अघिल्लो वर्ष नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सन् २०२० सम्म आउने रेललाई काठमाडौंसम्म विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन अघि बढाउन आग्रह गरेका थिए ।
तिब्बत सरकारका प्रमुखले नेपालले चाहेको स्थानमा ‘इकोनोमिक कोअपरेसन जोनु स्थापना गर्ने इच्छा व्यक्त गरेको ढुंगेलले बताए । चीनको १३ औं पञ्चवर्षीय योजना (२०१६–२०२०) मा नेपालको हुम्लामा पर्ने हिल्सा र तिब्बतको पुराङ जोड्ने नाका सञ्चालनमा ल्याउने विषय समेटिएको हो ।
कार्यवाहक महावाणिज्यदूत ढुंगेलका अनुसार तिब्बतको पिपुल्स कंग्रेस तथा पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका हालैका वार्षिक बैठकहरूमा उक्त योजना पनि उल्लेख गरिएको थियो । बैठकमा ल्हासास्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्याल पनि सहभागी भएका थिए ।
पिपुल्स कंग्रेसको बैठकमा तिब्बत सरकारका प्रमुख लोसाङ ज्याङछुनले सन् २०१६ देखि २०२० सम्मका लागि पञ्चवर्षीय योजना तथा सन् २०१६ का लागि तिब्बतको नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पिपुल्स कंग्रेसको सत्रमा तिब्बत सरकारका प्रमुख लोसाङले पेस गरेको प्रतिवेदनमा १२ औं योजना अवधिमा तिब्बतको कुल गार्हस्थ उत्पादन एक सय खर्ब चिनियाँ युआन पुगेको छ । तिब्बतको सन् २०१६ को नीति तथा कार्यक्रममा सिगोत्से आइपुगेको रेलमार्गलाई नेपाल–चीन सीमा क्षेत्र केरुङसम्म विस्तार गर्ने योजना विशेष प्राथमिकतामा राखिएको छ ।
तिब्बतको बेरोजगारी २.५ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । त्यस्तै तिब्बतका सरकार प्रमुखले ९१ खर्ब युआन गरिबी निवारणका लागि खर्च भई पाँच लाख जनतालाई गरिबीबाट मुक्त गरिएको र तिब्बतमा बस्ने जनताको औसत आयु ६८ वर्ष पुगेको आँकडा पेस गरेका थिए ।
यसैबीच बस्यालको कार्यकाल पूरा भएको अवसरमा ल्हासास्थित महावाणिज्यदूतावासले चिनियाँ अधिकारीलाई निमन्त्रणा गरी एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा तिब्बत सरकारका प्रमुख लोसाङलगायत उच्च अधिकारी सहभागी थिए । सन्तोष घिमिरे, अन्नपूर्ण पोष्ट दैनिकबाट
Post a Comment