'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला'-पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला

रातिको खबर बिहान थाहा भो- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला भौतिक शरिर छाडि विदा भएछन् । मान्छे जन्मेपछि मर्छ, यसमा नौलो मान्नु केही छैन । भावपूर्ण श्रद्धाञ्जलि भन्नुबाहेक सुशीलदालाई सम्झेर रोइलो गाउनुपर्ने मेरो भागमा त्यस्तो उल्लेख्य केही छैन । गत पुस १५ मा उनी पोखरा आएका बेला अन्तर्वार्ता गर्न पाइएको हो । छापा माध्यमलाई उनको त्यो उनको सम्भवतः अन्तिम अन्तर्वार्ता थियो । र, मेरा लागि पत्रकारिता जीवनको पहिलो । त्यसो त उनले प्रधानमन्त्री पदबाट हटेपछि त्यसरी अन्तर्वार्ता दिएको मैले पढ्न पाएको थिइँन । यस्ता बेला जब पार्टीको आसन्न तेह्रौं महाधिवेशनका लागि सभापतिमा आकांक्षी देखिएका उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाको दौडधूप चलिरहेको थियो, उनी केही निराश देखिएका थिए । कुराकानीको वातावरण मिलाउन पनि ठूलै सकस परेको थियो । कांग्रेस पार्टीमा देख्तै आएको एउटा असजिलो कुरा के हो भने पार्टीका प्रभावशाली नेताहरू आफ्ना जिल्लामा आइपुग्दा एयरपोर्टमा स्वागत गर्नेदेखि लिएर बास बस्ने गुँडसम्म कार्यकर्ता ओइरो लाग्छन् । 'दाजु दाजु, जय नेपाल दाजु' भन्छन्, छोप्छन्, अरूलाई कुरा गर्ने भेट्ने पालो सहजै दिँदैनन् । सुशीलदाको पोखरा बसाइँको त्यो दिन पनि त्यस्तै थियो । *** एकछिन सुशीलदाका प्रसंग बिर्सँदा मेरो विराटनगर रहँदाका समय सम्झन्छु, पत्रकारितामा सबैले जानैपर्ने ठाउँ कोइराला निवास थियो । त्यो समाचारका विषय भइरहने ठाउँ । नोना र गिरिजाप्रसादको अवसानपछि पनि डा. शेखरले त्यहाँ पत्रकार बोलाउँछन्, अहिले पनि बेलाबखत समाचारमा पढ्न-हेर्न मिल्छ । पिताजी कृष्णप्रसादको त्यो घर अझै छँदैछ । कोइराला परिवारका जस-जसको भागमा जति जति पुर्ख्यौली सम्पत्ती परेको थियो, ती जमिन बेच्दै गए । तिनमा घर, भवन उम्रिँदै आए । कोसीअञ्चल अस्पताल अगाडिको कोइराला निवास अब बाटाबाट सजिलै देखिँदैन । कांग्रेसको आन्दोलनका इतिहाँसको बखान मुलुकका जुन भागमा पुगेपनि नेता-कार्यकर्ताको मुखारविन्दबाट सुन्न मिलिरहन्छ । म पनि त्यहाँ धेरैपल्ट गएको थिएँ/गएको छु । लाग्थ्यो, वीपी, मातृका, गिरिजा आदि नेताका बारेमा, कोइराला परिवारको इतिहासका बारेमा पछिल्ला पुस्ता, अध्ययनकर्ता आदिलाई मात्रै होइन कांग्रेस पार्टीकै विकासक्रम बुझ्न चाहनेका लागि त्यो निवास संरक्षण गरिनुपर्छ । मुलुक जुन राजनीतिक विकासक्रमबाट अघि बढेको छ, त्यसका जानकारी दिने धरोहर कुनै एउटा परिवारको निजी सम्पति मात्रै होइन, जुनसुकै शासन व्यवस्थाले पनि इतिहाँस संरक्षण गर्नुपर्छ । विराटनगरलाई मात्रै सम्झँदा पनि त्यहाँबाट व्यापार थाल्ने गोल्छा, सारडा, दुगड, राठी लगायतका व्यापारीक घराना हुन् की पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, कसैका बारेमा अध्ययन गर्ने थलो संरक्षित गरौं भन्ने चेत अझै जिम्मेवारहरूमा आएन । महेन्द्र चोकको राजा महेन्द्रको सालिक ढालियो, त्यहाँ अझै ठुटो छ । हुन त सभ्यताको विकासक्रम नै यस्तै होला, पुर्खाका चिनो जतन गरि राख्दा कुनै पुस्तालाई ती फोहर कति कहिलेसम्म ठाउँ ओगट्ने गरि राखिरहने भन्ने लाग्दो होला । ऐतिहासिक धरोहरको संरक्षणमा चासो जगाउन  हामी सञ्चारकर्मीले पनि नसकेका होलाउँ । मुलुकलाई एकपछि अर्को संक्रमणकालले छाड्दै छाडेन, जिम्मेवारलाई त्यो चेत आउँदै आएन । ***  पूर्वाञ्चलबाट अब पोखरा आएपछि मैले विराटनगरको खबर लेख्नुपर्दैन, त्यो कोइराला निवासको त झन् किन पो पर्थ्यो ! तर, कांग्रेस-कम्युनिष्ट पार्टीका खबर नलेखम् भनेर सुख त मुलुकभरि जता पुगे नि छैन । म्युजिकल-चियर जस्तो सत्ता राजनीति कांग्रेस र बामपन्थी पार्टीकै सेरोफेरोमा घुम्छ । सुशील कोइरालाका कार्यक्रमको रिपोर्टिङ गर्नुपरेको मेरो साह्रै कम अनुभव छ । यसको कारण- उनी विराटनगरको कोइराला निवास होइन बाँके जिल्ला बस्थे । त्यही उनको राजनीतिक व्यक्तित्व विकासको ठाउँ थियो । धेरैपल्ट कार्यक्रममा विराटनगर आउँथे । तर, प्रधानमन्त्री नहुञ्जेल उनको कार्यक्रमको रिपोर्टिङ अखबारमा साह्रै ठाउँ पाउने विषय बन्थेन । साथीहरूका साथ धेरैपल्ट गिरिजाप्रसादका सामाचार र फोटो सञ्चारमाध्यमका लागि नछुटाइ पठाउनुपर्ने विषय हुन्थ्यो । छुच्चा, टर्रा लाग्ने ती गिरिजाप्रसाद विराटनगर आएरै बोल्थे, जे बोल्थे ।
त्यसले पनि त्यो निवास नगइ सुख थेन । कहिले सबै भेला भएर अब के बोल्ने हुन् भनेका बेला 'आज केही बोल्दिन, सबैजना जाओ' भन्थे । अरू साथीहरू भएका बेला केही बोलिगए समाचार छुट्ला भन्ने तनाव हुन्थ्यो । सम्पादक नै फोन गर्थे- 'जे बोल्छन् सप्पै पठाउने, फोटो पनि त्यो भनाइलाई जस्टिस हुने हुनुपर्छ ।' साथीहरूले सामाचारमा ध्यान दिन्थे, मलाई फोटोको काम नै गह्रौं थियो । तर, जे भए नि गिरिजाप्रसाद जे बोल्थे, फ्रन्टपेज हुने बोल्थे ।  समय फेरियो । जनताको अपेक्षाअनुसारको विकास र रोजगारीका अवसर नबढे पनि राजनीतिक घटनाक्रम यस्तरी फेरियो की अब विराटनगरमै गएर कोही त्यसरी बोल्ला भन्ने अवस्था रहेन । गत वर्षदेखि मेरो पनि कार्यक्षेत्र फेरियो । विराटनगरबाट पोखरा आइपुग्दा यहाँ पनि थुप्रै कोइरालाका निवास देखेको छु । तर, राजनीतिक वृत्तमा जोडदार खबरमा समेट्नुपर्ने अझसम्म त कोही छैनन् । सुशील कोइरालाको सादा जीवनबारे धेरै कुरा अरू जसरी नै पढेर थाहा पाइन्छ । उनको प्रधामन्त्रीत्वकाल, काम गराइ, उपासना-आलोचना आदि–इत्यादि बेलाबखत खबर लेख्नैपर्ने जिम्मेवारीले आइपर्नेबाहेक साह्रै धेर सरोकारका विषय पनि परेनन् ।    ***    गत पुस १६ मा स्याङ्जा पार्टी कार्यालयको उद्घाटनका लागि उनी एक बास पोखरामा बसेका थिए । जिल्ला ब्युरो संयोजक गंगा बिसीले फोन गरे- 'सुशील कोइराला पोखरा आउँदै छन् । इन्टर्भ्यु गर्न सक्नुहुन्छ ?' नसक्ने भन्ने कुरा के भो र ! तर, उनी बोल्लान  की नबोल्लान भन्ने पो ठूलो दुविधावाला कुरा परो । मैले 'हुन्छ । सक्छु' भनेँ । 'हुन्छ' त भनिगएँ तर, कांग्रेसका नेताहरू चिनेको थिएन । उनी कहाँ बस्छन्, के कार्यक्रम हो भन्नेसम्म थाहा थिएन । र, अचानक अन्तर्वार्ताका लागि भेटेर भनिहाले पनि सुशील कोइराला मान्लान् वा नमान्लान् भन्ने थाहा थिएन । सहकर्मी शिव शर्मालाई मोटरसाइकल पछाडि लिएर म निस्किएँ । कास्कीका कांग्रेस सांसद यज्ञबहादुर थापा र जिल्लाका युवा राजबहादुर गुरुङसँग फोनमा कुरा गरेँ । दुवैले पहिलो कुराकानीमै सुशीलदासँग संवादको मौका मिलाइदिने बताए । थाहा भयो कोइराला त्यो रात लेकसाइडमा अर्जुन कुँवरको घरमा बस्नेछन् । कोइरालाहरू प्राय सबैजसो नेताको बानी कतै पनि भरसक होटलमा बसौं भन्ने भएको निकै कम सुन्न पाइएको हो । उनीहरू आफ्ना कुनै पुराना कार्यकर्ता, हितैषी वा आफन्तकहाँ बस्छन् । सुशीलदाले पनि त्यही गर्दा रहेछन् । कुँवरको घरमा हामी उनी आइपुग्नु १० मिनेट अघि नै पुग्यौं । आएपछि 'नमस्कार' को औपचारिकतासँगै अन्तर्वार्ता लिन्छौं भन्यौं । उनी पहिलो भेटमै तर्किए । 'मसँग किन कुरा गर्नु ? पर्दैन ।' कार्यकर्ताको हुल आउन थाल्यो । हामी कुरिरह्यौं । करीब आधाघण्टापछि सांसद यज्ञबहादुर थापाले सहजीकरण गरिदिए । कुरा सुरू नगर्दै उनले २/३ पटक भनेका थिए -'पत्रकारले कुरा ट्वीस्ट गर्छन् । भैगो नबोलौं । मैले बोल्नुपर्ने नै केही छैन ।' उनले प्रधानमन्त्रीबाट हटेपछि त्यसरी बोल्न नपरेको बताएका थिए । मैले भने 'हेर्नुस्, तपाई अहिले प्रधानमन्त्रीबाट हटेपनि जिम्मेवार दलको जिम्मेवार नेता हो । पार्टी अधिवेशनको तयारीमा छ, देशले मधेसको आन्दोलनबाट दुःख पाएको धेरै दिन भइसक्यो । तपाइ कसरी चुप लागेर बस्नु हुन्छ । केही नबोल्ने ? नबोलेर हुन्छ ?' उनले आफ्ना कुरा जस्ताको तस्तै राख्नुपर्छ भन्ने शर्त गराए । गरियो । अनि बल्लतल्ल बोल्न माने । उनीसँग ३६ मिनेट कुरा गरियो । कुराकानीका क्रममा उनले लामो बोल्थे, बीचमै रोकेर सोध्नु पर्थ्यो । सुरूमा बोल्न नमानेका उनले बोल्दै गएपछि अलि खुलेर कुरा गरेका थिए । अन्तमा मैले सोधेको थिएँ -'तपाइँ योपल्ट सभापति छाड्नुहुन्छ की रहिरहने ? उनी जंगिएका थिए -'यो कस्तो प्रश्न हो, मैले के बिगारेको छु ?' एकैछिनमा शान्त भए र, उत्तरमा जे भने त्यो अन्तर्वार्तामा प्रकाशित छ । केही कार्यकर्ताले 'कति कुरा गरेको ? भएन ? लामो भो ? दाइलाई दिक्क नपार्नुस्' भन्दै हतार लाएका थिए । मोबाइलको रेकर्डर अफ र डायरी ब्यागमा राखेपछि पनि उनले भने 'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला ।' मैले 'केही पनि ट्वीस्ट हुँदैन, ढुक्क हुनुस्' भनेर आश्वस्त पारेपनि एक मनमा लागेको थियो -'यो परिस्थितिमा मैले चाहिने चाहिने कुरा पो गरेँ की गरिँन होला । मलाइ केन्द्रका साथीले काम लाग्ने केही रैनछ भन्ने पो हुन् की ।' कुराकानी सक्नै लागेका बेला तारानाथ रानाभाट आइपुगेका थिए । अन्तर्वार्तामा छापेको फोटो कुराकानी गरिसकेपछि खिचेको हो । फोटो खिच्दा उनी हामीसँग होइन रानाभाटलगायत कास्कीका आफ्ना अगुवा कार्यकर्तासँग गफिन सुरू गरेका थिए । त्यो साँझ हतार हतार आएर लेखियो । भोलिपल्ट ती हिजो 'छिटो कुराकानी सक्नुस् , भएन ?' भन्नेमध्येकै एकले फोन गरेर धन्यवाद दिए । उनले भने 'भाइ पत्यारै लागेको थिएन जस्ताको तस्तै लेखिदिनु हुन्छ भनेर ।'
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget