चिनियाँ राष्ट्रपति नेपाल अाउने

सी जिनपिङसी जिनपिङ
हङकङ–प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत हुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । ६ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकारनिकट स्रोतले बताएका छन्।

उदीयमान पाँच अर्थतन्त्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को समूह ब्रिक्सको अध्यक्षता गत फेब्रुअरीदेखि भारतले गरिरहेको छ । डिसेम्बरसम्म अध्यक्षता गर्ने क्रममा भारतले दिल्लीमा ब्रिक्स सम्मेलन आयोजना गर्ने तयारीमा छ । सेप्टेम्बर–अक्टोबरमा हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित ब्रिक्स राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन दिल्ली जाने क्रममा चिनियाँ राष्ट्रपतिले दक्षिण एसियाका भारत, नेपाल र बंगलादेश भ्रमण गर्ने तयारी गरिरहेको स्रोतले उल्लेख गरेका छन् । दुई वर्षअघि चिनियाँ राष्ट्रपतिले माल्दिभ्स, श्रीलंका र भारत भ्रमण गरेका थिए भने गत वर्ष पाकिस्तान गएका थिए । दक्षिण एसियाका नेपाल र बंगलादेशमा राष्ट्रपति सीको यो पहिलो भ्रमण हुनेछ ।

राष्ट्रपति ज्याङ जेमिनले १९९६ मा नेपाल भ्रमण गरेयता कुनै चिनियाँ राष्ट्रपति नेपाल आएका छैनन् । २० वर्षयता राष्ट्रपतिको भ्रमण नभएकाले यसवर्ष प्रधानमन्त्रीभन्दा राष्ट्रपति नै आउने उच्च सम्भावना रहेको स्रोतले बतायो । 'दिल्लीमा सेप्टेम्बर वा अक्टोबरमा हुने ब्रिक्स सम्मेलनमा राष्ट्रपति सी सहभागी हुनेछन्', बेइजिङस्थित विदेश मन्त्रालयनिकट स्रोत भन्छ, 'त्यसबेला भारत, नेपाल र बंगलादेश भ्रमणको प्याकेज बन्न सक्छ, नेपाल आउने सम्भावना उच्च छ ।'

अढाई महिनाअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणमा उच्चस्तरीय भ्रमणले निकै महŒव पाएको थियो । प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेर बेइजिङले त्यसपछि राष्ट्रपति सीले नेपाल भ्रमण गर्नसक्ने संकेत दिएको थियो । त्यसपछि बेइजिङ पुगेका नेताहरूसँग नेपालले उच्चस्तरीय भ्रमण कसरी व्यवस्थापन गर्ला भन्ने चासो राख्दै चिनियाँ नेताहरूले राष्ट्रपति आउने सन्देश दिइरहेका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नेपालमा प्रकाशित गर्ने 'एसिया प्यासिफिक डेली' को पछिल्लो अंकमा पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न सक्ने जनाइएको छ । ब्रिक्स सम्मेलनपछि राष्ट्रपति सी नेपाल आउने 'पूरा सम्भावना' रहेको पत्रिकाले उल्लेख गरेको छ ।

गत वर्ष व्यस्त कार्य तालिकाबीच चिनियाँ राष्ट्रपतिले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औँ र बंगलादेश–चीन दौत्य सम्बन्ध स्थापनाको ४० औं वार्षिक उत्सवको अवसरमा दुवै देश भ्रमण गर्ने अवसर गुमाएका थिए । यसवर्ष चीनका लागि ठूलो रणनीतिक महŒव राख्ने मध्यपूर्वका इरान, साउदी अरेबिया र इजिप्टबाट विदेश भ्रमण सुरु गरेका राष्ट्रपति सीले आफ्नो 'एक पेटी, एक मार्ग' रणनीति कार्यान्वयनलाई महत्व दिएका छन् ।

चीनले प्रस्ताव गरेको नयाँ सिल्करोड अर्थात् 'एक पेटी, एक मार्ग' योजनालाई नेपाल र बंगलादेशले समर्थन गरेका छन् भने भारतले औपचारिक समर्थन दिइसकेको छैन । 'एक पेटी एक मार्ग' रणनीति अन्र्तगत चीन–नेपाल–भारत त्रिदेशीय आर्थिक सहकार्यका निम्ति दिल्लीसँग पहल गर्दै तिब्बत रेलमार्ग केरुङबाट काठमाडौं विस्तार गर्ने र बिसिआइएम (बंगलादेश, चीन, भारत, म्यानमार) आर्थिक करिडोर कार्यान्वयनमा लैजाने प्रयास गर्ने राष्ट्रपति सीको यस क्षेत्रको मुख्य एजेन्डा हुन सक्नेछ ।

बेइजिङका दक्षिण एसिया विज्ञहरूले संविधान जारी गरेर नेपाल आर्थिक सुधारको एजेन्डामा प्रवेश गरेको तथा भूकम्पपछि पुनर्निर्माण र पूर्वाधार निर्माणको चरणमा रहेकाले चीन–नेपाल सम्बन्ध चाँडो प्रवद्र्धन गर्ने अवसरका रुपमा राष्ट्रपतिको भ्रमण आयोजना गर्न खोजेका छन् । तर प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा हुने सहमति–सम्झौता र त्यसपछि नेपालले गर्ने तयारी अनुसार मात्र चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका स्पष्ट हुने देखिन्छ ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget