एमाले जस्तो 'भुसुना' सँग पार्टी एकता हुँदैन : प्रचण्ड

गोरखा: पार्टी एकताको चर्चा चल्ने गरेको नेकपा एमालेलाई ‘भुसना’को संज्ञा एनेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । शनिबार अगुवा कार्यकर्ता प्रशिक्षणमा ‘भुसुना’संग एकीकरणको भ्रममा नपर्न उनले गोरखाका कार्यकर्तालाई स्पष्ट पारे ।

‘नेतृत्वको हिसाबले मैले एमालेलाई हेर्दा भुसुनो जत्रो पनि देख्दिन’ एमालेसंग पार्टी एकता हुन्छ कि हुदैन भन्ने कार्यकर्ताको प्रश्नको जवाफ दिदै प्रचण्डले भने ‘किन देख्ने मैले ? एमालेलाई ठूलो किन देख्ने मैले ? एमालेले ठूलो के गर्‍यो नेपालमा ?


त्यसैले एमालेसंग पार्टी एकता गर्छ कि भन्ने दिमागमा छ भने हटाइदिनुहोला । एमाले माओवादीमा आउँछ भने बिचार गर्नुपर्छ ।’ माओवादीसंग एकता गर्न आपत परेको बेला एमालेसंग एकताको बिषयमा छलफलै नभएको उनले दोहोर्‍याए । एमालेसंग एकता नभएर चुनाबी तालमेल चाहिँ हुने उनले बताए ।

तर वैद्यसंग एकता दुनियाका कुनै तागतले रोक्न नसक्ने दाबी गरे । ‘अस्ति मात्रै किरनजी नै लाजिम्पाट आएर पार्टी एकता गरौं भन्नु भएको थियो । बाबुरामजी झै रातारात परिवर्तन हुनु भयो भने त थाहा छैन । नत्र पार्टी एकता अब यो दुनियामा कसैले रोकेर रोकिनेवाला छैन । जसरी हिजो बिभाजन रोक्न सकिएन, त्यसरी नै अब एकता रोकेर रोक्नै सकिदैन ।

तपाइँ हेर्नु भयो भने पश्चिमका जिल्लाहरुमा कार्यकर्ताहरु आफै एकता गर्न थालेका छन् । संगै कार्यक्रमहरु गर्न थालेका छन् । केन्द्रतहमा पनि जबर्जस्त एकताको कुरा चल्न थालेको छ ।’ सबै माओवादी एकता हुने उनले विश्वास ब्यक्त गरे ।

‘एकाध नेताहरु मानेनन् भने पनि पाँच वटा माओवादी एकताको प्रक्रिया अघि बढिसकेको छ, बढ्छ कसैले रोकेर रोकिदैन’ उनले भने ‘माथिबाट हुन नसके तलैबाट हुनेछ । पार्टी एकीकृत र केन्द्रीकृत गर्ने अभियानको नेतृत्व हाम्रै पार्टीले लिएको छ ।’ माओवादी मात्र नभै एमालेभित्रै भएका कम्युनिष्टहरु पनि कम्युनिष्ट केन्द्रमा एकीकृत हुने उनले विश्वास व्यक्त गरे ।

शुक्रबार साँझ गोरखा आइपुगेका प्रचण्डले शनिबार बिहान पत्रकारहरुसंगको भेटमा गोरखा घर भएका नेता बाबुराम भट्टराईको आलोचना गर्नमा लामो समय खर्चिए । प्रचण्डले बाबुरामले गोरखा जित्न नसक्ने चुनौती दिएका छन् । यसअघि दुईवटा निर्बाचन बाबुरामले आफ्नो कारणले नभै माओवादी भएर जितेको जिकिर गरे ।

‘बाबुरामजीलाई लागेको हुनसक्छ, मैले जितेको हुँ । त्यो जित उहाँको हैन, पार्टीको हो’ उनले भने ‘लौत अब जितेर देखाउनुस् । पढेको भनेर हुन्छ ? ’ संसार भरिका प्रतिक्रियावादी, साम्राज्यवादी षड्यन्त्रकारीहरु मिले भने मात्रै बाबुरामले जित्ने उनले टिप्पणी गरे । ‘ल त अब जनताको मन जितेर देखाउन् बाबुरामले ।

संसार भरिका साम्राज्यवादी, षड्यन्त्रकारी नलागी बाबुरामले जित्दैनन्’ उनले भने ‘राजनीति भनेको निष्ठामा गर्ने हो । तर बाबुरामजीको निष्ठा कति कमजोर भनेर देखियो ।’ बाबुरामले गरेको घात पार्टीको मात्र नभै राष्ट्रको घात, सिद्धान्तको घात, आदर्शको घात भएको उनले आरोप लगाए ।

बाबुराम भट्टराईको पढाइप्रति लक्षित गर्दै उनले गोरुको सिङमा पीएचडी गर्दैमा गोरुको दिमागमा वुद्धि नभरिने टिप्पणी गरे । ‘मेरो एकजना साथीले भन्नुहुन्थ्यो, गोरुको सिँङमा पीएचडी गर्दैमा गोरुको वुद्धि भरिँदैन भनेर’ उनले भने ‘बाबुरामजीको हकमा पनि त्यस्तै भएको छ । पीएचडी गरेका त हज्जारौं छन् यहाँ । सेक्सन अफिसरको जागिर खान नपाएर हालत खराब छ ।’

बिसौं, पच्चीसौं बर्ष संगै काम गरेको पार्टीलाई रातारात छाडेर बाबुरामले मान्छेको मूल्य, मान्यता, नैतिक धरातल नै छाडेको आरोप पनि उनले लगाए । ‘मान्छेको एउटा मूल्य, मान्यता, नैतिक धरातल हुन्छ नि’ उनले भने ‘बाबुरामजीको निष्ठाचाहिँ कति कमजोर रहेछ भनेर देखियो । त्यति अनैतिक पनि हुनुहुन्छ त ?

पच्चीसौं बर्ष संगै काम गरेको मान्छेसंग थाहै नदिई लुक्नु पर्ने के थियो ? ’ बाबुरामले गुरु मानेको मोहन बिक्रमले जिल्लाबाट माथिल्लो तहमा ल्याउनै नहुने मान्छे हो भन्दा भन्दै पनि आफूले माया गरेर सेलबाट पोलिटब्यूरोमा ल्याएको स्मरण गर्दै प्रचण्डले भने ‘मोहनबिक्रमले बाबुराम महत्वकांक्षी छ ।

यो मान्छेले धोका दिन्छ भनेका थिए । अल्लि पढेलेखेको मान्छेलाई मोहनबिक्रमले देखिसहन्नन् भनेर मैले सेलबाट उठाएर पोलिटव्यूरोमा लगेको हो । पढेलेखेको मान्छेले राम्रो गर्छ भन्ने हाम्रो मध्यमबर्गीय समाजमा अन्धविश्वास छ ।

त्यही अन्धविश्वासमा लागेर मैले न्याय गर्नुपर्छ भनेर उनलाई मैले स्थान दिएँ । नभन्दै सरप्राइज दिएर जानुभयो ।’ बाबुरामजीलाई धेरै गाली गर्नुछैन भन्दै लामो समय गाली गरेपछि अन्तिममा उनले बाबुरामले छाडेपछि आफूलाई आनन्द भएको समेत टिप्पणी गरे । ‘अस्ति एकदिन बाबुरामजीले भन्नु भयो, तपाईँ त मोटाउनु भएछ’ उनले हाँस्दै भने ‘अहिले मलाई आनन्द भएको छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उनले कुनै नयाँ नभै पुरानै काम र कुरा मात्र भएको बताए । ‘राजकीय सम्मानका साथ प्रधानमन्त्रीले भारत भ्रमण त गर्नुभयो यद्यपि नयाँ कुराहरु केही भएका छैनन्’ उनले भने ‘पुराना कुराहरुमा केही समझदारीहरु मात्र भएका छन् । त्यसमा भिसाका पटनम र बंगलाबन्द बन्दरगाहका बारेमा केही समझदारी भएका छन् ।

अब फेरि पहिले जस्तो नाकाबन्दी चाहिँ सामना गर्नुपर्ने छैन भन्ने मलाई लागेको छ ।’ संबिधानको बारेमा रिजर्भेसन बाँकी नै रहेको, आपूर्ति पूर्ण सुचारु नभएको उनले टिप्पणी गरे । तर राष्ट्रिय हितका बिरुद्धमा कुनै पनि सहमति, समझदारी नभएको उनले बताए ।

‘भ्रमणमा उहाँले दिन पनि केही दिएको भन्नै देखिदैन । लिएको पनि धेरै केही देखिदैन’ उनले भने ‘चिसिएको सम्बन्ध सुमधुर बनाउन वार्तालाप भयो । यसैलाई अघि बढाउनु पर्छ । ब्यापार पाराबहनका, पुननिर्माणका कुराहरु सबै पुराना कुराहरुमा मात्र समझदारी भएका छन् ।’

सरकारबाट समर्थन फिर्ता लिने कुनै योजना नभएको प्रचण्डले स्पष्ट पारे । ‘आउने सरकार पनि अब राष्ट्रिय एकताकै बन्नु पर्छ । काङ्ग्रेस समेत, मधेशी मोर्चाहरु समेतको बन्नुपर्छ’ उनले भने ‘यो सरकार ढलाउने, अर्को सरकार बनाउने भन्ने हाम्रो कुरा हुदै होइन । नेपालको आजको परिस्थितिमा राष्ट्रिय एकताको आबश्यकता छ ।

तर राष्ट्रिय सहमतिको सरकारको कुरा र सरकार ढलाउने र बनाउने बिषयमा कत्तिपनि नाता साइनो छैन ।’ राष्ट्रिय सरकार बनेपनि आफ्नो पार्टीले नेतृत्वमा दाबी नगर्ने उनले स्पष्ट पारे ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget