नेपालगन्ज: ‘श्रीमान्, म र छोरो थियौं । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो तर एक्कासि एकदमै हल्लियो । प्लेनमा रहेका हामी सबै यात्रु डरायौं । प्लेनभित्र कोही रुन थाले, कोही कराउन थाले तर हामी भने बाँच्छौं कि भनेर बाहिर हामफाल्न खोज्यौं । जमिनमा प्लेन ठोक्किनै लागेपछि हामीले त हामफालेछौं तर त्यसपछि केके भयो, केही थाहा छैन ।'
दुर्घटनाग्रस्त एयर काष्ठमण्डपको विमानबाट हामफालेर ज्यान बचाएकी जुम्ला चन्दनाथ ६ की २७ वर्षीया जगदम्बा गिरीले कोहलपुर मेडिकल कलेजको शय्याबाट भनिन्, ‘हामफाल्दा बाँचिएला कि भनेर हामफाल्यौं तर छोरो खै ?'
तत्काल चिकित्सकले छोरा प्रनिललाई उनी सुतेकै शय्यामा ल्याइदिएपछि जगदम्बाले केहीबेर दूध चुसाइन् । उनका पति मेघराज पनि उपचारकै क्रममा रहेको चिकित्सकले बताएपछि जगदम्बाले लामो सास तानिन् ।
हामहाल्ने क्रममा जगदम्बाको खुट्टामा चोट लागेको छ भने छोरा प्रनिलको टाउकोमा चोट लागेको छ । परिवारका तीनैजनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताए ।
दुर्घटनामा परी बाँचेका नुवाकोट थानसिङ ३ का धु्रव भण्डारीले विमान उडेको १०–१५ मिनेटपछि भित्र चुइगम पड्काएजस्तो आवाज आएको बताए । उनले भने, ‘प्लेन १२:२० मा उड्योजस्तो लाग्छ । मोबाइल अफ गरेकाले ठ्याक्कै समय थाहा पाइएन । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो ।
एक्कासि चुइगम पड्काएजस्तो आवाज आयो । पहिलोपटक पड्कँदा केही लागेको थिएन । फेरि पडयो । चारपटकसम्म लगातार पड्किएपछि हामी सबैको सातो गयो । जहाज घरि यता हल्लन्छ, घरि उता । पूरै फाइटर प्लेनजस्तै गर्यो । त्यति बेलासम्म पनि पाइलटले पर्खनुहोस्, केही हुन्न भन्दै थिए । हामी तपाईंहरूलाई केही हुन दिन्नौं भने । त्यसपछि प्लेन त के भयोभयो, हामीले थाहा नै पाएनौं ।'
भण्डारीले चालकको साहसकै कारण विमानका यात्रु बाँचेको बताए । उनका अनुसार विमान भुइँमा जोत्तिन लाग्दासम्म पनि पाइलट र कोपाइलट दुवैजनाले यात्रुलाई नआत्तिन आग्रह गर्दै बचाउने बताइरहेका थिए । भण्डारी सामान्य घाइते भएका छन् ।
‘इशारा गर्दै थिए तर बचाउन सकिएन'
शुक्रबार भएर होला निकै थोरै विद्यार्थी स्कुल आएका थिए । त्यसैले चाँडै बिदा गरेर हामी घर फर्कंदै थियौं । आकाशमा जहाज उडेको आवाज आयो । हाम्रो ध्यान पनि त्यतातिरै गयो । सुरुमा जहाजले गाउँलाई नै पूरै एक फन्को लगायो । त्यसपछि जहाज त माथिबाट तलतल पो झरिरहेको देखियो ।
नजिक कुनै विमानस्थल थिएन तर जहाज किन तल आइरहेको छ भनेर हामी अचम्मित भयौं । केहीबेरमै जहाजले घरको छानो नै छुन थालेपछि भने हामी आत्तियौं । जहाज जमिनको नजिकै आइसकेको थियो । तीनजनाले त जहाजभित्रबाटै हामफालेको देख्यौं । पछि थाहा भयो उनीहरू एकै परिवारका रहेछन् ।
उनीहरू हामफालेलगत्तै जहाज भुइँमा जोतियो । हामी दौडेर त्यहाँ पुग्यौं । अगाडिको भाग पूरै माटोभित्र थियो । हामीले सोच्यौं, जहाजभित्र लास मात्रै भेटिने भयो । तर नजिकै पुग्दा भित्रका मान्छे चिच्याइरहेको सुनेपछि भने केही आस पलायो । हामी हतारहतार उद्धारमा लाग्यौं ।
त्यतिन्जेल गाउँका अरू मान्छे पनि जम्मा भइसकेका थिए । सबैले मिलेर भित्रका यात्रुलाई बाहिर निकाल्यौं । सबै घाइते भएका थिए । मैले माटोमा धस्सिएको जहाजको अगाडिको भाग हेरें । त्यहाँ बीभत्स दृश्य थियो । को–पाइलट सन्तोष रानाको शव उनको सिटमै थियो । ज्युँदै छन् कि भनेर नियालें । बिस्तारै उनलाई चलाएँ तर मृत्यु भइसकेको रहेछ ।
नजिकै पाइलट दिनेश न्यौपाने घाइते अवस्थामा थिए । तत्काल उनलाई बाहिर निकालें । उनी बोल्न सकिरहेका थिएनन् तर हातले इशारा गर्थे । सायद उनी बचाऊ भनिरहेका थिए । तत्काल उनलाई उद्धार गरेर अस्पताल पुर्याउन सकिएन ।
अस्पताल टाढा थियो । हेलिकोप्टर नै चाहिन्थ्यो । गाउँमै हामीले सामान्य उपचार गर्यौं । एक घन्टासम्म उनी ज्युँदै थिए । पछि उनको पनि मृत्यु भयो ।
उनलाई बचाउन नसकेकोमा मलाई निकै पछुतो लागेको छ । आफ्नैअगाडि उनले बाँच्न चाहेर पनि ज्यान गुमाए । समयमै अस्पताल पुर्याएको भए सायद उनी बाँच्ने थिए ।
annapurnapost
Post a Comment