काठमाडौं: गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात वैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरूका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनि सबैभन्दा धेरै पहिरोको घनत्व छ । जमिनमुनिको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठूलो क्षेत्र धस्सिएको छ, जहाँ सधैं पहिरोका लागि खतरा रहन्छ ।
अमेरिकाको अरिजना पोस्टड्याम विश्वविद्यालयका भूगर्भविद्ले भूउपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी पहिरो तथा जमिनको अवस्था अध्ययन गरेका थिए । अध्ययन प्रतिवेदन विश्वप्रसिद्ध साइन्स म्यागेजिनमा प्रकाशित भएको छ । अध्ययनअनुसार जमिनमा चिरा (ग्राउन्ड रप्चर) नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ ।
भूकम्पले पनि जमिन ३० डिग्रीभन्दा भिरालो भएको ठाउँ र जमिन हल्लिने क्रम ०.६ जी (एक्सलारेसन अफ ग्राभिटी) भन्दा बढी भएका ठाउँमा बढी पहिरो र क्षति गरेको तथ्य वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । वैज्ञानिकहरूले चार हजार तीन सय १२ पहिरो तथा चर्किएको जमिनको भौगर्भिक अध्ययन गरेका हुन् ।
उनीहरूले ती सबै पहिरो भिरालो जमिनमा भूकम्पको झड्कासँग सम्बन्धित रहेको पुष्टि पनि गरेका छन् ।
जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
वैज्ञानिकहरूले नेसनल एरोनाटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रह तस्बिर र तथ्यांकका आधारमा टेक्टोनिक प्लेट, भौगर्भिक बनोट तथा जमिनमुनि ढुंगा र माटोको सम्मि श्रणका बारेमा विस्तृत अध्ययन गरेका थिए । अध्ययन समूहको नेतृत्व गरेका अरिजोना विश्वविद्यालयका प्राध्यापक जेफ कार्लगलले आगामी दिनमा आउनसक्ने भूकम्पले वैशाखको भन्दा ठूलो क्षति गर्नसक्ने सम्भावना देखिएको भन्दै अहिल्यैदेखि सचेतना अपनाउन आग्रह गरेका छन् ।
‘यो नेपाल सरकार तथा सहयोग गर्ने निकाय र विश्वकै लागि सचेतनाको घन्टी हो । यसबाट सरकारले जमिनको वैज्ञानिक प्रयोग तथा निर्माणसम्बन्धी आचारसंहिता र मापदण्ड लागू गर्नमा जोड दिनुपर्छ', कार्लगलले भनेका छन्, ‘यो सरकारको आलोचना पनि होइन, खतराको घन्टी हो । अब सचेतना अपनाइएन भने भविष्यमा डरलाग्दो अवस्था उत्पन्न हुनेछ ।'
उच्च हिमाली भेगमा भएका हिमपोखरीहरू जमिनमा चिरा नपरेका कारण मात्रै जोगिएको पनि प्रतिवेदनमा उल्लेख छ । जमिनभन्दा १० देखि १५ किलोमिटर तल जमिन चिरिए पनि हिमाली भेगमा माथिल्ला भागसम्म आइनपुगेको वैज्ञानिकहरूको निष्कर्ष छ ।
पोट्सड्याम विश्वविद्यालयका पृथ्वी तथा वातावरण अध्ययन विज्ञानका प्राध्यापक उल्फग्याङले काठमाडौंभन्दा उत्तरी भेगको लाङटाङमा गएको पहिरो र हिमआँधीले यसअघिका भूकम्पबारेका कतिपय सिकाइ असफल साबित गरेको बताएका छन् । ‘लाङटाङ घटनाले प्राकृतिक विपत्ति र खतराको मूल्यांकन नयाँ ढंगमा गर्नुपर्ने पाठ सिकाएको छ', उल्फग्याङले भनेका छन् ।
लाङटाङमा भूकम्पपछि आएको पहिरो र हिमपहिरोले बस्ती नै बगाएको थियो भने सयौं सर्वसाधारणको मृत्यु भएको थियो । नेपालको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङ भूकम्पछि खण्डहरमा परिणत भएको छ ।
annapurnapost
Post a Comment