नेताले अंग्रेजी नबुझ्दा कार्यक्रम स्थगित




माघ २९, २०७२- जिल्लाको स्रोत नक्सा निर्माणका लागि बिहीबार दमौलीमा गरिएको परामर्श बैठकमा अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएपछि नबुझिएको भन्दै सहभागीले कार्यक्रम नै स्थगित गरेका छन् ।

जिल्ला विकास समितिले आयोजना गरेको जिल्लाको स्रोत नक्सासम्बन्धी परामर्श बैठकमा परामर्शदाता कम्पनी निस्ट प्रालिले अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरेको थियो । अंग्रेजीमा लेखिएको नबुझिएपछि दलका स्थानीय नेता र अन्य सहभागीले परामर्श दिन नसकिने भनेपछि कार्यक्रम स्थगित गरिएको हो ।

‘हामी दलका स्थानीय नेताहरूलगायत केही सहभागीलाई यो कार्यपत्रमा के छ भन्ने नै जानकारी छैन,’ एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले भने, ‘यो त सप्ताह सुनेजस्तो भयो । पण्डितले जय भनेको सुनेपछि जय भन्ने । त्यसैले नेपालीमा कार्यपत्र प्रस्तुत गरिनुपर्छ भन्दै कार्यक्रममा सहभागी भइएन ।’ परामर्श दिने जस्तो संवेदनशील विषयमा कार्यपत्र प्रस्तुत गरिँदा नेपाली भाषामा हुनुपर्ने अन्यथा अर्को अर्थ लाग्न सक्ने उनले बताए ।

अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएकाले आफूहरूले चाहेर पनि परामर्श दिन नसकेको लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष दीपक भट्टराईले बताए । नेपालीमा कार्यपत्र प्रस्तुत गरिए एकै घण्टामा कार्यक्रम सकिने दाबी उनले गरे । ‘कार्यपत्र बुझे पो विचार दिन सकिन्छ,’ उनले भने, ‘यो त अंग्रेजीमात्र पढाइ हुने विद्यालयका विद्यार्थीलाई संस्कृतको किताब थमाएजस्तो भयो ।’

कार्यक्रममा सहभागी अन्यले समेत नेपालीमा कार्यपत्र प्रस्तुत गरिनुपर्ने बताए । अंग्रेजीमा लेखिएको नबुझिएपछि कार्यक्रम गर्नुको औचित्य नभएको सहभागीले भनेपछि स्थानीय विकास अधिकारी अञ्जन न्यौपानेले तत्काललाई कार्यक्रम स्थगित भएको जानकारी गराए ।

परामर्शदाता कम्पनीलाई नेपालीमा कार्यपत्र प्रस्तुत गरी छिट्टै कार्यक्रम गर्न उनले निर्देशनसमेत दिए । ‘आधारभूत कुरालाई नेपालीमा उल्लेख गरेर कार्यपत्र प्रस्तुत गरिनुपथ्र्यो,’ न्यौपानेले भने, ‘अन्तिमपटकको परामर्श बैठक भनिएको थियो । तर, भाषागत समस्याले गर्दा अन्तिम हुन सकेन ।’ छिट्टै गरिने कार्यक्रममा मुख्य अंशहरू नेपालीमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । प्रालिका निर्देशक इन्जिनियर अंगेश्वर श्रेष्ठ, जीएस विज्ञ आनन्द पौडेल र विप्लब पराजुलीले आफूहरूले छिट्टै गरिने परामर्श बैठकमा नेपालीमा कार्यपत्र प्रस्तुत गर्ने बताए । सहज होला भन्ने ठानेर आफूहरूले कार्यपत्र अंग्रेजीमा बनाएको प्रालिका निर्देशक श्रेष्ठको भनाइ थियो ।

०७१ चैत महिनाबाट उनीहरूले जिल्लाको स्रोत नक्सा तयार गर्न जुटेको जिल्ला विकास समितिका वरिष्ठ सूचना अधिकृत राजेन्द्र कार्कीले बताए । स्रोत नक्सामा जिल्लाको प्राकृतिक, भौतिक र सांस्कृतिक स्रोत साधन, राजमार्ग र शाखा मार्गहरू, पुलहरू, धार्मिक तथा ऐतिहासिक स्थलहरू, गाविस र नगरपालिकाको कार्यालय, होमस्टे केन्द्रहरू, नागरिक सचेतना केन्द्र, नदीनाला, व्यापारिक केन्द्र गरी १६ वटा सम्पदाको नक्सांकन कार्य भइरहेको सूचना अधिकृत कार्कीले बताए ।
ekantipur.
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget