मुग्लिन नारायणगढ सडक खण्ड बिहीबारबाट दिउँसो पाँच घण्टा बन्द हुने

काठमाडौँ, २४ माघ – पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौं र पोखरा जाने आउने मुख्य मार्ग नारायणगढ मुग्लिन सडक आउँदो बिहीबारदेखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ। सो सडक खण्ड दुई लेनको बनाउने काम भइ रहेको छ। सडक विस्तारका लागि पहाड खन्ने काम हुने गर्छ।

जसका लागि केही समय सडक पूर्ण बन्द गर्नु पर्ने बाध्यता रहेको अधिकारीले बताएका छन्। नारायणगढ मुग्लिन सडक आयोजनाले निकालेको सुचनामा माघ २८ गते बिहीबारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सडक बन्द रहने उल्लेख छ। लगातार केही समय बन्द हुँदा यात्रुलाई अफ्ठ्यारो पर्न सक्छ। तर यसो नगरे हाम्रो कामलाई दूत गतिमा अगाडी बढाउन नसकिने भयो, आयोजनाका इन्जिनियर शिव खनालले भने।

यसअघि निर्माणका समयमा केही बेर बाटो बन्द हुने गर्दथ्यो। जसका कारण लागेको गाडीको लामो लाइन हटाउन घण्टौं लाग्थ्यो। काम गर्दा गर्दै सुख्खा पहिरो आएर अघिल्लो हप्ता १५ घण्टासम्म सडक ठप्प भएको थियोे। न यातायात सहज हुने न निर्माण कार्य राम्रोसँग गर्न सकिने भएको हुँदा पाँच घण्टा सडक बन्द गर्न खोजेको खनालले बताए।

सो समयमा अत्यावश्यक गाडी एम्बुलेन्सलगायतलाई पालो मिलाएर पास हुने व्यवस्था भने मिलाइने उनले बताए। अरु गाडीले भने बैकल्पिक मार्ग खोजे राम्रो हुने उनको आग्रह छ। पश्चिमका गाडी पोखरा जान बुटवल स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग छ। काठमाडौंबाट पश्चिम जान आएका गाडी पनि मुग्लिनबाट पोखराहुँदै बुटवल निस्कन सक्छन्। तर बाटो धेरै लामो छ।

काडमाडौं जाने आउने पूर्वका गाडीले हेटौंटाबाट त्रिभुवन राजपथ हुँदै नौबिसे निस्कन सक्ने अवस्था छ। तर बैकल्पिक सडकहरु गाडीको धेरै चाप थेग्न सक्ने अवस्थाका भने छैनन्। यी सडकहरु धेरै घुमाउरा, साँघुरा र जिर्ण अवस्थामा छन्। ठूला यात्रु बस र माल वाहक ट्रकहरु वैकल्पिक सडक हुँदै जान गाह्रो हुन सक्छ।

नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा नारायणगढ मुग्लिन सडकको स्तर उकास्ने काम हुन लागेको हो। निर्माणका लागि सडक तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई ठेक्का दिइएको छ। नारायणगढ र गोरखा जोड्न सन् सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो।
oneline khabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget