उसुमा विश्वलाई एतिहासिक रजत पदक

माघ २७, २०७२- नेपालले १२ औं दक्षिण एसियाली खेलकुद -साग) को पाचौं दिन मंगलबार एक रजत र सात कांस्यपदक थपेको छ । यससगै नेपालको पदक संख्या १ स्वर्ण, ५ रजत र १५ कांस्यसहित कुल २१ पुगेको छ ।

उसु
उसुको सफलतालाई निरन्तरता दिदै विश्व बुढामगरले मंगलबार थाउलोमा रजत पदक जितेका छन् । यससगै नेपालले ११ सागको उसुमा थाउलोबाटै ५ पदक जितेको छ । नीमा घर्तीमगरले अघिल्लो दिन नेपाललाई पहािले स्वर्ण दिलाइन् भने विजय सिन्जाली, सुस्मिता तामाङ र युवराज थापाले पनि रजत जितेका थिए ।

सिलोङस्थित राइजिङ सन स्पोर्टस कम्प्लेक्समा भएको खेलमा विश्वले थाउलोको कुन्सु-ताउसु स्पर्धामा कुल १७.८५ अंक जोडै रजत हात पारेका हुन् । उनले कुन्सुमा ८.७५ र ताउसुमा ९.१० अंक बनाएका थिए । यसमा भारतका चिराग शर्माले स्वर्ण जिते । पाकिस्तानी खेलाडीले कांस्य हात पारे ।

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएका २१ बर्षीय विश्वले भने, ‘स्वर्ण जित्ने लक्ष्यसहित आएको थिए । राम्रो गरेको थिए तर रेफ्रिले के गरे के गरे थाह छैन । तैपनि पदक भने पाए । त्यसैले दुखी पनि छु खुशी पनि ।’

आर्मीमा आबद्ध उनले थपे, ‘अब सेप्टेम्बर, २०१६ मा हुने एसियन उसु च्याम्पियनसिपमा राम्रो गर्ने लक्ष्यसाथ तयारी गर्नेछु ।’
थाउलोमा सहभागि सात खेलाडीमध्ये थाइची छ्वानको पुरुषमा हरिप्रसाद गोले र महिलातर्फ सविता राईले वुधबार स्वर्णपदकको लागि प्रतिस्पर्धा गर्दैछन् । मंगलबार भएको पहिलो चरणको खेलपछि उनीहरु दोस्रो स्थानमा छन् ।

उसुकै सान्सौतर्फ राजेश चौधरी ५६ केजीमुनी स्पर्धाको सेमिफाइनलमा श्रीलंकाका पुष्प कुमारालाई २-० ले हराएर फाइनल प्रवेश गरेका छन् । उनले फाइनलमा भारतका रवि पाञ्चलसँग प्रतिस्पर्धा गर्नेछन् । उनी सान्सौमा कम्तीमा रजतपदक पक्का गर्ने चौथो खेलाडी हुन् ।

यसअघि नै महिलातर्फ ५२ केजीमुनि झरना गुरुङ, ६० केजीमुनि जुनी राई र ७० केजीमुनि विन्दु पुनमगर फाइनल पुगीसकेका छन् । तीनै खेलाडीले फाइनलमा भारतीय खेलाडीको सामना गर्नेछन् । उनीहरुसहित उसुको अन्तिम दिन वुधबार नेपालले ६ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

सान्सौको पुरुष ६५ केजीमुनि सरोज पुनको चुनौती भने प्रारम्भिक चरणमै समाप्त भयो । अफगानिस्तानको शेख इभसँग भिडा चोट लागेपछि उनले खेल त्यागेका थिए ।

आर्चरीमा एतिहासिक पदक
आर्चरीको अन्तिम दिन मंगलबार प्रेमप्रसाद पुनले श्रीलंकाली खेलाडी निपुन सेनेविरत्नेलाई ६-० ले हराएर रिकर्भको व्यक्तिगत स्पर्धामा कांस्य पदक जितेका छन् । सागको आर्चरीमा नेपालले व्यक्तिगत स्पर्धा जितेको यो पहिलो पदक हो । र, सागमा नेपालले जितेको यो दोस्रो पदक पनि हो । यसअघि नेपालले ११ औं सागमा रिकर्भकै पुरुष टिम स्पर्धामा कांस्य हात पारेको थियो । त्यस टिममा थिए, प्रेम ।

स्वर्णविजेता भारतका तरुणदीप राई (विश्व च्याम्पियनसिपमा २ रजत, एसियाडमा १ रजत विजेता पनि) सँग सेमिफाइनलमा २-४ ले हारेपछि कांस्यको लागि भएको प्रतिस्पर्धामा प्रमले उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी जित निकालेका हुन् । ६ देशका २४ खेलाडी यसमा चौथो वरीयता पाएका ४४ बर्षीय उनले भने, ‘रजतसम्म जित्नसक्ने सोचेको थिए । त्यसैले सन्तुष्ट भने छैन । तैपनि ऐतिहासिक पदक जित्न पाउदा एकदमै खुशी छु । नातेदार, साथीभाईलगायत सबैको सहयोगले गर्दा पदक हात पार्नसके ।’

अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उनको पाचौं पदक हो । यसअघि उनले दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा ३ पदक जितेका थिए । त्यसको पहिलो संस्करण (२००६/ढाका) मा उनले पुरुष टिम स्पर्धामा कांस्य, दोस्रो संस्करण (२००८/जमसेदपुर) मा व्यक्तिगत स्पर्धाका ३० मिटर डिस्टेन्समा स्वर्ण र रिकर्भ अलराउन्डमा रजत जितेका थिए ।

पुरुषका चार, महिलातर्फ दुई र मिक्समा एक गरी सात स्पर्धामा नेपालका १२ खेलाडी सहभागि थिए । ‘प्रदर्शन राम्रो भयो तर पदकनजिक पुग्दा सबभन्दा बलिया भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपऱ्यो । त्यसैले एकै पदकमा चित्त बुझाउनुपऱ्यो,’ टिम म्यानेजर वसन्त थकालीले बताए । यसपल्ट आर्चरीका सबै स्पर्धामा भारतले स्वर्ण जित्यो ।

भारोत्तोलन
तारादेवी पुनले ७५ केजी स्पर्धामा कांस्यपदक हात पारेकी छिन् । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९५ केजीसहित कुल १ सय ६५ केजी उठाएर कांस्य जितेकी हुन् ।
गुवाहाटीमा भएको खेलमा रजत हात पार्ने अभियानमा १ सय ३ केजी उठाउने प्रयास गरेपनि त्यसमा उनी सफल भइनन् । यसमा भारतले स्वर्ण र श्रीलंकाले कांस्य जिते ।

नेपालगन्जमा तीन बर्षअघि भएको पहिलो दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण जितेकी ताराले अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रोपल्ट पदक जितेकी हुन् । ताराको सफलतासँगै भारोत्तोलनमा नेपालको पदक १ रजत र ३ कांस्य पुग्यो ।

भलिबल
नेपाली महिला टिमले माल्दिभ्सलाई २५(२०, २५-१५, २५-१३ ले हराएर कांस्यपदक प्राप्त गरेको छ । नेपाललाई सेमिफाइनलमा हराएको भारतले फाइनलमा श्रीलंकालाई ३-० ले पन्छाउदै स्वर्ण जित्यो ।

दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले तेस्रोपल्ट कांस्य जितेको हो । यसअघि १९९९ र २००६ मा कांस्य हात पारेको थियो । यी दुवै टिममा अहिलेकी कप्तान बिनिता बुढाथोकी थिइन् । दस बर्षअघि कांस्य जित्दा मन्जु गुरुङ र कोपिला उप्रेती पनि टिममा थिए ।

खो खो
नेपालले खो खोमा पनि दुई कांस्य जितेको छ । पहिलोपल्ट सागमा समावेश यस खेलमा नेपालले पुरुष र महिला दुवैमा कांस्य हात पारेको हो । दुवैमा श्रीलंकालाई हराएर नेपालले तेस्रो स्थान हात पारेको थियो । महिला टिले २०-४ र पुरुषले १५-११ को जित निकाल्यो । सागमा महिला हकीलाई पहिलोपल्ट राखिएको हो ।

टेबलटेनिस
नवीता श्रेष्ठ र एलिना महर्जन टेबलटेनिसको महिलातर्फ मिक्स डबल्सको सेमिफाइनलमा भारतसँग ५-११, ६-११ र ७-११ ले पराजित भयो । क्वाटरफाइनलमा श्रीलंकालाई पराजित गरेका यी नन्द-भाउजूको जोडीले अन्तिम चारमा रोकिएपछि कांस्य पाउनेछन् ।

फुटबल- नेपाल सेमिफाइनलमा
नेपाली पुरुष फुटबल टिम समूह चरणको एक खेल अगावै १२ औं सागको सेमिफाइनल प्रवेश गरेको छ ।

गुवाहाटीस्थित नेहरु स्टेडियममा मंगलबार भएको खेलमा बंगलादेश र भुटानले १-१ को बराबरी खेलेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ५-० ले हराएको थियो । त्यससँगै नेपाल ३ अंकसहित समूहको शीर्षस्थानमा छ । बंगलादेश र भुटानको १-१ अंक छ । नेपाल र बंगलादेशवीच विहीबार हुने खेलले सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लगाउनेछ ।

नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो । कोलम्बो साग २००६ मा कांस्य जितेयता नेपाली पुरुष फुटबल टिमले पदक हात पार्न सकेको छैन ।

एथलेटिक्समा पहिलो दिन हरिलाई पदक
हरिकुमार रिमालले ५ हजार मिटरमा कांस्य हात पारेका छन् । उनले गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा १४ मिनेट ३२.१८ सेकेन्डको व्यक्तिगत उत्कृष्ट समयसाथ कांस्य जितेका हुन् ।

उनको यसअघि उत्कृष्ट समय १४ मिनेट ३८ सेकेन्ड थियो । यसमा भारतका मानसिंह (१४:०२.०४) ले स्वर्ण र सेरेशकुमार (१४:०२.७०) ले रजत हात पारे ।
‘एथलेटिक्समा पहिलो दिन नै पदकको सुरुआत भएको छ । अरु केहि स्पर्धामा पनि राम्रो भएको छ,’ एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंहले भने, ‘खेलाडीहरु राम्रो लयमा छन् । त्यसैले थप पदक जित्ने विश्वास छ ।’

महिलातर्फ शटपुटमा चन्द्रकला लाम्गादेले ११.०३ मिटर दूरी पार गराएर राष्ट्रिय कीतिृमान बनाइन् । उनले दशरथ रंगशालामा भएको यो सागको छनोटमा बनाएको १०.७५ मिटरको कीर्तिमानलाई अहिले सुधार गरेकी हुन् ।

सोमबहादुर कुमाल ८ सय मिटरको हिटमा चौथो भएर फाइनल चरण पुगेका छन् । उनको समय १ मिनेट ५५.९५ सेकेन्ड रह्यो । उनी ४ सय मिटरमा फाइनल पुगेका थिए । तर मांशपेशीमा सामन्य समस्या भएपछि उनी चिकित्सकको सल्लाहअनुसार फाइनलमा दौडिएनन् ।

एथलेटिक्सको पहिलो दिन महिलातर्फ ५ हजार मिटरमा विश्वरुपा बूढा १८ मिनेट ५७.२४ सेकेन्डसहित चौथो भइन् । यसमा श्रीलंकाली युकेएन रत्नायके (१७:००.८५) ले कांस्य जितिन् । महिलातर्फ ८ सय मिटरमा सरस्वती भट्टराई (२ मिनेट १४.३५ सेकेन्ड) पाचौं भइन् ।

पुरुषको १ सय मिटरमा यमसजन सुनार हिट्समा १०.९२ सेकेन्डसहित फाइनल चरणमा प्रवशे गरेका थिए । तर, ११.०१ सेकेन्डमा दूरी पार गरेपछि उनी आठ स्प्रिन्टर सहभागि फाइनलमा आठौं भएका थिए । यसमा महिलातर्फ कृष्णाकुमारी चौधरी पनि हिट्स पार गरेपनि फाइनलमा अन्तिम स्थानमा रहिन् । यसमा सरस्वती भट्टराई हिटबाटै बाहिरिइन् ।

पौडीमा गौरिकालाई तेस्रो कांस्य
१३ बर्षीय किशोरी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा पनि राष्ट्रि कीतिृमानसहित कांस्यपदक जितेकी छिन् । यो उनको तेस्रो कांस्य हो । उनले सबै पदक व्यक्तिगत स्पर्धामा जितेकी हुन् ।

उनी सागको एकै संस्करणमा फरक तीन विधामा पदक जित्ने पहिलो नेपाली खेलाडी भइन् । यसअघि उनले १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य हात पारेकी थिइन् । उनले पौडीको अन्तिम दिन वुधबार २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा पनि पदक जित्ने संभावना रहेको प्रशिक्षक ओङेन लामाले बताए ।

गुवाहाटीस्थित डा.जाकिर हुसेन अक्वाटिक्स कम्प्लेक्समा ४ मिनेट ४०.९३ सेकेन्डसहित ४ सय मिटर फ्रिस्टाइलमा कांस्य हात पारेकी हुन् । उनले ५ मिनेट ७.९१ सेकेन्डको सोफिया शाहको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । यसमा स्वर्ण र रजत भारतीय खेलाडीले जिते ।

५० मिटर ब्याकस्ट्रोकमा ३२.५७ सेकेन्डसहित फाइनलमा चौथो भइन् । यसमा उनले हिट्समाभन्दा बढी समय लगाएकी हुन् । विहान भएको हिट्समा ३१.८७ सेकेन्डसहित उनले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान (३५.८५ सेकेन्ड) सुधार गरेकी हुन् । चार सय मिटर फ्रिस्टाइलको समय उनको २४ औं राष्ट्रिय कीर्तिमान हो ।

 ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget