सागमा नेपालको इतिहास
सन् १९७७ को एसियन गेम्स फेडेरेसनको बैठकपछि दक्षिण एसियाली खेलकुदको परिकल्पना गरिएको थियो। सन् १९७८ मा दक्षिण एशियाली खेलकुद महासंघको स्थापना गरेर बंगलादेशले पहिलो संस्करण गर्ने निर्णय भए पनि बंगलादेशले पटकपटक आयोजना सारेको र भारत–पाकको चिसिएको सम्बन्धका बीच नेपालले पहिलो दक्षिण एसियाली खेलकुद गरेको थियो। पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न कूल २४ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव शरदचन्द्र शाहले आफ्नो संस्मरणमा उल्लेख गरेका थिए।
पहिलो दक्षिण एसियाली खेलकुद सन् १९८३ मा काठमाडौंमा आयोजना हुँदा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारत्तोलन गरी गरी ५ खेल समावेश थिए। त्यतिबेला सबैभन्दा बढी नेपालबाट १ सय ५ खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा नेपालले ४ स्वर्ण, १२ रजत र ८ कांश्य सहित २४ पदक जित्दै सात राष्ट्रमध्ये चौथो स्थान हासिल गरेको थियो।
नेपालले आठौं दक्षिण एसियाली खेलकुदमा हालसम्मकै सबैभन्दा सफल नतिजा हासिल गरेको थियो। घरेलु मैदानमा दोस्रोपटक सन् १९९९ मा दक्षिण एसियाली खेलकुद गर्दा नेपालले आयोजकका नाताले तेक्वान्दो र करातेलाई प्रतियोगितामा समावेश गरेको थियो भने यी दुई खेलबाट १४/१४ वटा स्वर्ण जित्दै नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कांस्य सहित ६५ पदक जितेर दोस्रो स्थानमा रहेको थियो।
आठौं साफबाहेक नेपाल कहिल्यै तेस्रो पनि हुन सकेको छैन। सन् १९८५ मा बंगलादेशको ढाकामा दोस्रो संस्करण हुँदा नेपालले १ स्वर्ण, ९ रजत र २२ कांस्य गरी कुल ३२ पदक जित्दै पाँचौं स्थानमा चित्त बुझाएको थियो। ढाकामा एथलेटिक्सका धावक बैकुण्ठ मानन्धरले जितेको स्वर्ण नेपालको एकमात्र पहिलो पदक थियो।
भारतको कलकत्तामा दुई वर्षपछि तेस्रो संस्करण भयो। त्यहाँ पनि नेपालले पाँचौं स्थानमै चित्त बुझायो। कलकत्तामा नेपालले दुई स्वर्ण, ७ रजत र ३३ कांस्यसहित कुल ४२ पदक जितेको थियो। मानन्धरले कलकत्तामा २ घन्टा १५ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी तय गर्दै म्याराथनमा स्वर्ण पदकको ह्याटि्रक गरेका थिए। काठमाडौंमा भएको पहिलो संस्करणमा पनि स्वर्ण जितेका मानन्धरले कलकत्तामा भने कीर्तिमानी टाइमिङका साथ स्वर्ण जितेका थिए। कलकत्तामा उनले त्योबेला बनाएको कीर्तिमान अहिलेसम्म दक्षिण एसियामै कसैले तोड्न सकेका छैनन्।
त्यस्तै पाकिस्तानको इस्लामाबादमा १९८९ मा भएको चौथो साफमा नेपाल १ स्वर्ण, १३ रजत र ३२ कांस्यसहित ४६ पदक जितेर चौथो भयो। श्रीलंकाको कोलम्बोमा १९९१ मा पाँचौं संस्करण हुँदा नेपालले २ स्वर्ण, ८ रजत र ३० कांस्यसहित ४० पदक जितेर पाँचौं स्थानमा चित्त बुझायो।
बंगलादेशले दोस्रोपटक साफ आयोजना गर्ने क्रममा सन् १९९३ मा दक्षिण एसियाका सात देशलाई ढाका निम्त्यायो। त्यतिबेला नेपाल १ स्वर्ण, ६ रजत र १५ कांस्य गरी कुल २२ पदकका साथ पाँचौं स्थानमै खुम्चियो।
त्यसपछि भारतले दोस्रोपटक साफ आयोजना गर्यो । मद्रासमा सन् १९९५ मा भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण, ८ रजत र १६ कांस्यसहित २८ पदक जितेर पाँचौं स्थान हासिल गर्योर।
प्रत्येक दुई वर्षमा हुने भन्दै काठमाडौंबाट सुरु भएको प्रतियोगिता दोस्रो पटक काठमाडौंले नै गर्दा भने चार वर्ष लाग्यो। साफको आठौं संस्करण दक्षिण एसियाली देशबीचको नाजुक राजनीतिक सम्बन्धका कारण समयमा हुन सकेको थिएन। नेपालले सन् १९९७ मा गर्नुपर्ने भए पनि १९९९ मा मात्र हुन सकेको थियो। त्यसपछि यो प्रतियोगिताको १० औं संस्करणबाहेक कहिल्यै पनि नियमित दुई वर्षमा हुन सकेको छैन।
पाकिस्तानले दोस्रोपटक प्रतियोगिता आयोजनाको अवसर पाए पनि नवौं संस्करण इस्लामावादमा हँुदा काठमाडौंबाट बिदा भएको पाँच वर्ष वितिसकेको थियो। पाकिस्तानले समयमै तयारी गरे पनि अमेरिकाको टि्वन टावरमा भएको हमलाका कारण दुईपटक नवौं साफ सरेको थियो। इस्लामावादमा २००४ मा नवौं साफ हुँदा नेपालले ७ स्वर्ण, ६ रजत र ९ कांस्य गरी २२ पदकका साथ चौथो स्थान हासिल गरेको थियो।
आन्तरिक द्वन्द्वबाट मुक्ति पाइसकेको कारण श्रीलंकाले सन् २००६ मै कोलम्बोमा १० औं साग आयोजना गर्योि। यही संस्करणदेखि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का नाममा हुँदै आएको प्रतियोगितालाई दक्षिण एसियाली खेलकुद (साग) मा रुपान्तरण गरियो। कोलम्बोमा नेपालले ९ स्वर्ण, १५ रजत र ३१ कांस्यसहित ५५ पदक जितेर चौथो स्थान हासिल गरेको थियो। तर दोहोरो स्वर्ण जितेका राजेन्द्र भण्डारी डोपिङ परीक्षणमा असफल भएपछि नेपालले ती दुई स्वर्ण गुमाउनु परेको थियो।
पाँच वर्षअघि बंगलादेशको ढाकामा ११ औं संस्करण आयोजना हुँदा नेपालले ८ स्वर्ण, ९ रजत र २० कांस्यसहित कुल ३७ पदक जितेर पाँचौं स्थानमा चित्त बुझायो।
दक्षिण एसियाली खेलकुदमा दीपक विष्ट सबैभन्दा सफल नेपाली खेलाडी हुन्। तेक्वान्दो खेलाडी बिष्टले दक्षिण एसियाली खेलकुदको आठौं देखि एघारौं संस्करणसम्म सबैमा स्वर्ण पदक जितेका छन्। दक्षिण एसियाली खेलकुदको लगातार ४ संस्करणमा स्वर्ण जित्ने उनी दक्षिण एसियाकै पहिलो खेलाडी हुन्।
दक्षिण एसियाली खेलकुदका अर्का नेपाली नायक हुन्, बैकुण्ठ मानन्धर। मानन्धरले पहिलो देखि तेश्रो संस्करणसम्म म्याराथनमा स्वर्ण जितेका थिए। उनले कोलकातामा सन् १९८७ मा सम्पन्न तेस्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण तथा २ घण्टा १५ मिनेट ३ सेकन्डमा म्याराथन पूरा गर्ने कीर्तिमान पनि बनाए।
दक्षिण एसियाली खेलकुदमा नेपालका राजेन्द्र भण्डारीको चर्चा भने फरक तरिकाले भयो। एथ्लेटिक्सका भण्डारीले सन् २००६ मा श्रीलंकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा दुइटा स्वर्ण जिते तर लगत्तै उनी डोपिङ परीक्षणमा असफल भए र उनको पदक खोसियो। उनी दुई वर्षका लागि खेल जीवनबाट निलम्बित भए। तर भण्डारीले सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा रोड रेसको स्वर्ण जित्दै आफूमाथि लागेको दाग मेटाए र आफूलाई नायक साबित गरेरै छाडे।
तेक्वान्दो र करातेलाई दक्षिण एसियाली खेलकुदमा समावेश गरिएपछि यी खेलले नेपाललाई सधैं स्वर्ण पदक दिलाउँदै आएका छन्। मार्सलआर्टभित्रैका उसु र जुडोले पनि नेपाललाई पटकपटक स्वर्ण पदक दिलाएका छन्।
बक्सिङले हालसम्म ६ स्वर्ण दिलाएको छ। दलबहादुर रानामगर, पुष्करध्वज शाही, चित्रबहादुर थापा जस्ता स्वर्णधारी नेपाललाई दिएको बक्सिङ पछिल्लो दिनमा फेरि पदक हात पार्न प्रयासरत छ। भारोत्तोलनले नेपाललाई सबैभन्दा बढी कांस्य पदक दिलाए पनि १० औं संस्करणमा कमलबहादुर अधिकारीले दिलाएको स्वर्ण नै भारत्तोलनले हासिल गरेको सबैभन्दा ठूलो सफलता हो। नेपालले फुटबलमा पहिलो र छैटौं संस्करणमा स्वर्ण जितेको थियो। छैटौं संस्करणमा एक मात्र स्वर्ण फुटबलले दिलाएको थियो।
दक्षिण एसियाली खेलकुद अहिलेसम्म सबभन्दा बढी बंगलादेशले तीन पटक गरेको छ भने भारत तेस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको छ। यसैगरी नेपाल, श्रीलंका र पाकिस्तानले दुई/दुई पटक आयोजना गरेका छन्। नेपाल आगामी संस्करणको आयोजक हो। सागका बाँकी सहभागी अफगानिस्तान, माल्दिभ्स र भुटानले अहिलेसम्म आयोजना गरेका छैनन्। आठौं संस्करणसम्म सात देशको मात्र सहभागिता रहेको प्रतियोगिताको नवौं संस्करणमा अफगानिस्तान पनि मिसिएपछि साग ८ देशको साझा प्रतियोगिता भएको हो।
दक्षिण एसियाली खेलकुदमा नेपाल
कहिले- स्वर्ण- रजत- कास्य- कुल स्थान
प्रथम १९८३, काठमाडौं, ४, १२, ८, २४, चौथो
दोश्रो १९८५, ढाका, १, ९, २२, ३२, पाँचौं
तेश्रो १९८७, कलकत्ता, २, ७, ३३, ४२, पाँचौं
चौथो १९८९, इस्लामाबाद, १, १३, ३२, ४६, चौथो
पाँचौं १९९१, कोलम्बो, २, ८, ३०, ४०, पाँचौं
छैटौं १९९३, ढाका, १, ६, १५, २२, पाँचौं
सातौं १९९५, मद्रास, ४, ८, १६, २८, पाँचौं
आठौं १९९९, काठमाडौं, ३१, १०, २४, ६५, दोश्रो
नवौं २००४, इस्लामाबाद, ७, ६, ९, २२, चौथो
दशौं २००६, कोलम्बो ९, १५, ३१, ५५, चौथो
एघारौं २०१०, ढाका, ८, ९, २०, ३७, पाँचौं
nagariknews
Post a Comment