सुविन भट्टराई -प्रेम के–के हो ?


फाल्गुन ३, २०७२-
प्रेम त्यो चिज हो जुन जराले सिंगो रूखलाई गर्छ । प्रेम त्यो चिज हो जुन गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राति सुमसुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । अञ्जानमै प्रेम गरिरहेका छौँ हामी । स–साना स्कुले केटाकेटीहरूले पुस्तकको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतनगर्न खोज्नु प्रेम हो ।
कति प्रेम गर्छ खोलाले समुद्रलाई ? सयौँ–हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरूलाई पन्छाउँदै, जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना पुस्तकका अक्षरसँग गर्छ । प्रेम त्यो हो जो गायकले आÏनो स्वरसँग गर्छ । प्रेम त्यो हो जो संगीतकारले आफ्नो धुनसँग गर्छ । त्यो पनि प्रेम नै हो, जुन किसानले आफ्नो हलोसँग गर्छ ।
प्रेम खोलाले गर्छ हिमालमा परेको हिउँलाई । त्यसैले त सालैभरि आफू रुख्खिएर कुनै दिन त पग्लिएला भनेर कुरी बस्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको हुन्छ, तँ सक्दो फल्नू है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु ।

हामी कहाँ–कहाँ खोज्छौँ प्रेम ? कुन दुनियाँमा होला र प्रेम ? प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटोमा, फूलमा, हावामा, पातमा, घरमा, घाममा, शीतमा अनि हजारौं गुनगुनाइने गीतमा । हेरौँ त हरेक अनुहारमा छ प्रेम । हरेक मान्छेको मधुर मुस्कानमा छ । कानका गहना बेचेर बुच्चै पारिदिएर कतार उडेका आÏनो लोग्ने सम्झँदै रातदिन आँसु बगाउने भाउजुको एक थोपा आँसु औँलामा राखेर हेर्नुस् त कति प्रेम छ त्यहाँ ? अनि तिनै दाइका कहिल्यै पोष्ट नहुने चिठीहरूमा कति पोखेका छन् उनले प्रेम ।
आकाशमा लाखौँ तारा छन् । कसैले कसैलाई नछोएरै पनि टिलिक्क टल्किरहेका छन् । आ–आफ्नो ठाउँ लिएर, न साँध, न सिमाना, न संवाद न विवाद ।

धरती र आकाश पनि, जसले एक–अर्कालाई हेरेरै मात्र सदियौँ काटिसके । उनीहरूमा पनि त छ प्रेम । अनि गुलाफको बोटमा काँडा र फूलको प्रेम । फूलको सुरक्षादिन काँडा सधैँ लागिरहन्छ । अनि हेर्नुस् खोला र बादलको सम्बन्ध । बादल जहिल्यै चुहिन्छ त खोलाको काखमा गएर मिसिन अनि खोला जसलाई अरू बादलहरूको प्रेमले तानेर उडिजान्छ घामसँग मद्दत मागेर ।

प्रेम त मेरा हजुरबुवाले गर्नुहुन्छ, ४० वर्ष अघि मरेकी हजुरआमालाई सम्झेर हरेक दिन भित्तामा टाँसिएको बडेमानको फोटो हेर्दै चाउरी परेका अनुहारमा मुस्कान ल्याएर ।
प्रेम मेरी सानी बहिनीले गर्छे हरेक दिन पप्पी नाउँको कुकुरलाई सुमसुम्याएर ।
मेरी आमाले पनि बुवालाई प्रेम गर्छिन् । हरेक बिहान ड्रेसिङ टेबल अगाडि उभिएर सिउँदोमा लामो सिउँदोको धर्सो कोरेर ।

मेरो साथीले पनि खुब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई, पाखुरामा उसको नामको टाटु खोपाएर ।
हामी सबै यही प्रकृतिका अंश हौँ । प्रकृतिमा भएका सानाभन्दा साना चिजले हामीलाई प्रेम गर्न सिकाउँछन्, तैपनि हामीलाई यै प्रेम भन्ने चिजले किन दुखाउँछ ? यति विस्तार भएको प्रेमलाई एक जनामा मात्र ल्याएर किन खुम्च्याउँछौँ ? सप्पै थोकलाई प्रेम गरौँ । प्रेम बाँडौँ । फैलाएरै फैलिने चिज हो प्रेम । बाँडेरै धेरै हुने हो चिज प्रेम

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget