गगन थापाको घोषणाः अब मलाई युवा नेता नभन्नोस्



पश्चाताप लागेको छैन, सभापति र महामन्त्रीलाई सहयोग गर्छु
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित युवा नेता गगन थापाले अब आफूलाई नेपाली कांग्रेसको ‘युवा नेता’ नभन्न आग्रह गरेका छन् ।
कांग्रेस नेता थापाले अनलाइनखबरसँग भने- ‘मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन ।’
महामन्त्रीको चुनावमा आफूले विश्वास गरेका मान्छेहरुले पनि धोका दिएको तर, सम्पर्क नै नभएका कार्यकर्ताबाट सम्माजनक भोट पाएको भन्दै मतदान गर्नेहरुलाई उनले धन्यवाद दिएका छन् ।
महामन्त्रीमा पराजित भएपछि थापाले के सोचिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर अनलाइनखबरले थापासँग गरेको कुराकानी:
महामन्त्रीको मत परिणाम घोषणा हुँदा मतगणनास्थल सानेपामा देखिनुभएन, त्यसबेला कहाँ हुनुहुन्थ्यो ?
बिहान १० बजे उम्मेदवारहरुको बैठक थियो । बैठकमा बसें । अनि प्रतिनिधिहरुलाई जिम्मा लगायौं र म घर फर्किएँ । घरमा म सुतिरहेको थिएँ । तीन चार दिनदेखि सुत्न पाएको थिइँन ।
पहिलो तीन सय मतको गणना पछाडि एसएमएस आयो, त्यसपछि म उठें । मेरो ७१ मत छ भनेर म्यासेजमा लेखिएको थियो र अरु प्रतिस्पर्धी साथीहरुको पनि मत थाहा पाएँ । त्यसपछि घरमै  बसेर फलो गरिराखियो ।
मतगणना हुँदै गर्दा जित्छु भन्ने आश थियो ?
मलाई त मतदानकै दिनबाट आश थिएन । किनकि मतदानका लागि जाने प्रतिनिधिहरुले जसरी मेरो हात समात्थ्यो र भन्थ्यो । मप्रति एकदमै ठूलो विश्वास थियो, स्नेह थियो । तर, उसका संकेतहरुले भोट हाल्न चाहिँ सक्दैन है भनेर बताइरहेको थियो ।
अझै केही दिन कुरौं, थुप्रै घटनाहरु सार्वजनिक हुनेछन्, थुप्रै कथाहरु बाहिर आउन बाँकी छ । कांग्रेसको महाधिवेशनको धेरै कथाहरु लेखिनेछन्
पार्टीभन्दा बाहिरको जुन लोक छ, समाज छ, जनता छ, त्यसले तेरो यो तयारी पनि अलि ढीलो भो भन्यो । सबैभन्दा अगाडि जनता छ, समाज छ । म त्यसलाई अलिअलि पछ्याउँछु । तर, मेरो पार्टीपंक्ति चाहिँ तयार भइसकेको रहेनछ भन्ने मतदानकै दिन मैले मेसो पाएँ ।
खालि एउटा कुरा के थियो भने नेपाली कांग्रेसका प्रतिनिधिहरुले मनमा लागेको कुरा गर्न सक्लान् कि नसक्लान् भन्ने थियो । सामान्य रुपमा हेर्दैगर्दा गर्न सक्ने अवस्था छैन भन्ने देखिन्थ्यो । गर्न सके भने चमत्कार भइहाल्यो । अन्यथा म धेर थोर चाहिँ यो निर्णयका लागि तयार थिएँ ।
यद्यपि मेरो अपेक्षा चाहिँ योभन्दा बढी आउँछ भन्ने थियो । तर, अहिले मतदान पछाडिका जुन-जुन परिवेशहरु देखिँदैछन्, अनफोल्ड हुँदैछन् घटनाहरु । नयाँ-नयाँ ‘कम्बिनेसन’का बारेमा जे-जति जानकारीहरु बाहिर आइरहेको छ, मैले पनि थाहा पाइरहेको छु । अहिलेचाहिँ म एकदमै अवाक् के कुरामा छु भने त्यो मत कहाँबाट आयो ?
उसोभए नतिजाका लागि तयार हुनुहुन्थ्यो ?
हो, म धेर थोर तयार नै थिएँ । मेरो अपेक्षा चाहिँ ८ सयसम्म भोट आउँछ कि भन्ने थियो । मलाई के लाग्छ भने पछिल्ला दुई दिनमा यो पार्टीभित्र जुन निकृष्ट ढंगबाट क्याम्पियन गरियो, आफू जित्नका लागि लडेकै होइन, आफै उम्मेदवार भएकै होइन भन्ने ढंगबाट पूरै एकप्रकारको दलाली राजनीतिक प्रवृत्ति देखाइयो ।
तपाईले गर्नु भएको संकेत अरुका लागि उठेकोदेखि एजेन्टसम्मको आरोपप्रति हो कि ?

हाम्रो पार्टीमा यो नयाँ होइन । म आफैले पटक-पटक सामना गरेको छु । मैले दरबारदेखि अमेरिकन एजेन्टको आरोपको सामना गरेको छु । चाइनिज भन्न मात्र बाँकी छ । तर, दुर्भाग्य हाम्रो पार्टीमा केही समय काम गर्छ । त्यसको पनि केही प्रभाव रहृयो होला । त्यसैले मैले सोचेको भन्दा कलिकति थोरै मत आयो कि भन्ने लाग्छ ।
तर, यो दुई दिनमा मैले जे जति कुराहरु थाहा पाएको छु, सूचना पाएको छु, मैले वर्षौंदेखि मेरो सम्वन्ध भएको, मेरो यो लडाइँमा साथ दिन्छ भनेका मान्छेहरु मलाई छाडेर भागेको पाएँ । त्यसबाट आई एम हृयापीली सरप्राइज । वाफ रे वाफ, यस्तो बेलामा मैले ६ सय मत पाएँ । यो मत दिनेमध्ये ४ सय मान्छेलाई म प्रत्यक्ष चिन्दिँन । अथवा मसँग वर्षौंदेखि संगत गरेका, मसँग उठवस गरेका मान्छे होइनन् ।
यस्तो बेलामा मैले महामन्त्रीको प्रयास गर्दै गर्दाखेरि पाएको मत हेर्दा साथीहरुले एकदमै ठूलो विश्वास गरेको रुपमा लिएको छु, नयाँ साथीहरुले पनि जोखिम लिएको भन्ठान्छु ।
भनेको, जसबाट अपेक्षा गर्नु भएको थियो, उनीहरुको साथ पाउनुभएन । बरु तपाईले हिसाव-किताव गर्दा नजोडिएकाहरुले मत दिए ?
धेरै हदसम्म । जस्तो-पार्टीका कतिपय युवा साथीहरु थिए, जसले लामो समयदेखि युवा राजनीतिको कुराकानी गर्थे । ती साथीहरु कोही पनि जोडिन तयार भएनन् । कतिपयले त खुलेर असहयोग नै गरे ।
यस्तोखालको लडाइँमा अर्को मान्छेको ठूलो बल भनेको परिवार हो । मेरो परिवार विभाजित थियो । जुन न्याचुरल थियो र मेरो च्वाइसले नै त्यो हुन्थ्यो । त्यसको सम्पूर्ण ताकत मैले पाउन सकिनँ ।
यो सबैको बीचमा मैले बदर भएकोसहित हेर्दा ६ सय प्लस मत पाएको छु । त्यसैले म बाहिरका साथीहरुलाई के आग्रह गर्छु भने कांग्रेसमा मैले पाएको मत र पराजयलाई कांग्रेसभन्दा बाहिरबाट हेर्दै गर्दा उनीहरुलाई निराश बनाएको पाएको छु । कांग्रेसलाई नजिकबाट हेर्‍यो भने यो निराश हुनुपर्ने मत होइन ।
मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन
यो जोखिमलाई सम्मान गर्नेको सङ्ख्या, बाहिरका साथीहरुको स्नेह नभएको भए र म नभएको भए कांग्रेसभित्र यस्तो जोखिम लिँदैगर्दा हामीले प्राप्त गर्ने मत भनेको १०० मत हो  । योबेला मैले २० प्रतिशतको हाराहारीमा मत पाएको छु ।
अझै केही दिन कुरौं, थुप्रै घटनाहरु सार्वजनिक हुनेछन्, थुप्रै कथाहरु बाहिर आउन बाँकी छ । कांग्रेसको महाधिवेशनको धेरै कथाहरु लेखिनेछन् । त्यसले थप के पुष्टि गर्नै लैजान्छ भनेदेखि मैले जुन विवेकको मत प्राप्त गरेको छु, यो सम्मानजनक मत नभई यसले भविश्यप्रति उत्साहित बनाउँछ ।
उसोभए रिजल्टबाट खुसी नै हुनुहुन्छ ?
हो । पार्टीका साथीहरुले मप्रति गर्नुभएको विश्वास, मैले प्राप्त गरेको मतको जति महत्वपूर्ण  छ, त्यहाँ व्यक्त गरिएको स्नेह पनि महत्वपूर्ण छ । महाधिवेशनस्थलमा मलाई कतिपयले भन्नुभो कि तपाईँले हतार गर्नुभो ।
तर, तपाईँले कुनै दिन यो पार्टीको नेतृत्व गर्नुपर्छ पनि भन्ने हो । कतिपयले मलाई बडो स्नेहका साथमा भने कि पारिवारिक मूल्य मान्यताले ठूलो अर्थ राख्छ, यसलाई सम्मान गर भन्नुभो । उहाँहरुले माया गरेर भन्नुभएको थियो । त्यसलाई मैले निक्कै सकारात्मक रुपमा लिएँ ।
कतिले अघिल्लोपटक मत हालेको हुँ, फेरि पनि हाल्छु । यो पटक मन हुँदाहुँदै गर्न सकिएन सरी पनि भन्नु भो । धेरैले मलाई के भन्नुभो भने तपाईलाई भोट हालिँन भने त मलाई घरमा छोराछोरीले मार्छन्, गाउँगाउँबाट नेविसंघका केटाहरुले फोन गरेर मलाई भोट गर्न दबाब दिएका छन् पनि भने ।
यसबाट मैले के बुझ्ने त ? मैले पाएको मतभन्दा ठूलो त्यो छ । कहीँ न कहीँ त मलाई नेपाली काँग्रेसभित्रको मान्छेले मलाई स्पेस दिएको छ नि त ।
यो पोजेटिभ फ्याक्टरको कुरा भो । नेगेटिभ फ्याक्टरका रुपमा विशेष गरी पारिवारिक कुराहरु जोडेर कतिपयले नकारात्मक टिप्पणी पनि गरे । तपाईलाई गलत निर्णय गरेंछु भन्ने लागेन ?
मैले उम्मेदवारी उदघोष गर्ने बेलामा जे कुरा भनेको थिएँ नि, अहिले पनि त्यही कुरा ठान्दछु । मैले मेरो आफ्नो राजनीति अगाडि बढाउँदै गर्दा यसले मलाई व्यक्तिगत रुपमा के दियो र के दिएन भन्ने भन्दा पनि मेरो राजनीतिक निर्णयहरुले नेपाल र नेपालीलाई कति योगदान पुर्‍याउन सकेँ भन्ने नै मेरा लागि अर्थपूर्ण रहन्छ ।
त्यसैले मैले यो जोखिम उठाँउदै गर्दा यसले नेपाली कांग्रेसलाई मद्दत पुर्‍याउँछ र प्रकारान्तरले नेपाली कांग्रेसको हितमा काम गर्ने कुरामा यो जोखिमले मद्दत नै पुर्‍याउँछ भन्ने ठानेरै मैले अठोट गरेको हुँ ।Gagan Thapa (5)
अठोट गर्दै गर्दा यो सानो कुरा थिएन । म ठूलो मानसिक तनावबाट गुज्रिएँ, अहिले पनि गुज्रिरहेको छु । मलाई निश्चय पनि पीडाबोध भएको छ यस अर्थमा कि यो जोखिम उठाउँदै गर्दा मैले आफ्नो छोराको धर्म पनि निर्वाह गर्न पाएको भए मलाई आनन्दको अनुभुति हुन्थ्यो । यो मलाई आजपनि लागेको छ, भोलि पनि लाग्छ ।
तर, मलाई मैले गरेको निर्णयप्रति पश्चाताप छैन । किनकि कांग्रेस पार्टी एकदमै कर्मकाण्डी ढंगले चल्ने, जनताको जीवनसँग युगको चाहनासँग बेसरोकार भएर आन्तरिक रुपमा चल्ने कुरालाई च्यालेन्ज गर्नुपर्छ । र, मेरो उम्मेदवारीले यसैलाई च्यालेन्ज गरेको छ ।
अर्को, यो चुनावी परिणामले गगन थापाको अवसान सुरु भयो भन्नेहरु पनि देखिए । तपाई मान्नुहुन्छ ?
म त्यो पटक्कै मान्दिँन । मसँग भएका विकल्पका आधारमा हेर्दा म कांग्रेसको १३औं महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य भएको भए त्यसको चार-पाँच बर्षसम्म मैले केही गर्न सक्दिनथेँ । १०/१० बर्षसम्म केन्द्रीय समितिमा बसेर केही पनि गर्न नसक्दा पो ‘डाउनफल’ हुन सक्यो ।
अहिले त मैले उठाएको जोखिमले समर्थन पाएको छ । कांग्रेसको  राजनीति र यसको  संरचनालाई नबुझ्दै गर्दा यति मत मात्र पायो भन्ने हुन्छ । तर, यो बुझ्दै गर्दा यो अभूतपूर्व सफलता  भन्ने हुन्छ । यो मैले एक्लै पाएको मत हो । हुन त हामीले एउटा समुह बनाएर लड्यौं । तर, मेरो कारणले गर्दा कृष्ण सिटौलालाई र उहाँका कारण मलाई धेरै सहयोग भएको देखिएन । उहाँले आफ्नो लडाई लड्नु भो मैले आफ्नो लडाई लडेँ । र, एउटा सम्मानजनक हैसियत मैले प्राप्त गरेँ । म थाकेँ, गलेँ र अहो म हारेँ बर्बाद भो, केन्द्रीय सदस्यमा उठेको भए आनन्दसँग चुनाव जित्थेँ, अब त केन्द्रीय सदस्य पनि छैन भनेर गएँ भने पो मेरो डाउनफल सुरु भयो ।
अर्कोकुरा, मैले कांग्रेसभित्र जहिले पनि थोरै अवसर पाएको छु । हिजो विद्यार्थी संगठनमा काम गर्दै गर्दा मैले नेविसंघको अध्यक्ष हुने अवसर पाइनँ । पार्टीभित्र मलाई स्नेह गरेर कसैले स्थान दिएको होइन, आफैँले बनाउँदै लगेको हो । त्यसैले सबैभन्दा ठूलो मेरो तागत भनेको के हो भने पार्टीभन्दा बाहिरको उल्लेख्य जनसमर्थन, जनविश्वास हो र जुन दिन त्यो एकदमै घट्यो भने त्यो दिन चाहिँ गगन थापा सकियो ।
मैले पार्टीभित्र महामन्त्री नै पाए पनि अर्थ रहँदैन । तर, मैले त्यो कायम राख्न सकेँ भने, मेरो व्यवहारबाट कायम राख्न सकेँ भने सानोतिनो हावा हुण्डरीकै भरमा गगन थापा बर्बाद हुँदैन ।
आजको दिनसम्म चाहिँ तपाईले पार्टी बाहिरबाट पाएको त्यो जनसमर्थन र जनविश्वास कायम छ जस्तो लाग्छ ?

स्वाभाविक रुपमा छ । हिजो सडकमा आन्दोलनको प्रतिकका रुपमा काम गर्दै गर्दाको भन्दा कम होला । त्यो आन्दोलन र त्यसले ल्याएको परिवर्तनप्रति नै मान्छेहरुको विश्वास कमजोर बन्दै गइरहेका बेलामा हाम्रो जनतामा भरोसा अत्यन्तै राम्रो छ भन्न सकिने अवस्था छैन ।
जनताको जुन आशा छ, त्यो बिभिन्न कारणले पूरा गर्न सकेका छैनौं । म सांसद छु, एउटा संसदीय समितिको सभापति पनि हुँ । तर, मान्छेको मसँगको अपेक्षा चाहिँ एउटा कार्यकारी प्रधानमन्त्री वा विपक्षी दलको नेताको जस्तो हुन्छ । म पार्टीको केन्द्रीय सदस्य छु । तर, एउटा मान्छेले मलाई प्रश्न राख्दै गर्दा कांग्रेसको पार्टी सभापतिले यस्तो निर्णय किन गरेन भन्ने प्रश्न गर्छन् ।
तर, मैले यो कसरी बुझाउने कि संसदमा बोल्नै मैले महिनौं कुर्नुपर्छ । संसदीय समितिको सभापतिले गर्ने भनेको यिनै कामहरु हुन् । त्यस्तो प्रतिकूल अवस्थामा काम गर्नुपर्ने भएकाले स्वाभाविकरुपमा समस्याहरु छन् ।
तर, मलाई के लाग्छ भने यो उम्मेदवारीको निर्णयबाट जति स्नेह पाएँ, त्यसलाई मैले सबैभन्दा ठुलो पूँजी को भन्ने ठान्छु ।
अघि तपाईले भन्नुभो, केन्द्रीय सदस्य भएको भए सहज थियो । तर, मैले च्यालेन्ज रोजें । एकछिनलाई मानौं, तपाई महामन्त्रीको उम्मेदवार नभएर एउटा गुटबाट केन्द्रीय सदस्य लडेको भए ?
मेरो लागि त सुरक्षित ठाउँ हुन्थ्यो । तर, मेरो प्रत्यत्नले कांग्रेसलाई तलदेखि माथिसम्म हल्लाएको छ, त्यो हुँदैनथ्यो । अर्को, मेरा लागि पनि लेसन हुँदैनथ्यो । किनकि म फेरि जित्थें, एक नम्बर हुन्थें । पहिला पनि भएको हो ।
तर, मलाई त कुनै दिन कांग्रेसको एक नम्बर हुने सपना छ । एउटै कक्षामा बसेर एक नम्बर हुनुभन्दा कक्षा त चढ्नु पर्‍यो नि । कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा म फेल भएँ । एउटै कक्षामा दोहोर्‍याएर पढेर प्रथम भएँ भनेर दाबी गर्नु र सन्तोष मान्नुभन्दा कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा असफल हुने कुराको अनुभव फलदायी हुन्छ होला ।
कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा म फेल भएँ । तर, अर्कोचोटि कसरी कक्षा चढ्ने भनेर सिकायो । कक्षा चढ्ने प्रत्यत्न गर्दै गर्दा फेल हुन्छु भन्ने डरले एउटै कक्षामा पढिरहने हो भने १० मा कहिले पुग्ने ? अर्को चोटि दुईमा पुग्छु, एकैचोटि पाँचमा पनि पुग्न सक्छु कि के थाहा ? म फेल भएँ सकियो भनेर आत्मविश्वास गिर्‍यो भने पो हो त । मेरो आत्मविश्वास रत्तिभर पनि विचलित भएको छैन ।
देउवा र शशांकको जीतलाई कसरी हेर्नुहुन्छ ?
म महाधिवेशनमा व्यक्त भएको मतलाई सम्मान गर्छु । महाधिवेशनबाट शेरबहादुर देउवा सभापति हुनुभएको छ, शशांक कोइराला महामन्त्री हुनुभएको छ । त्यो भर्डिक्टलाई म सम्मान गर्छु । उहाँ अब मेरो नेता हो । मैले उहाँहरुलाई सहयोग गर्ने हो र गर्छु ।
संविधान निर्माण भइसकेको छ । अब संविधानमा व्यक्त भएको मर्म अनुसार देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने वाटोमा कांग्रेसको नेतृत्वले अघि बढाउनुपर्छ भन्ने मेरो कुुरा हो । समानान्तर रुपमा विकासलाई लैजानुपर्छ । यसमा म चुनाव लडेको, म होरेेको, मैले अवरोध गर्नुपर्छ भन्ने रत्तिभर कुरा रहँदैन । पूर्ण सहयोग गर्छु ।
तर, यो भन्दा अर्को बाटोमा देशलाई लैजाने प्रयत्न कतैबाट हुन्छ र कांग्रेसको नेतृत्व त्यसमा प्रयोग हुन खोज्छ भने म चट्टानजस्तो अडिने हो ।
तपाईले भन्नु भो पार्टीको नम्बर वान बन्ने लक्ष्य छ । उम्मेदवारी दिने क्रममा नै १५ वर्षमा आफ्नो सक्रिय राजनीतिको मृत्यु घोषणा गरिसक्नु भएको छ । यो चुनावी परिणामले असर गर्‍यो वा सिकायो ?

सिकायो । मैले १५ वर्ष भन्दा देशको १५ वर्षलाई मानक मानेको हो । मैले कल्पना गरेको २०८८ सालको नेपालमा हाम्रो जेनेरेसनको मान्छे काम नलाग्ने भएको हुनुपर्छ । अर्थात नेेपाल विकास एउटा फेजमा पुगिसक्यो, त्यो भन्दा अगाडिको राजनीतिका लागि हाम्रो योग्यता नै पुग्दैन भन्ने हो ।
आजको दिन नेपालका राजनीतिज्ञलाई अमेरिकाको राष्ट्रपतिको चुनावमा लिएर गयो भने के हालत होला ? त्यो ग्लोवल पोलिटिक्सको अण्डरस्ट्याण्डिङ, अमेरिकी राष्ट्रपतिले जुन कुरा बुझ्नुपर्छ, त्यसमा हामी म्याच गर्छौं ? उभिन पनि सक्दैनौं । मैले भनेको यही हो । ०८८ को नेपालमा हाम्रो बि्रडको मान्छे म्याच नै गर्नुभएन ।
हाम्रो दक्षिण एशिया होइन, एशिया हेरिरहेको हुनेछ । त्यसपछि हाम्रो ज्ञान र क्षमताले पुग्दैन । त्यस्तो ठाउँमा नेपाललाई पुर्‍याउने हो र हामीले छोड्ने हो भन्ने सपना हो ।
अनि एउटा सानो निर्वाचनमा लागेको ठेसले मेरो २०८८ सालको सपना फेरिन थाल्यो भने के अर्थ ? नेपाललाई त्यहाँ पुर्‍याउन महामन्त्री भएको भए पनि काम गर्थेँ, महामन्त्री नहुँदै गर्दा पनि काम गर्ने हो ।
चुनाव लड्दा भने नि नेताहरुले गगन तिम्रो उमेर छ, हतार नगर भनेनन् ? तपाईले त्यो ०८८ को सपना देख्न पनि हतार गर्नु भो कि ?
मलाई लाग्दैन । यसको जवाफ मैले हैन, कांग्रेसले दिनुपर्छ । किनभने आजको दिनमा नेपाल कसले चलाएको छ भनेर हेर्ने हो भने मैले जुन पुस्ताको कुरा गर्छु, मोर अर लेस त्यही पुस्ताले चलाएको छ । विदेशमा गएर काम गरेर रेमिट्यान्स भित्र्याउनेहरु हेर्नुस्, जुन सेक्टर हेर्नुस् राजनीति बाहेक ।
अब-जब यो पार्टीले यो उमेर समूहका मान्छेले सपना देख्न पनि हतार भएको छ, जिम्मेवारी पाउन हतार भएको छ, बेला आएको छैन बाबु भनेर पार्टीमा थन्काउन मिल्यो । जब तपाई ६०/६५ प्रतिशत त्यही उमेर समूहको मान्छेसँग मत माग्न जानुहुन्छ, तपाईलाई प्रश्न गर्छ । तपाईँले हामीलाई योग्य ठान्नुहुन्न ? हतार भो भन्नुहुुन्छ । तपाईँलाई हामीले मत किनदिने भन्यो भने के जवाफ दिने ?
किनकि विषय मेरो मात्र होइन, अहिले कांग्रेसको केन्द्रीय समितिमा आउँदै गरेको रिजल्ट हेर्नुभयो भने आउने सम्भावना भएका २/४ जना साथीहरु पनि सबै मेरो दाइ हुन्, मेरो त सार्वजनिक आग्रह छ, म नेपाली कांग्रेसको युवा नेता होइन । युवा नेता नयाँ साथीहरु आउनुभएको छ, उहाँहरु हो ।
तपाईँ के त ?
मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन । किनकि मैले नै त्यो फेज क्रस गरेँ अब । युवा नेताको ठूलो ग्याप छ । अनि हामी जो होइनौं, उहाँहरुले हामी युवा भनेर आउनलाई छेक्ने ? ४० वर्षमुनिका खै नेता हाम्रो ? कम्तिमा छैन भन्ने थाहा भो भने ल्याउनुपर्छ भन्ने कुराको चेत खुल्ला ।
यो कुरा गर्दा उमेरको मात्र कुरा गर्‍यो भन्छन् नि
उमेरको कुरा होइन । नेपालको सन्दर्भमा राजनीतिक परिर्वतनहरुलाई मानक बनाएर हेर्ने हो भने पनि ०६२/०६३ को आन्दोलनमा सहभागी भएको, त्यसबाट सिकेको र त्यसपछि विकास भएका घटनाक्रमले छोएको हल्लाइको मान्छेले नेपाललाई हेर्ने तरिका र ०४६ सालको आन्दोलनमा जमेर काम गरेको मान्छेले हेर्ने तरिका फरक छ ।
०४६ सालको मान्छेले नेपालको दलितको मुद्दा बुझ्दैन, महिलाको मुद्दा बुझ्दैन । कति सजिलोसँग नेपालको राजनीति अर्कोतिर फर्काउनसक्छ । जति पनि राजनीतिक परिर्वतन भएको छ, यो गलत भएको छ, उसले नेपाललाई टुक्रा टुक्रामा विभाजित हुन्छ भन्छ । आत्मसाथ नै गरेको छैन ।
तर, ०६२/०६३ को परिर्वतनलाई भोगेको,  देखेको र त्यसपछि नेपाल घुमेको जमातले यसलाई बुझेको छ, आत्मसाथ गरेको छ र यसमै टेकेर नेपाललाई अघि बढाउँछ । त्यसैले मैले उमेरको मात्र गरेको होइन । तर, त्यो ०६२/०६३ को परिर्वतन बनाएका मान्छेहरु पार्टीको नेतृत्वमा छैन । त्यो एङ्गलले हेर्नुपर्छ भन्ने हो । म ०६२/०६३ आन्दोलनसँग जोडिएको मान्छे हो । म ०४६ मा कक्षा ९ मा थिएँ ।
तपाईले अब के गर्ने त ? मनोनित भए केन्द्रीय सदस्य हुने वाहेक अरु बाटो रहेन । भलै सांसद, पार्टीको नेताका हैसियतले पाउने भूमिका छ ।
एकदम सिम्पल छ । मैले यो मत परिणामबाट एउटा सम्मानजनक स्पेस पाएको छु । त्यसलाई आत्मसाथ गरेर नेपाली कांग्रेसको लोयल मेम्बर भएर मैले आफूले गर्नुपर्ने संगठनको कामहरु गर्छु । पार्टीलाई एक ढिक्का बनाउने र पार्टीको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पार्टी नेतृत्वलाई मद्दत गर्छु ।
तर, आजको दिनमा संविधानले परिकल्पना गरेको बाटोमा नेपाललाई हिँड्न नदिनका लागि कुुनै शक्ति वा ताकत लाग्ने अवस्था आयो र पार्टी नेतृत्वले रोक्न सकेन र छेक्न सकेन भने लड्छु, भिड्छु र आफ्नो जिम्मेवारी पूरा गर्छु । त्योबेलामा कुन भूमिका पाउँछु भनेर हिसाव किताव गर्दिँन । हिसाव-किताब गर्ने भए यो जोखिम नै लिन्नथेँ नि ।
मलाई लाग्छ, यो काम गर्न मलाई पार्टीका साथीहरुको स्नेह मैले पाउँछु । मान्छेले मत हाल्न सकेनन् तर, मनमा छ नि । त्यसैले मेरो प्रयास मनमा लागेको कुरा गर्न सक्ने कांग्रेस बनाउने हुन्छ । यो पटक धेरैले मन त लाग्यो तर, बाबु तिमीलाई मत हाल्न सकिँन भन्नु भो । कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर पनि मनमा लागेको कुरा गर्न सकिएन भने के मजा भयो र ?
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget