देवीले दिलाइन् पहिलो पदक
गुवाहाटी : १२ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन शनिबार नेपालले एक रजतसहित तीन पदक जितेको छ । सागमा भारोत्तोलन खेलले नेपालाई सुखद नतिजा दिलाएको छ ।
गुवाहाटीमा भएको भारोत्तोलन खेलमा नेपालका लागि विकास थापाले रजत र देवी चौधरीले कांस्य पदक जितेका छन् । नेपालका लागि अर्को कांस्य कुस्तीका सरोज यादवले दिलाए ।
भरोत्तोलनतर्फ विकासले ६२ केजी तौलमा रजत पदक जितेका हुन् । कुल दुई सय ४२ केजी भार वहन गरेका विकासले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ३० केजी तौल उठाएका थिए । स्न्याचतर्फ विकासले राष्ट्रिय कीर्तिमान समेत कायम गरे । यसअघि उक्त कीर्तिमान एक सय १० केजीको थियो ।
विकासले आफू र प्रशिक्षकको मिहिनेतले नै पदक जितेको बताए । नेपाल पुलिस क्लबका विकासले नेपालमै भएको दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा पनि रजत पदक जितेका थिए ।
उक्त स्पर्धामा भारतले स्वर्ण जित्यो । भारोत्तोलनकै महिला ४८ केजीमा नेपालकी मोनिसा रानाभाट चौथो र पुरुषतर्फ ५६ केजीमा प्रकाश केसी पाँचौं भए । केसीको स्पर्धामा पाँच खेलाडीले मात्र भाग लिएका थिए ।
प्रतियोगितामा नेपालले पदकको उद्घाटन पनि भारोत्तोलनबाटै गरेको थियो । देवीले ५३ केजी तौल समूहमा नेपालका लागि पहिलो पदक प्राप्त गरिन् । उनी सागमा भारोत्तोलनतर्फ पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन् ।
गुवाहाटीस्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडियममा चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिइन् ।
सप्तरीकी चौधरी नेपाल पुलिस क्लबकी खेलाडी हुन् । ‘म धेरै खुसी छु । खेल्नुअघि बिरामी थिए, तर पनि हरेस खाइनँ । नसोचेको सफलता पाएँ जस्तो लाग्छ, भविष्यमा अझै मिहिनेत गर्नेछु’, देवीले भनिन् ।
उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । आठ वर्षयता उनी भारोत्तोलनमा सक्रिय छिन् । भारोत्तोलनका पूर्व प्रशिक्षक पार्थसारथी सेन गुप्ताले महिला भारोत्तोलनलाई एक्सपोजर दिने उद्देश्यले सागमा समावेश गरेको बताए । यसैगरी भारोत्तोलनकै ४८ केजी तौल समूहमा मनीषा राना चार खेलाडीमा चौथो भइन् ।
कुस्तीमा सरोजले ६५ केजी तौलको फ्रिस्टाइलमा पदक जितेका हुन् । उक्त तौल समूहमा भारतका रजनिशले स्वर्ण र पाकिस्तानका नदरले रजत पदक हात पारे । पुरुषकै ५७ केजी तौल समूहमा नेपालका जयमंगल यादव पाँचौं भए ।
नेपाली महिला कुस्ती टोलीका तीन खेलाडी शर्मिला राई, सुमित्रा राई र कविता पुन भने पहिलो चरणबाटै बाहिरिए । सागमा महिला कुस्ती पहिलोपटक समावेश गरिएको हो ।
क्वार्टरफाइनमा रोकिए अरहन्त
स्क्वासतर्फ नेपालका अरहन्तकिशोर सिंह क्वार्टरफाइनलमा पराजित भएका छन् । पाकिस्तानका नासिर एकवालसँग भएको खेलमा अरहन्त ४–११, १०–१२, ०–११ ले पराजित भए । उनले पहिलो खेलमा बंगलादेशका महमद सोपन फरवेजलाई पराजित गरेका थिए ।
दुई वर्ष बेलायतको वाइस्लीफे कलेजमा पढेर नेपाल फर्किएका अरहन्त साग छनोट खेलमा च्याम्पियन बनेका थिए । वाइस्लीफे कलेज स्क्वास खेलका लागि विश्वमै प्रख्यात मानिन्छ । अर्को खेलमा नेपालका शीर्ष खेलाडी अमृत थापा मगर बंगलादेशका मोहमद सुमनसँग ३–२ को सेटमा पराजित भए ।
पहिलो सेटमा ११–९ को अग्रता बनाएका अमृत दोस्रो र तेस्रो सेटमा क्रमशः ६–११, ५–११ ले पछि परे । चौथो सेटमा ११–३ को अग्रता बनाएपनि अन्तिम सेटमा अमृत १–१५ ले पराजित भएका थिए ।
प्रतियोगिताअन्तर्गत नेपालले शनिबार नै महिलातर्फ कृष्णा थापा भारतकी जोसना चिनप्पासँग ३–११, ४–११,४–११ ले पराजित भइन् । अर्को खेलमा भावना सुनार पाकिस्तानकी मारियाटुर पाकिउजिरसँग ४–११, २–११, ३–११ ले पराजित भइन् ।
यसैबीच जारी साग खेलकुदमा पदक जित्ने स्क्वास खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरिएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई एक लाख, रजत जित्नेलाई ५० हजार र कांस्य जित्नेलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
खेलाडीले अझै कार्ड पाएनन्
१२ औं साग सुरु भएको दोस्रो दिनसम्म पनि नेपालका खेलाडी र प्रशिक्षकले एक्रिडिटेसन कार्ड पाएका छैनन् । नेपाली पदाधिकारीको लापरवाहीका कारण कार्ड नपाउँदा खेलाडी र प्रशिक्षकले सास्ती भोगेका छन् ।
एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणा सहित ८५ जना खेलाडीले एक्रिडिटेसन कार्ड नपाउँदा प्रशिक्षण समेत प्रभावित भएको छ । कार्ड नहुँदा खेलाडीले प्रशिक्षणमा समेत सहभागी हुन पाएका छैनन् । कार्डविना प्रशिक्षण तथा प्रतियोगितास्थलमा प्रवेश गर्न पाइँदैन ।
नेपालका ८५ खेलाडीले कार्ड नपाएको स्वीकार गर्दै नेपाल ओलम्मिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहजीकरण गर्न लागेको बताए । उनले भने, ‘भारतको केन्द्र सरकार र प्रान्तीय सरकारबीच जारी द्वन्द्वको असर सागमा देखिएको छ ।
भारतको ओलिम्पिक कमिटीलाई समेत बाइपास गरेर प्रान्तीय सरकारले सागमा हस्तक्षेप गरेका कारण नेपाली खेलाडीले कार्ड बन्न सकेको छैन ।’
खेलाडी मात्र होइन गुवाहाटी र सिलोङ पुगेका टोली व्यवस्थापक र प्रशिक्षको समेत कार्ड बनेको छैन । राखेप स्रोतका अनुसार साइक्लिङका प्रशिक्षक सहित भारतको गुवाहाटी र सिलोङ पुगेका २५ खेल पदाधिकारीले कार्ड पाएका छैनन् ।
सागको समाचार संकलन गर्न गुवाहाटी पुगेका नेपालका सञ्चारकर्मीले समेत एक्रिडिटेसन कार्ड नपाउँदा हैरानी खेप्नु परेको छ ।
महिला भलिबल सेमिफाइनमा
भलिबलतर्फ नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानसँग वाकओभर पाएपछि महिला टोलीको सेमिफाइनल यात्रा पक्का भएको हो । नेपाली पुरुष भलिबल टोली भने सागबाट बाहिरिएको छ ।
दोस्रो दिन पुरुष टोली भारतसँग १५–२५,१६–२५,१५–२५ को सोझो सेटमा पराजित भयो । पुरुषतर्फ पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पहिलो खेलमा नेपाली महिला टोली पनि ३–० सेटमै पराजित भएको थियो ।
नेपाल आज भुटानसँग खेल्दै
फुटबलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले भुटानसँगको खेललाई सेमिफाइनलमा पुग्ने अवसरको रूपमा लिएको छ ।
हालै ढाकामा सम्पन्न बंगबन्धु गोल्ड कपको उपाधि जितेर उत्साहित बनेको नेपाली फुटबल टोली सागमा दुर्लभ उपाधि हात पार्न तल्लीन रहेको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए । ‘खेलाडीको मनोबल उच्च छ । एउटै सेट र राम्रो तयारी गरेकोले भुटानसँग स्पष्ट जितको लक्ष्य राखेका छौं’, शाक्यले भने ।
भुटानविरुद्ध यसअघिका खेलमा नेपाल हावी देखिएको छ । सन् १९८४ मा पहिलोपटक एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका नेपाल र भुटान अहिलेसम्म १२ पटक भिडेका छन् । जसमा नेपालले १० जित हात पारेर दुई हारमात्र खेपेको छ ।
यसैगरी महिला फुटबलको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित महिला फुटबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले हराएको थियो
annapurnapost
Post a Comment