युवा फरवार्ड विमल घर्तीमगर स्पेनी क्लबमा

फाल्गुन १५, २०७२- युवा फरवार्ड विमल घर्तीमगर स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडमा अनुबन्धित हुने भएका छन् । अर्का फरवार्ड/विंगर अञ्जन विष्ट र सेन्टर–ब्याक अनन्त तामाङले मार्बेलामै ट्रायलका रूपमा ट्रेनिङ गर्ने पनि निश्चित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार जनाएअनुसार विमलले स्पेन पुगेपछि मार्बेलासँग सम्झौता गर्नेछन् । त्यही क्लबमा अनन्त र अञ्जनले दुई महिना प्रशिक्षण गर्नेछन् । उनीहरूका निम्ति प्रशिक्षण अवधि ट्रायलका रूपमा पनि रहनेछ । त्यसैले ट्रेनिङमा राम्रो गर्नसके उनीहरूले पनि अनुबन्धको अवसर पाउन सक्छन् ।

उनीहरूलाई यो अवसर बेल्जियन फुटबल एजेन्ट लोइस डे भ्राइजले मिलाएका हुन् । दुई वर्षयता विमललाई युरोपका विभिन्न क्लबमा ट्रायल–ट्रेनिङ दिलाएका उनी यसैका निम्ति दुई दिनयता काठमाडौंमा छन् । तीन खेलाडी मार्च ५ देखि अप्रिल ३० सम्म मार्बेलासँग हुनेछन् । मार्बेला मैत्रीपूर्ण खेलमा सहभागी हुन मार्च १३ देखि ३१ सम्म नेदरल्यान्ड्समा हुनेछ । त्यसमा तीनै नेपाली फुटबलर हुनेछन् ।

यी तीन नेपाली राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र यू–२३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्दाका पहिलो रोजाइका खेलाडी हुन् । राष्ट्रिय टिमले २३ वर्षपछि जितेको उपाधि थियो, बंगबन्धु । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पनि नेपाली टिमले २३ वर्षपछि नै जितेको हो । उनीहरूकै उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपालले भदौमा सातदोबाटो, ललितपुरमा भएको प्रथम यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । तर, एक महिनापछि भएको एएफसी यू–१९ छनोटमा भने नेपाली युवा टिमको प्रदर्शन निराशाजनक थियो ।

सपना साकार बन्दै
‘युरोप विश्व फुटबलकै केन्द्र हो र त्यहाँको क्लबमा खेल्ने जो–कोही फुटबलरले सपना बुनेका हुन्छन्,’ विमलले भने, ‘मेरो लक्ष्य पनि युरोपको व्यावसायिक फुटबल खेल्ने हो । दुई वर्षयता युरोपका विभिन्न क्लबमा ट्रेनिङ गरेपछि त्यहाँको क्लबमा खेल्न सकिन्छ भन्ने लागेको छ । युरोपली फुटबल खेल्ने सपना साकार हुन लागेको महसुस भएको छ ।’

पछिल्लोपल्ट सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेका विमलले मार्बेलासँग हुने सम्झौताबारे खासै खुलाउन चाहेनन् । ‘सबै कुरा एजेन्ट (डे भ्राइज) ले मिलाएका हुन् । स्पेन पुगेपछि सम्झौताबारे सबै जानकारी मिल्ने उनले बताएका छन्,’ डे भ्राइजलाई शुक्रबार भेटेपछि उनले भने । उनी घर (भुताहा, नवलपरासी) बाट शुक्रबारै राजधानी आएका हुन् ।

नेपाली खेलाडीले अहिलेसम्म युरोपको व्यावसायिक फुटबल खेलेका छैनन् । त्यसैले मार्बेलासँग हस्ताक्षर गरेपछि विमल युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली फुटबलर हुनेछन् । उनले युरोपमा खेल्ने सपना साकार पार्ने अभियानमै भारतको आई लिग क्लबको आकर्षक प्रस्तावलाई केही साताअघि मात्र अस्वीकार गरेका थिए ।

काठमाडौंमा तीन वर्षअघि आयोजित साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध समूह चरणको खेलको अन्त्यतिर विमलले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा पुर्‍याएका थिए । त्यही गोलले विमललाई चर्चित बनाएको थियो, जतिबेला उनी १५ वर्षका मात्र थिए । त्यसयता उनले यू–१६ र यू–१९ का लागि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

विमलले राष्ट्रिय टिमका लागि दोस्रो गोल गर्न भने तीन वर्ष प्रतीक्षा गर्नुपर्‍यो । त्रिवेन्द्रम, केरालामा दुई महिनाअघि भएको साफ च्याम्पियनसिपमा भारतसँग ४–१ ले हारेको खेलमा गोल गर्दै उनले नेपालको गोलविहीन यात्रालाई १२ खेलमा टुंग्याएका थिए । उनले राष्ट्रिय टिमबाट बंगबन्धु गोल्डकप र यू–२३ को सागमा भने राम्रो प्रभाव छाडेका थिए ।

अहिले १८ वर्षमा रहेका उनी सबैभन्दा बढी ‘एक्सपोजर’ पाउने नेपाली फुटबलर हुन् । उनले दुई वर्षयता बेल्जियमको पहिलो डिभिजनका क्लबहरू एन्डरलेच्त, गेन्ट र ब्रुगमा दुई–दुई महिना ट्रेनिङ गरेका छन् । त्यसअघि उनले नेदरल्यान्ड्सको माथिल्लो श्रेणीको क्लब एफसी ट्वेन्टेमा पनि ट्रायलमा दुई साता बिताएका थिए ।

यू–१९ का कप्तान विमल, अनन्त र अञ्जन एन्फा एकेडेमीका एउटै ब्याचका खेलाडी हुन् । उनीहरूको टिमले जापान, दक्षिण कोरिया र बेल्जियममा प्रशिक्षण गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । अञ्जन र अनन्तले पनि बंगबन्धु र १२ औं सागमा प्रशंसनीय प्रदर्शन गरेका थिए ।

झापाका अनन्तले राष्ट्रिय लिग सुदूरपश्चिमबाट खेलेका थिए । त्यसपछि भने उनी मनाङ–मर्स्याङ्दीसँग नजिक छन् । हेटौंडाका अञ्जन गत वर्षदेखि नै विभागीय टिम एपीएफबाट खेल्दै आएका छन् । १२ औं सागको स्वर्ण जितेर गुवाहाटीबाट स्वदेश नफर्की अञ्जन र अनन्त आई लिगको दोस्रो डिभिजनको क्लब गान्तोक हिमालयमा अवसर पाउने आसमा सिक्किम पनि पुगेका थिए ।

मार्बेला कस्तो क्लब ?
स्पेनको पहिलो डिभिजनको लिग (ला लिगा) मा बार्सिलोना र रियल म्याड्रिडसहित २० क्लब छन् । दोस्रो डिभिजन (सेगुन्डा) मा २२ क्लब खेल्छन् । तेस्रो डिभिजन ‘सेगुन्डा बी’ मा चार समूहमा ८० क्लब छन् ।

बार्सिलोनाको रिजर्भ टिम (बी टिम) पनि यसैमा खेल्छ । यसमा २०–२० क्लबको चार समूह छ । त्यसको चौथो समूहको क्लब हो, मार्बेला युनाइटेड । विकिपिडियाकाअनुसार
यो सन् १९९७ मा स्थापित भएको क्लब हो ।


विमल घर्तीमगर
फरवार्ड
राष्ट्रिय टिम डेब्यु :
२० सेप्टेम्बर, २०१२/दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल

अञ्जन विष्ट
फरवार्ड
राष्ट्रिय टिम डेब्यु :
३१ अक्टोबर, २०१४/दोहामा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेल

अनन्त तामाङ
डिफेन्डर
राष्ट्रिय टिम डेब्यु :
३१ अगस्ट, २०१५/पुनेमा भारतसँगको मैत्रीपूर्ण खेल
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget