आज सार्वजनिक बिदा

माघ २७, २०७२- सरकारले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको आकस्मिक बैठकले स्व. कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको कानुनमन्त्री अग्नि खरेलले जानकारी दिए ।

मन्त्री खरेलका अनुसार बैठकले कोइरालाको निधनमा शोक मनाउन बुधबार सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ ।

 लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, कांग्रेस सभापति एव व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाको निधनबाट नेपाल सरकार स्तब्ध भएको उल्लेख गर्दै बैठकले यस दु:खद घडीमा दिवंगत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन्’ मन्त्रिपरिषदको निर्णयमा छ ।

खरेलका अनुसार सरकारले दु:खको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवं कांग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । उनका अनुसार कोइरालाको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग सबैले आत्मसात् गर्न सक्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास सरकारले व्यक्त गरेको छ ।



kantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget