपिकृष्ण हलबाट मात्र १५ लाख हारहारीको योगदान छ । काठमाण्डौ बाहिरबाट ४५ लाखको व्यापार गर्दै चलचित्रले १ करोड ५ लाख कमाएको छ । दुई दिनमा १ करोड ७१ लाखको व्यापार गर्दै चलचित्र ब्लकबस्टर हुने गतिमा अगाडि बढेको छ ।
नायक भूवन केसीले निर्देशन गरेको यो चलचित्रले इनिसियल व्यापार गर्नुको पछाडि नायक अनमोल केसीको यूवापुस्तामा देखिएको क्रेज नै हो । अनमोललाई हेर्नकै लागि मल्टिप्लेक्सदेखि सिंगल हलमा दर्शक उर्लिएका हुन् ।
के छ हेर्नलायक ?
चलचित्रको राम्रो पक्ष भनेको यसको संवाद हो । पटकथा तथा संवाद लेखेका सामिप्यराज तिमिल्सिनाले दर्शकलाई होल्ड गर्ने खालका संवाद लेखेका छन् । यसैले पनि थुप्रै स्थानमा चलचित्र चिप्लनबाट जोगिएको छ । चलचित्रको छायांकनलाई उत्कृष्ट मान्नुपर्छ । मुस्ताङदेखि पाँच तारे होटललाई गजबले खिचिएको छ ।
साम्राज्ञीको अभिनय, अनमोलको लुक्स
यदि, यो चलचित्र हेर्नुअघि दर्शक अनमोल केसीको फ्यान थिए भने हेरिसकेपछि नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि फ्यान हुनेछन् । चलचित्रमा ६० प्रतिशत भन्दा बढी आधिपत्य उनकै छ । नयाँ नायिका भएर पनि उनले जुन शैलीको अभिनय र संवाद बोलेकी छिन्, गजब छ । नेपाली चलचित्रले एक नयाँ नायिका पायो भन्दा फरक नपर्ला ।
नायक अनमोल केसीलाई अभिनय गर्न आउँदैन भन्नेहरु धेरै छन् । हुनत, अनमोल अभिनय भन्दा पनि लुक्सका कारण स्टार भएका हुन् । अनमोलले अभिनयमा अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
अभिनयका हिसाबले अनमोललाई नायिका साम्राज्ञीले उछिनेकी छिन् । तर, हलमा हुटिङ गर्न र कराउनका लागि यूवतीहरुलाई अनमोलको लुक्स नै काफी देखिएको छ ।
के पुगेन ?
चलचित्र २ घन्टा १५ मिनेटको छ । यदि, यो चलचित्रलाई मिहिनेत गरेर सम्पादन गरिएको भए यसको लम्बाई करिब २ घन्टाको हुन्थ्यो होला । चलचित्रका केही दृश्य धेरै लामा लाग्छन्, जसले पट्यारिलो बनाइदिन सक्छ । अनमोल र साम्राज्ञीकै वरिपरी घुमेको यो चलचित्रमा अन्य पात्रलाई रोचक तरिकाले  प्रयोग गर्न सकिन्थ्यो ।
लभ स्टोरी चलचित्रमा दर्शक होल्ड गर्न त्यती सजिलो छैन । होटलका दृश्य धेरै, विदेशी पाहुनासँगका धेरै संवाद नराखिएको भए पनि हुन्थ्यो । चलचित्रको दोश्रो पाटोमा मात्र ‘डि्रम्स’को अर्थ सार्थक बनाउन खोजिएको छ । अनमोलले २ वटा सपना देखेको भनिएको छ ।
तर, एउटा सपनालाई मात्र महत्वका साथ देखाइएको पाइन्छ । अनमोलले देख्ने सपनालाई पहिलो हाफमा पनि केही महत्व दिएको भए राम्रो र दर्शकमा उत्सुकता हुन सक्थ्यो । गीतसंगीत चलचित्रमा हेर्दा राम्रा छन् तर उत्कृष्ट होइनन् ।

किन हेर्ने ?
चलचित्रको जुन खालको चर्चा र परिचर्चा चल्नु अगाडि छ, त्यसले दर्शकमा ठूलो आशा भरिनु स्वभाविक हो । अनमोलको लुक्स र स्टाइल, साम्राज्ञीको अभिनय, रोचक र मनछुने संवादका लागि तपाई यो चलचित्र हेर्न सक्नुहुन्छ ।
भूवन केसीले भने जस्तै यो चलचित्र हलिउड र बलिउड शैलीको होइन, नेपाली आधुनिक शैलीको छ । अनमोलका फ्यानका लागि यो चलचित्र उत्कृष्ट हुनसक्छ । सामान्य दर्शकले लोकेशन, नायिकाको अभिनय, सामिप्यराज तिमिल्सिनाको संवादबाट नै मनोरञ्जन लिन सक्छन् ।
onlinedailypost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget