मनाङले उचाल्यो बुढासुब्बा गोल्डकपको उपाधि

फोटो :बुढासुब्बा गोल्डकपको उपाधि जितेपछि मनाङका खेलाडी ट्रफीको साथमा रमाउँदै । तस्बिर: रत्नप्रसाद आचार्य
धरान: नेपाल पुलिस क्लवसँग विराट गोल्डकपमा हारेको बदला लिँदै धरानमा सम्पन्न १८ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुबबा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लवले उचालेको छ ।

शनिवार धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न प्रतियोगितामा मनाङले नेपाल पुलिस क्लवविरुद्ध १–० गोलको नतिजा निकाल्दै उपाधिमाथि तेस्रो पटक कब्जा जमाएको हो ।

मनाङको जितमा प्रतियोगिताको ८७ औं मिनेटमा  अफ्रिकन खेलाडी एपिज ओलावालेले गरेको गोल नै मनाङलाई उपाधि उचाल्न पर्याप्त बन्यो ।

हेमन गुरुङको कर्णर किक बललाई अनन्त तामाङको पासमा ओलावालेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङले यसअघि २०६० को छैटौ र २०६७को तेह्रौं संस्करणको उपाधि पनि जितेको थियो ।
बुढासुब्बा गोल्डकपको उपाधिसँगै मनाङले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले २ लाखमा चित्त बुझाएको छ । अधिकांश व्यक्तिगत विधाका पुरस्कार पनि मनाङकै खेलाडीले जितेका छन् ।

फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच र सर्वाधिक गोलकर्ताको उपाधि मनाङका एपिज आलावाले नै घोषित भए । प्रतियोगिताभर ५ गोल गरेका उनले सर्वाधिक गोलकर्ताको २५ हजार नगद र म्यान अफ दि म्याचको नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडी र गोलरक्षकको उपाधि मनाङका किरण चेम्जोङ घोषित भए । उनले उत्कृष्ट गोल रक्षकको नगद ११ हजारसहित १२५ सिसीको यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट मिडफिल्डर र स्टाईकरमा क्रमश मनाङका हेमन्त गुरुङ अनिल गुरुङ घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा मनाङका छिरिङ गुरुङ घोषित भए । उत्कृष्ट रक्षकमा  पुलिसका सुरज विक घोषित भए ।विजयी खेलाडिहरुले जनही ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशव विष्टले पुरस्कार वितरण गरे । यो जितसँगै मनाङले जारी सिजनका तीनवटा उपाधि जितेको छ । मनाङले यसअघि पोखराको आहारारा गोल्डकप र हेटौडाको सुमन भोमजन स्मृति अन्तर्राष्टिय गोल्डकपको उपाधि जितेको हो ।

प्रतियोगिताभर उत्कृष्ट पर्दशन गरेको पुलिसले मनाङ विरुद्ध पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा उपािध चुम्ने सपना अधुरो बन्यो ।

पुलिसका जुमनु राई ४२ औं मिनेटमा मनाङको गोल पोष्टमा गोलकिपर किरण चेम्जोङ मात्र भएको अवस्थामा गोल गर्न चुकेका थिए । भोला सिलवालको पासमा डी बक्स एरियाबाट जुमनुले प्रहार गरेको उत्कृष्ट प्रहारलाई मनाङका गोल किपर किरणले सफल बचाउ गरे ।

खेलको २३ औं मिनेटमा पुलिसका रविन श्रेष्ठको प्रहार मनाङका विराज महर्जनले विफल पारे । ४० औं मिनेटमा पुलिसका विनोद कार्कीको प्रहार मनाङका गोल किपर किरणले बचाए ।

मनाङले पनि पुलिसविरुद्ध गोल गर्ने आधा दर्जन अवसर खेर फालेको थियो । खेलको १७ औं २८ औं मिनेटमा मनाङका एफिज ओलावाले गोल गर्न असफल भए ।

२१ औ मिनेटमा अनिल गुरुङको प्रहार पुलिसका गोलकिपर विशाल श्रेष्ठले विफल पारे । ४३ औं  मिनेटमा मनाङका सिसोको प्रहार र ५१ औं मिनेटमा हेमन गुरुङको कडा प्रहार पुलिसको पोष्टमाथिबाट हुइँकियो । ६४ औं मिनेटमा मनाङका अनन्त तामाङको प्रहार पुलिसका अजित भण्डारीले बचाए ।

मनाङका प्रशिक्षक छिरिङ लामाले बलियो प्रतिद्धन्दी पुलिससँग आफ्ना खेलाडिले सर्घषपूर्ण जित हाँसिल गरेको बताए । उनले खेलाडीले अत्यन्तै राम्रो पर्दशन गरेपनि गोल गर्ने अन्य अबसरलाई खेर फालेको बताए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले  खेलाडिले राम्रो खेल पर्दशन गरेपनि अन्तिम समयमा मनाङको गोल खानु नै पराजयको कारण बनेको बताए । उनले आफ्ना खेलाडीले पाएको गोल गर्ने अवसरलाई सदुपयोग नगरेपनि खेलबाट सन्तुष्टी मिलेको बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget