मधेस आन्दोलनको फोहोर बढार्दै प्रहरी

वीरगन्जः मधेस आन्दोलन ताका दिनहु बन्दुक र लठ्ठी बोकेर घण्टारघर क्षेत्रमा देखा पर्ने प्रहरीहरु शनिवार बिहान अचानक  हातमा झाडु लिएर देखा परे पछि बटुवाहरु छक्क परे ।

बर्दीमै रहेका प्रहरीमध्ये कोहीले घण्टाघरको भित्तामा झाडुले सफा गर्न थाले भने कोही पर्खालमा टाँसिएको पर्चा पम्प्लेटमा पानी छ्यापेर तार ब्रसले कोतर्न लागे ।

लौ है केटा हो नेपाल पुलिसको इज्जत नफाल है, आज घण्टारघर चिटीक्कै पार्नुपर्छ, सफाइमा जुटेका प्रहरी जवानलाई प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले हौस्याउँदै भने ,‘राम्रोसँग सफा गर्नुपर्छ, अनि रङ पनि लगाउनु पर्छ ।’

झण्डै ६ महिना चलेको मधेस आन्दोलनका कारण अस्तव्यस्त र फोहर वीरगन्जका सार्वजनिक सम्पदा र स्थलहरुमा नेपाल प्रहरीले शनिबारदेखि सरसफाइ अभियान चलाएको छ ।

अभियानको पहिलो दिन शनिबार प्रहरीले घण्टारघर र नजिकै रहेको मधेसी नेता स्वर्गीय बाबा रामजनम तिवारीको शालिक परिसरमा सरफाइ गरेको छ ।

प्रहरीको सरसफाइ अभियानमा वीरगन्ज पब्लिक कलेजका छात्रछात्रा, केआई नेपालका स्वय्सेविका र वीरगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारीले पनि साथ दिएका थिए ।

नगरपालिकाको वारुण यन्त्रले घण्टारघर भित्ता र गजुरमा पानी छयापेर सफा गरिरहेका बेला सडक छेउमा उभिएका स्थानीय प्रदीप महत्तोले भने, ‘आहा ! आज घण्टाघरको मन औधी रमाएको होला, धुवाँधुलोले आजित थियो, आज त उसको आँत नै हाँसेको होला, धन्यवाद नेपाल पुलिसलाई ।

शनिवार बिहान घण्टाघरको पर्खालमा टाँसिएको पर्चा सफा गरेर प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सरसफाइ अभियानको शुभारम्भ गरेका थिए  ।

सरफाइ अभियानमा सहभागी वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा रिंकी सर्राफले सधँैभरि बन्दुक र लठ्ठी मात्र बोक्ने प्रहरीले विधार्थीसँग मिलेर सार्वजनिक स्थानमा सरफाइ गरेको देख्दा आफुलाइ खुशी लागेको बताइन् ।

‘वीरगन्ज हाम्रो ठाँउ हो, यसको सरसफाइ त हामी आफैँले गर्नुपर्छ’, उनले भनिन्, ‘तर पुलिस दाइहरुले आज हाम्रो आँखा खोलिदिनुभएको छ, यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

सरसफाइ अभियानमै सहभागी केआई नेपालकी कमला घिमिरेले प्रहरीको यस्ता गतिविधिले नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने बताइन् । ‘आममानिसमा प्रहरीको काम बन्दुक चलाउने र चोर अपराधी समात्ने मात्रै हो भन्ने सोचाइ छ’, उनले भनिन् ।

‘त्यस्ता सोचाइमा प्रहरीका यस्ता कामले परिवर्तन ल्याइदिन्छ, अनि सम्बन्ध पनि नजिक बनाइदिन्छ, प्रहरीको यो काम सराहनीय छ ।’

मधेस आन्दोलनका कारण सरफाइको अभावको अभावमा फोहर भएका वीरगन्जका सार्वजनिक सम्पदा र स्थलहरु सफा गर्न अभियान थालिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

वीरगन्जमा गत सातादेखि सन्चालन गरिएको ‘हाम्रो साथी प्रहरी’ नामक अभियान अन्तर्गत नै सरसफाइ अभियान पनि सन्चालन गरिएको उनले बताए ।

वीरगन्ज शहरलाई आकर्षक र सुन्दर बनाउन सरसफाइ अभियान सुरु गरिएको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले भने, ‘सरसफाइ अभियानअन्तर्गत साताको हरेक शनिबार वीरगन्जका सार्वजनिकस्थलमा प्रहरीले सरसफाइ गर्छ ।’
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget