'मौसमले छल गर्दा' जहाज दुर्घटना

काठमाडौं/पोखरा/म्याग्दी- आधुनिक उपकरणले सुसज्जित तथा झन्डै चार दशक लामो अनुभव भएका पाइलटले उडाएको जहाज के कारण दुर्घटनाग्रस्त भयो होला? सबैसँग एउटै प्रश्न छ। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले चार महिनाअघि मात्र खरिद गरी ल्याएको १९ सिट क्षमतायुक्त 'ब्रान्ड न्यु' 'टि्वनअटर' जहाज कास्कीको पोखरा विमानस्थलबाट बुधबार बिहान ७ः५० बजे जोमसोमका लागि उडेको १० मिनेटमै (८ बजे) सम्पर्कविहीन भयो।

त्यसको झन्डै साढे पाँच घन्टापछि म्याग्दीको दाना–२ स्थित सोली घोप्टेभीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्योर।

क्यानडाको भाइकिङ कम्पनीले उत्पादन गरेको 'डिएचसी ६–४००' सिरिज तथा कलसाइन '९एन–एएचएच' भएको उक्त जहाजमा सवार सबै २३ जनाको मृत्यु भएको छ। जहाजलाई क्याप्टेन रोशन मानन्धर र को–पाइलट डिकेस नेमकुलले उडाएका थिए भने एयरहोस्टेस रमा राउत थिइन्। जहाजमा दुई नाबालसहित १८ नेपाली, एक चिनियाँ र एक कुवेती यात्रु थिए।

'अत्याधुनिक उपकरणयुक्त र टि्वनअटर जहाजकै सबैभन्दा अनुभवी पाइलटले उडाएको जहाज दुर्घटनाग्रस्त भयो भन्ने सुन्दा हामी आश्चर्यचकित छौं,' राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा एक दशक टि्वनअटर जहाज उडाएका एक वरिष्ठ क्याप्टेनले बुधबार नागरिकसँग भने, 'मेरो अनुमानमा पोखरा र जोमसोमबीचको क्षेत्रको मौसम खराब भएका कारण दुर्घटना हुन पुगेको हो।'

उनका अनुसार मौसम नै दुर्घटनाको प्रमुख कारण हो भन्ने प्रारम्भिक अनुमान गरिए पनि यो सहयोगी कारण (कन्ट्रिब्युटिङ फ्याक्टर) मात्र पनि हुन सक्छ। पोखरा–जोमसोम मात्र नभई पोखराबाट पश्चिम र उत्तरी भेगका अन्य गन्तव्य जाँदा सम्बद्ध विमानस्थल टावरबाहेक बीचको क्षेत्रको मौसमबारे पूर्वजानकारी पाउन मुश्किल पर्ने गर्छ।

यसअघि यस्तै बीच क्षेत्रको मौसम खराब हुँदा २०७० फागुन ४ गते नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज दुर्घटना हुँदा सबै १८ जनाको मृत्यु भएको थियो। त्यतिबेला काठमाडौंबाट उडेको जहाज पोखरामा इन्धन भरेर जुम्लाका लागि उडेको थियो। पोखरा र जुम्ला विमानस्थलमा मौसम सफा भए पनि बीचको क्षेत्रको मौसम खराब भएको पूर्वजानकारी पाउन नसक्दा दुर्घटना हुन पुगेको थियो।

'त्यसपछि हामीले ती क्षेत्रको मौसमको पूर्वजानकारी पाउने ठाउँ–ठाउँमा टावर राख्नुपर्छ भन्ने मागसहित सम्बद्ध निकायको ध्यानाकर्षण गराएका थियौं,' पोखरा–जोमसोम रुटमा सयौं पटक उडान गरेका निगमका ती क्याप्टेनले भने, 'घोरेपानीमा पनि टावर राख्नुपर्छ भनेका थियौं, तर कतै सुनवाइ भएन।'

उनका अनुसार ताराको उक्त जहाजमा 'ग्राउन्ड पोजिसनिङ सिस्टम' (जिपिएस) र 'टेरेन अवेरनेस वार्निङ सिस्टम' (टस) उपकरण जडित थियो। यी दुई उपकरणको सहायताबाट ककपिटभित्र बसेका पाइलटले अगाडि कति उचाइको पहाड छ, तलतिर कति गहिराइमा खोल्सा वा खोलानाला छ, अगाडितिर बादल, कुहिरो वा हुस्सु छ/छैनजस्ता धेरै जानकारी पाउन सक्छन्।

'यस्तो अत्याधुनिक उपकरण भएको जहाज अनि जीवनभरि यस्तै टि्वनअटर जहाज मात्रै उडाएका क्याप्टेन मानन्धरलाई मौसमले चक्मा दियो,' टि्वनअटर उडाइरहेका अर्का एक क्याप्टेनले भने, 'नत्र जहाज र पाइलट दुवै उत्कृष्ट हुँदाहुँदै कसरी दुर्घटना हुनसक्छ? बीचको खराब मौसमको पूर्वजानकारी नहुनु नै दुर्घटनाको कारण हो।'

पोखराबाट जहाज पूर्णक्षमता (फुल लोड) मा उडेको थियो। ती क्याप्टेनका अनुसार यस्तो जहाजले यो रुटमा सामान्य अवस्थामा १० हजार ५ सयदेखि ११ हजार ५ सय फिट उचाइमा उडान गर्छ। त्यति उचाइमा बादलको झुन्ड देखिए बिस्तारै उचाइ बढाउँदै लगेर १४ हजारदेखि अधिकतम १५ हजार फिटसम्म जानसक्छ। त्यसभन्दा बढी उचाइमा जान गाह्रो हुने गर्छ। ताराले चार महिनाअघि खरिद गरेको यो 'ब्रान्ड न्यु' जहाज त्यसयता मुश्किलले ३ सय घन्टाजति उडेको छ। प्राविधिक रूपमा यो जहाज चुस्त थियो।

'ठ्याक्कै यही कारण दुर्घटना भएको हो भन्ने तथ्यचाहिँ 'ब्ल्याक बक्स' भेटिएपछि मात्र थाहा हुन्छ,' ती क्याप्टेनले भने, 'ककपिट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रकेर्डर (एफडिआर) को रेकर्ड सुनेपछि यथार्थ बाहिर आउने छ।'

पोखरा विमानस्थल प्रमुख दीपक बरालका अनुसार बुधबार बिहान उडेको १० मिनटेमै पोखरा विमानस्थल टावरसँग जहाजको सम्पर्कविच्छेद भएको थियो। यो जहाज बिहान ८ः११ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने तालिका थियो।

'बिहान ८ बजे घोरेपानीमाथिको आकाशबाट जहाजको चालकदलले पोखरा विमानस्थल टावरसँग अन्तिमपटक सम्पर्क गरेको थियो। त्यो बेला 'जमिन देखिएको छ' भन्ने रिपोर्ट टावरलाई दिइएको थियो,' उनले भने, 'त्यसपछि जहाज जोमसोम टावरसँग सम्पर्कका लागि अगाडि बढेको थियो। त्यही नै अन्तिम सम्पर्क रह्यो। जहाज जोमसोम टावरसँग सम्पर्कमा नआएपछि हराएको पुष्टि भएको थियो।'

जहाज बेपत्ता भएको सार्वजनिक हुनासाथ काठमाडौंबाट तारा एयरले हेलिकप्टर कम्पनी एयर डाइनेस्टीका दुई र नेपाली सेनाको एक हेलिकोप्टर खोज तथा उद्धारमा खटाएको थियो। 'तीन घन्टासम्म खोज्दा पनि जहाज भेट्न नसक्नु र मौसम पनि खराब भएपछि सबै हेलिकप्टर पोखरा फर्किएका थिए,' ताराका प्रवक्ता भीमराज राईले भने, 'मौसम खुलेपछि पुनः खोज तथा उद्धारमा पठाइएको थियो।'

पश्चिम क्षेत्रका निमित्त प्रहरी प्रमुख एसएसपी महेन्द्रकुमार पोखरेलले साँझसम्ममा १९ शव संकलन गरिएको र हिउँ पर्न थालेर मौसम खराब भएपछि उद्धार कार्य रोकिएको जानकारी दिए। दुर्घटनास्थल निकै अप्ठेरो रहेका कारण शव संकलन गर्न कठिनाइ भएको उनले बताए। प्रहरी, सेना र स्थानीयले संयुक्त रूपमा खोजी कार्य गरेका थिए।

'जहाजसहित सबै शव डढेका कारण पहिचान हुन मुश्किल छ,' उनले भने, 'संकलित शव बिहीबार हेलिकोप्टरमार्फत पोखरा ल्याइनेछ र बाँकी दुई शवको खोजी कार्य पनि सुरु हुनेछ।'

निकै अग्लो र दुर्गम भेगमा जहाज खसेको हल्ला चलेपछि त्यस क्षेत्रका स्थानीय खोजीमा जुटेका थिए। दुर्घटनास्थल पत्ता लगाएका स्थानीय श्याम पुनले जहाज फेला पारेको पहिलो जानकारी प्रहरीलाई दिएका थिए। 'जंगलमा जहाज खसेको खबर पाएपछि साथीलाई बताएँ। सोली घोप्टेभीरमा ठूलो आवाज आएको गाउँलेले बताएपछि हामी दाना प्रहरीचौकीलाई जानकारी गराएर खोजीमा निस्केका थियौं,' उनले भने, 'गाउँबाट निकै टाढा भए पनि साथीहरू भेला भएर त्यता गएका थियौं। हामीले नै फेला पार्यौं ।'

को को थिए चालकदलमा?

क्याप्टेन रोशन मानन्धर

काडमाडौं, डल्लुका ५५ वर्षीय क्याप्टेन मानन्धर पछिल्लो ३७ वर्षदेखि टि्वनअटर जहाज उडाइरहेका सबैभन्दा अनुभवी र दक्ष पाइलट थिए। उनी सात वर्षदेखि तारा एयरका टि्वनअटर उडाइरहेका थिए। त्यसअघि यती एयरलाइन्समा ११ वर्ष यस्तै जहाज उडाएका थिए भने लुम्बिनी एयरवेजमा तीन वर्ष। नेपाल वायुसेवा निगममा डेढ दशक टि्वनअटर उडाएका उनी हाल तारा एयरको 'डेजिग्नेटेड चेक पाइलट' थिए। यो भनेको सबै पाइलटको दक्षता जाँच गर्ने पद हो। उनले हालसम्म २० हजार घन्टाभन्दा बढी जहाज उडाइसकेका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

को–पाइलट डिकेस नेमकुल

ललितपुर, पाटनका नेमकुल २९ वर्षका थिए। उनले सन् २०१४ मा दक्षिण अफ्रिकाबाट कमर्सियल पाइलट तालिम लिएका थिए। उनले एक वर्षअघि मात्र तारा एयरको जहाज उडाउन थालेका थिए। परिवारमा आमा, दुई दिदी र एक बहिनीसँग बस्दै आएका उनको यही वर्ष विवाह गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले बतायो।

एयरहोस्टेस रमा राउत

काठमाडौं, कुलेश्वरकी २६ वर्षीया राउत तीन वर्षदेखि तारा एयरका जहाजमा उडिरहेकी थिइन्। एयरहोस्टेस तालिम लिएर तारा प्रवेश गरेकी उनी यो पेसा छाड्ने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दियो। उनी आमा, एक दाइ र एक भाइसँग बस्दै आएकी थिइन्।

जाँच आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा 'दुर्घटना जाँच आयोग' गठन गरेको छ।

दुर्घटनाका कारण पत्ता लगाउनुका साथै भविष्यमा यस्तो दुर्घटना हुन नदिने सुझावसहित तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न आयोगलाई ९० दिन अवधि दिइएको छ। आयोगका सदस्यमा नेपाली सेनाका महासेनानी इन्जिनियर दीपक बास्तोला, नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र सिमि्रक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद काइराला छन् भने सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य छन्।

मृतक यात्रु

– रेवती बराल

– मुक्तिनाथ बास्तोला

– विनिता भट्टचन

– कृष्णलाल भट्टचन

– दिलकुमारी गौचन

– देवीजंग गुरुङ

– फेन्जोक गुरुङ

– लक्ष्मी हिराचन

– मोतिबहादुर केसी

– पवित्रा केसी

– लेप्साङ लामा

– बालकृष्ण न्युरे

– कान्छा परियार

– डोल्माछिरिङ शेर्पा

– राजकुमार तामाङ

– कमला थकाली

– चिनियाँ माकसिउ यिङ

– कुवेती रलरसेद अहमद

– पहिचान नखुलेका दुई नाबालक
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget