'आन्दोलन गरेर थाक्नुभयो अब सरकारमा आउनुस्'


मधेशी दललाई प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन र विरोधका कार्यक्रम छोडेर सरकारमा सहभागी हुन मधेश केन्द्रित दलहरुलाई आग्रह गरेका छन्। मधेशको नाममा गरिएको आन्दोलनबाट मधेशी जनता सबैभन्दा बढी मारमा परेको भन्दै आन्दोलन छोडेर सरकारमा सहभागी हुन  ओलीले आग्रह गरेका हुन्।

एमाले लुम्बिनी अञ्चल कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरु आन्दोलन गरेर थाक्नुभयो अब आन्दोलन छोडेर सरकारमा सहभागी हुन आउनुस् सबै मिलेर देश निर्माणमा जुटौं।’

मधेशका जनतामा संविधानको बारेमा केही भ्रम र अपव्याख्या फैलाइएको भन्दै संविधानको बारेमा बुझाउने उद्देश्यले जनताको संविधान जनताकै माझमा भन्ने नाराका साथ एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशका जनता पहाडका जनताबाट नभई मधेशका केही सामन्तहरुबाटै शोषित भएको दाबी गरे।

उनले अहिलेको संविधान सबैभन्दा उत्कृष्ट रहेको र यसले कसैलाई विभेद नगरेको दाबी गरे। प्रधानमन्त्री ओलीले संविधान कसैले खल्तीबाट निकालेर दिएको नभई संविधानसभाबाट जारी गरिएकोले कसैले भन्दैमा परिवर्तन नहुने बताए।

जनताबाट निर्वाचित प्रतिनिधिले संविधानसभामार्फत् संविधान बनाएकोले कसैलाई मन नपर्दैमा संविधान परिवर्तन र फेरबदल गर्न नसकिने उनले बताए।

‘अहिलेको संविधान कागजमा बनाइएको भएपनि स्टिल र ताम्रपत्रमा कुदेर बनाएभन्दा बलियो छ’ ओलीले भने ‘न कि कसैले च्यात्छु र जलाउँछु भन्दैमा जल्न र च्यातिन सकोस्।’

प्रधानमन्त्री ओलीले भूकम्प र नाकाबन्दीको बीचमा अहिलेको सरकार गठन भएपनि विकासको नयां योजनाको साथ अगाडी बढेको भन्दै जनताले देख्ने र थाहा पाउने गरी विकासको काम अघि बढाइने बताए।

प्रधानमन्त्री ओलीले अबको १ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र दुईवर्ष भित्रमा उद्योग कलकारखानालाई पुग्ने गरी विद्युत उत्पादन गर्ने दाबी गरे। कुनैपनि विकास एकैपटक हुन नसक्ने भन्दै लोडसेडिङको अन्त्य, तुइन विस्थापन जस्ता कुराहरुलाई सरकारले प्रमुख प्राथमिकताको साथ अगाडि बढाएको बताए।

आफ्नो भारत भ्रमण पछि भारत र नेपालको विचको सबै असमझदारी समाप्त भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल र भारत उहिल्यै देखिका मित्र रहेको र अब नयां ढंगबाट सम्बन्ध विस्तार हुने बताए।

आफ्नो भ्रमणलाई भारतले उच्च आतिथ्यता र सम्मान दिएको भन्दै यो आतिथ्य र सम्मान सबै नेपाली र सिंगो नेपालको भएको बताए।
जनसभामा लुम्बिनी अञ्चलका सबै जिल्लाबाट नेता तथा कार्यक्रताहरु सहभागी भएका थिए।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget