यी हुन् सुशील कोइरालाका ‘दोषी’, जसका कारण अचानक निधन भयो ?

काठमाडौं, २८ माघ । कांग्रेस सभापति सुशील कोइरालाको देहावसान उचित स्याहारसम्भार नहुनाले भएको बुझिएको छ । कोइरालाको निवासस्थान सूत्रबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री पदबाट हटेपछि उहाँको परिवारका सदस्यहरू लाखापाखा लागेका थिए । प्रधानमन्त्री पदमा रहँदा अमेरिकाबाट कोइरालाको देखभाल गर्न नेपाल आएकी बुहारी प्रभा भण्डारी उहाँ पदमुक्त भएलगत्तै अमेरिका फर्केकी छिन् । सुशील कोइरालालाई औषधि सेवन गराउने र आवश्यक हेरचाह गर्ने काम पहिले भाञ्जीबुहारी प्रभाले नै गर्दैै आएकी थिइन् ।

त्यसो त कोइराला प्रधानमन्त्री रहनुहुँदा उहाँको हेरविचार गर्न परिवारका सदस्यहरूबीच एकप्रकारको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो । मृदुला कोइराला र प्रभा भण्डारीबीच हुने प्रतिस्पर्धाबारे कहिलेकाहीँ पत्रपत्रिकाले पनि समाचार प्रकाशित गर्ने गर्दथे । स्वकीय सचिवका रूपमा रहेका रमेश भण्डारी मृदुला बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा प्रवेश गरेको हेर्न चाहँदैनथे । सुशील कोइरालाकी दिदी पनि मृदुला सुशीलसँग निकट भएको हेर्न चाहँदैनथिन् र बेलाबेलामा सुशीललाई सम्झाउने गर्दथिन् । तथापि औषधि, पानी र ममता दिन मृदुलाले छोडिनन् । दिदी, भाञ्जा, भाञ्जीबुहारी र मृदुलाबाहेक परिवारका अन्य सदस्यहरूले पनि सुशील कोइरालाको हेरचाह गर्ने प्रतिस्पर्धामा भाग लिने गर्दथे ।
तर, प्रधानमन्त्री पदबाट सुशील मुक्त भएपछि भने परिस्थिति बदलियो । महाराजगञ्जस्थित डा. सशाङ्क कोइरालाको घरमा आश्रय लिन जानुभएपछि भाञ्जीबुहारी प्रभा अमेरिका फर्किइन् ।
t
भाञ्जा रमेश भण्डारी आफूलाई मामाले योग्यता–क्षमताअनुसार जिम्मेवारी नदिएको भनेर मामा सुशीललाई भेट्नै जान छोडेका थिए । सशाङ्क कोइराला पहिलेदेखि नै टोखा बस्दै आएका थिए । कहिलेकाहीँ सुशीलको निवास (सशाङ्कको घर)मा देखापर्ने मृदुला कोइराला विगत पन्ध्र दिनदेखि विराटनगरमै थिइन्, सुशीलको हेरचाह गर्नेतिर उनको कुनै रुचि देखिँदैनथ्यो । भतिजा अतुल कोइरालाले दिउँसोको समयमा गएर पीएको हैसियतमा काम गरे पनि साँझ, बिहान र राति कोइरालाको हेरचाह गर्ने फुर्सद उनीसँग थिएन । काम गर्ने दुईजना केटाहरूको भरमा बसेका सुशीलले कैयन दिनदेखि उचित स्याहार पाएका थिएनन् । चौबीसै घन्टा न्यानो–तातोमा बस्नुपर्ने कोइरालालाई न्यानोको उचित व्यवस्था पनि भइरहेको थिएन ।

निमोनिया भएमा उनको प्राण रक्षा गर्न नसकिने भनाइ चिकित्सकहरूको थियो ।
क्रोनिक ब्रोङ्काइटिसबाट पीडित सुशील क्यान्सरको औषधि खाँदै थिए । तातोको उचित व्यवस्था हुन नसकेपछि सुशील दुई दिनदेखि बिरामी थिए । सोमबार (माघ २५ गते) राति दश बजेपछि श्वास–प्रश्वासमा कठिनाइ उत्पन्न भएकोले उनलाई न्यानो दिने र स्वास्थ्यस्थिति सामान्य बनाउने प्रयास भएको थियो । तर, त्यसपछि पनि उनलाई निरन्तर गहिरो खोकी लागिरह्यो र अन्तत: खोक्नसमेत नसक्ने अवस्थामा उनी पुगेका थिए । खोक्न खोज्दै गर्दा उनको प्राण गएको बुझिएको छ । कांग्रेसको क्षेत्रीय अधिवेशनमा आफ्नो पक्ष कमजोर भएको रिपोर्ट प्राप्त भएपछि परिवारका सदस्यहरू (डा. सशाङ्क र सुजाता) को भविष्यलाई लिएर उनले चिन्ता प्रकट गर्न थालेका थिए ।

यही चिन्ताका बीच शनिबारदेखि सुशील बिरामी परेका थिए । बेलाबेलामा त्यसप्रकारको समस्या देखिने र सामान्य उपचार या हेरचाहपछि ठीक हुने भएकोले यसपटक पनि कोइरालालाई केही हुँदैन भन्ने विश्वास घरमा रहेका सहयोगीहरूमा थियो । खाना बनाउने रमेश र श्याम नामक सहयोगीहरूलाई सुशील कोइरालाको बेडरुमसम्म जान रोक लगाइएको थियो । राति दश बजे सुशीलले मलाई अलिक गाह्रो भयो भनेपछि सहयोगीहरूले चिकित्सक बोलाएका थिए ।

उनलाई सामान्य अवस्थामा फर्काउन प्रयास गर्दागर्दै राति बाह्र बजेर पचास मिनेट जाँदा उनले घरैमा प्राण त्याग गरेका थिए । परिवारका सदस्यहरूबाट पहिलेझैँ सुशील कोइरालाको राम्रो हेरचाह भएको भए र क्षेत्रीय अधिवेशनको परिणाम आफ्नो पक्षमा उत्साहजनक भइदिएको भए यसरी सुशील कोइरालाले अचानक प्राण त्याग गर्ने अवस्था नआउन पनि सक्थ्यो भन्ने धेरैको भनाइ छ । पदमा रहँदा अगाध माया–ममता दर्शाउने परिवारका सदस्यहरूले सुशील पदमुक्त हुनेबित्तिकै मरेका जीवलाई उपियाँले छोडेझैँ नछोडिदिएका भए अझै केही समय सुशील जीवित रहन सम्भव थियो । आफूले क्यान्सर खाइसकेको दाबी त सुशील कोइरालाले केहीअघि नै गरिसकेका थिए । घटना र विचार साप्ताहिकमा समाचार छ ।
news24

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget