ह्याट्रिक बलर सन्दिप भन्छन्ः क्रिकेटले गर्दा ९ कक्षा फेरि दोर्‍याउँदैछु


 फागुन, काठमाडौं । बंगलादेशमा आयोजित यू-१९ विश्वकप क्रिकेटमा खेल्न जाँदा सन्दिप लामिछानेको नाम कमै नेपालीले सुनेका थिए । तर विश्वकप खेलेर फर्किसकेपछि उनी सानोतिनो सेलिब्रेटी नै बनेका छन् ।

आफूले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगीता, त्यो पनि विश्वकपमा उनले एक मात्र ह्याट्रिक पुरा गरे । यदी यो पर्याप्त थिएन भने, उनी प्रतियोगिताका दोस्रो सर्वाधिक विकेटटेकर पनि बने । यसरी केवल १६ वर्षको उमेरमा सन्दीप राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चाको पात्र बन्न सफल भए ।

भारतबाहेक सन्दीपको पहिलो विदेश भ्रमण थियो बंगलादेश । त्यहाँ जाँदा उनको मनमा अरु केहि थिएन, सकेसम्म राम्रो बलिङ गर्ने र देशलाई जिताउन मद्दत गर्ने । सन्दीप भन्छन्, ‘क्रिकेट आफूले प्रयास गरेर मात्र पनि हुँदैन । भगवानले पनि साथ दिनुपर्छ । मेरो हकमा त्यस्तै थियो ।’

सन्दिप अहिले पनि विश्वकपलाई सम्झिन्छन् र दंग पर्छन् । विशेषगरी आयरल्याण्डसँगको त्यो म्याच, जसमा उनले ह्याटि्रक लिएका थिए, उनको आँखामा फनफनि नाचिरहन्छ । त्यो उनले खेलेको दोस्रो अन्तर्राष्ट्रिय म्याच थियो ।

यसरी भयो ह्याट्रिक

३१ औं ओभरमा बल फ्याक्न आएका सन्दिपले चौंथो, पाचाैं र छैठौं बलमा लगातार विकेट लिएका थिए । आफ्नो ह्याट्रिक बललाई सन्दिप यसरी सम्झिन्छन्ः

३१.४ – ब्याटिङमा लोर्कन टकर थिए । मैेले सामान्य लेग ब्रेक फालेको थिए । उनले स्वीप गर्न खोज्दा टप एज लाग्यो र दिपेन्द्र दाइले दामी क्याच लिनुभयो ।

३१.५- विकेट लिएपछि कन्फिडेन्स बढेको थियो । क्रिजमा थिए डेन्निसन । मैले अघिल्लो जस्तै लेग ब्रेक नै फ्याके । त्यसलाई कट गर्ने चक्करमा एज लाग्यो र विकेटकिपर राजुदाईले क्याच लिनुभयो । म खुशीले बुरुक्क उफ्रेँ ।

३१.६ – लगातार दुई विकेट लिएपछि खेलको माहोल नै अर्कै बन्यो । म पनि तरंगीत बने । जब लगातार दुई विकेट आउछ, हरेक बलरको मनमा ह्याट्रिकको धुन सवार हुन्छ । मेरो मनभित्र पनि अब जसरी पनि ह्याटि्रक लिन्छु भन्ने सोचाई उत्पन्न भयो । त्यसपछि कस्तो बल फ्याक्ने भन्ने द्विविधा भयो । मैले कप्तान राजुदाईसँग सल्लाह गरेँ । उहाँले भन्नुभयो, ‘जून बलमा कन्फिडेन्स छ, त्यहि फ्याँक । त्यसपछि मैले गुगली फ्याक्ने निर्णय गरेँ ।

उनले अब क्रिकेटमै करिअर बनाउछु भन्ने ठानिसकेका छन् । क्रिकेटबाहेक कुनै प्रोफेसन सोच्दा पनि नसोचेका सन्दीपको पहिलो लक्ष्य हो राष्ट्रिय टोलीमा स्थान बनाउनु ।

क्रिजमा नयाँ ब्याट्सम्यान एफ. टकर थिए । उनको त्यो डेब्यू म्याच थियो । मैले धेरै टाइम नलिइकन आफ्नो बेस्ट बल फ्याँकेँ । ब्याट्सम्यानले रिड गर्न सकेन र बोल्ड भयो ।

ह्याट्रिक लिएपछि खुशीको सिमा नै रहेन । म हात फैलाएर पूरा मैदानमा घुमेँ । टीमका सबै साथीहरुले बधाई दिनुभयो । धेरै बेरसम्म खुशी लागिरह्यो । तर आफूलाई सम्हालेर बाँकी बलिङ गरेँ ।’

पुबुदुको आँखा परेपछि

चितवन, सौराहका सन्दिपले आठ वर्षदेखि क्रिकेट खेल्न थालेका हुन् । सुरुमा आफू पढ्ने स्कुलबाट विभिन्न प्रतियोगीता खेले । त्यसपछि चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले, जहाँ उनका प्रशिक्षक थिए नेपाली क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्का ।

सन्दीपलाई पहिलेदेखि ब्याटिङभन्दा बलिङ गर्न स्वाद लाग्थ्यो । बलिङमा पनि स्पिनमा उनको विशेष दख्खल थियो । टेलिभजनमा शेन वार्नको बलिङ हेर्थे र मैदानमा त्यसको सिको गर्थे । अन्ततः उनी पाँच प्रकारका स्पिन बल फ्याक्न पोख्त बने । सन्दीप भन्छन्, ‘म लेगब्रेक, टपस्पिन, फ्लीपर, गुगली, स्लाइड फ्याक्न सक्छु ।’

एकेडेमीमा प्रशिक्षण गर्ने क्रममा नै सन्दीपमाथि नेपाली राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दासानायेकेको आँखा परेको थियो । पहिलो हेराईमै ‘सुन र लसुन’ छुट्याउन सक्ने क्षमता भएका दासानायेकेले उनको बलिङ हेर्नासाथ भनेका थिए, ‘यो केटोले केहि गर्छ ।’ उनले तत्कालै सन्दीपलाई क्याम्पमा बोलाए । उनी एसीसीका लागि नेपाली टोलीमा छनोट पनि भए । तर, खेल्न पाएनन् । त्यसपछिको विश्वकप क्वालिफायरमा उनी परेनन् । तर, विश्वकपमा परे ।

पढाइ छुट्यो

‘जीवनमा एकपटक भए पनि देशका लागि खेल्नेछु’ भन्ने लक्ष्य बोकेका सन्दीपले सोचेभन्दा चाँडो त्यो लक्ष्य पूरा गरे । यसका निम्ति उनले आफ्नो पढाईमा भने सम्झौता गर्नुपरेको छ ।

कक्षा नौमा पढ्दा-पढ्दै यू-१९ राष्ट्रिय टीममा स्थान बनाएपछि सन्दीप विद्यालय जाने क्रम टुट्यो । पछिल्ला ७ महिनादेखि विद्यालय नगएका उनले परिक्षा पनि दिन पाएनन् । फलस्वरुप ९ कक्षा फेरि दोर्‍याउनुपर्ने भएको छ । यद्यपि उनलाई अफसोस छैन ।

‘मैले पढाईभन्दा क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेको छु,’ उनी निर्धक्कसँग भन्छन्, ‘क्रिकेटबाट बँचेको समयमा पढ्नेछु ।’ क्रिकेटमा लाग्दा परिवारको पनि पूर्ण समर्थन रहेको छ सन्दीपलाई । उनको परिवारमा आमा-बुवा तथा एक दाई र दुई दिदी छन् । सन्दीप भन्छन्, ‘पढाईमा ध्यान दे त भन्नुहुन्छ, तर क्रिकेटमा नलाग भनेर कसैले भन्नु भएको छैन । बरु हौसला नै दिनुभएको छ ।’



उनले अब क्रिकेटमै करिअर बनाउछु भन्ने ठानिसकेका छन् । क्रिकेटबाहेक कुनै प्रोफेसन सोच्दा पनि नसोचेको सन्दीपले बताए । यसका लागि उनको पहिलो लक्ष्य हो राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउनु । त्यसनिम्ति आफूमा अझै परिपक्वता आवश्यक भएको उनलाई थाहा छ । आफैंले आफ्नो बलिङको कमजोरी औंल्याउँदै उनी भन्छन्, ‘बेला-बेला डाउन द लेग साइड बल जान्छ । त्यसलाई सुधार्न प्रयासरत छु ।’

सेन वार्नसँग तुलना

सन्दीपका बलिङ आइडल सेन वार्नसँग उनलाई तुलना गरेर आइसीसीले भिडियो रिपोर्ट नै बनाएको छ । सन्दीपका लागि यो अकल्पनीय उपलब्धि हो । सन्दीप भन्छन्, ‘मेरो लागि शेन वार्नसँग तुलना हुनुभन्दा ठूलो कुरा अरु के होला र । तर म उहाँको स्थानमा पुग्न सक्दिन । उहाँको जस्तो बलिङ गर्ने प्रयास चैं गर्न सक्छु ।’

फुटबलरको जस्तो हेयरकट बनाएका सन्दीप फुटबलप्रति पूरै अनभिज्ञ रहेको बताए । उनले भने, ‘मेरो कपाल हेरेर धेरैले फुटबलको फ्यान हो कि भन्ने अनुमान गर्छन् । तर, म फुटबल न खेल्छु, न हेर्छु । कुनै इन्टरनेसनल फुटबलर चिनेको पनि छैन ।’
 onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget