टाइमलाइनमा सुशीलको राजनीतिः देशले के पायो ? सबैले जान्नै पर्ने

२६ माघ, काठमाडौं । राणा शासनको अन्त्य भई वि.सं २००७ सालमा प्रजातन्त्र आउँदा सुशील कोइरालाको उमेर ११ वर्षको थियो ।
१६ वर्षको उमेरमै २०१२ सालमा वीरगञ्जमा कांग्रेसको छैठौं महाधिवशेनमा सहभागी भएका कोइराला ०७२ सालमा हुने तेह्रौं महाधिवेशनमा दोस्रो कार्यकालका लागि दाबी गरिरहेका थिए ।
समयावधिका हिसाबले विश्लेषण गर्दा कोइरालाको राजनीतिक जीवन ६० वर्षे (२०१२-२०७२) रह्यो । ०६७ सालदेखि ५ वर्षसम्म उनी पार्टीको कार्यकारी पदमा रहे भने एक वर्ष ९ महिना प्रधानमन्त्रीका रुपमा काम गरे । ६० वर्षे राजनीतिक अवधिमा साढे १९ वर्ष कोइरालाको जीवन निर्वासन र जेलमै बित्यो ।
जीवनको उत्तरार्धका पाँच वर्षबाहेक अधिकांश समय राजनीतिमा उनको सहायक भूमिका मात्रै रह्यो । वीपी कोइराला र तुलसी गिरीको स्वकीय सचिवको भूमिकाका साथै गिरिजाप्रसाद कोइरालाका पालामा महामन्त्री र कार्यवाहक सभापति बनेर सुशीलले सारथीको भूमिका खेले ।
कुनै पनि नेतालाई देशले सम्झने भनेको उनले पुर्‍याएको योगदानको हो । ती नेताबाट देशले के पायो र उनको योगदानका कारण मुलुक कति अगाडि बढ्यो भन्ने आधारमा नेताको योगदानको मूंल्याकन हुने गर्छ । यस अर्थमा सुशील कोइरालाले प्रधानमन्त्री भएर संविधान जारी गर्नु र कांग्रेसको सभापति भएपछि सो पार्टीलाई दोस्रोबाट पहिलो दल बनाउनुलाई नै उनको मुख्य राजनीतिक सफलको गणक मान्ने गरिएको छ । उनले गरेका सम्झन लायक काम यिनै हुन् ।
तैपनि सुशीलले असोज ३ मै संविधान जारी गर्न अन्कनाएको र आफूहरुको जोडबलले मात्रै उनले खुट्टा टेकेको दाबी एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुले गर्दै आएका छन् । तथापि कोइरालाको निधनपछि प्रचण्डले भनिसकेका छन् कि सुशील नभएको भए संविधान बन्दैनथ्यो ।
र, राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका छन्- कोइरालाको निधनले संविधानको कार्यान्वयनमा चुनौती थपेको छ । संविधान निर्माणमा सुशील कोइरालाको नेतृत्व सम्झन लायकको भूमिका हो ।
भारतको चरम यातना र राष्ट्रिय अडान
कांग्रेस नेताहरुले बताए अनुसार ०३० सालको विमान अपहरण काण्डपछि सुशील कोइरालालाई भारतीय प्रहरीले चरम एवं अमानवीय यातना दिएको थियो ।
पक्राउ गरेर तिहाड जेलमा लैजाँदा उनलाई भारतीय प्रहरीले रेलमा आलुको बोराजस्तै बारेमा बाँधेर लगेको थियो । कोइरालाले लामो समय जेलमा बिताएका थिए ।
लोकतान्त्रिक आन्दोलनका बेलामा मात्रै होइन, प्रधानमन्त्री बनेका बेलामा पनि भारतले सुशील कोइरालाप्रति राम्रो व्यवहार गरेन । पछिल्लो समयमा पनि पार्टी सभापतिमा कोइरालालाई हराउन भारतले भूमिका खेलिरहेकै थियो । तर, महाधिवेशनमा भारतीय चलखेलको सामना नगर्दै उनको निधन भएको छ ।
प्रधानमन्त्री भएका बेलामा सुशीलले भारतको कुरा सुनेनन् र संविधान निर्माणतर्फ लागे । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिँदा सुशीलले भारतीयहरुको कुरो सुनेको आरोप एमाओवादी र एमालेका नेताहरुले लगाउँदै आएका छन् । तथापि भारतले सुशील कोइरालालाई कहिल्यै विश्वास नगरेको इतिहास साक्षी छ । यो तथ्यलाई आधार मान्दा सुशील राष्ट्रवादी नेता थिए भन्न सकिन्छ, यसमा उनले भोगेको भारतीय यातनाले समेत काम गरेको हुन सक्छ ।
प्रधानमन्त्री बनेका बेला कोइरालालाई निर्णय क्षमता नभएको सुस्त नेताका रुपमा प्रचार गरियो । त्यही बेला उनी क्यान्सरबाट पनि पीडित भए । शारीरिक रुपमा समेत उनी सिथिल बने । बाह्रौं महाधिवशेनपछि उनले पार्टी परिचालन पनि गतिलोसँग गर्न नसकेको आरोप लाग्यो । भलै उनकै नेतृत्वमा कांग्रेसले चुनावलाई आफूलाई पहिलो दल बनाएको थियो ।
नेपाली कांग्रेस पहिलो दल बन्नु नै मुलुकका लागि सुशीलको योगदान हो भन्न सकिँदैन, यो एउटा दलगत विषय मात्रै हो । तर, कोइरालाले संविधान बनेपछि नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेको विषय अहिलेसम्म बहसकै क्रममा छ । यो उनको राजनीतिक कमजोरी थियो या लोकतन्त्रको मूल्य स्थापित गर्ने जमर्को थियो, यसबारे फैसला नहुँदै उनले विदा लिएका छन् ।
तर, मधेसवादी दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्ने उनको संविधान निर्माण अघिको चाहनालाई संविधान बनेपछिको संविधान संशोधनले केही सार्थक बनाएको छ ।
सादगी र निष्ठावान नेता
नेपालको राजनीति यतिबेला प्रदुषित एवं भ्रष्ट बन्दै जान थालेको छ । तीनवटा मोबाइलमात्रै सम्पत्तिका रुपमा रहेको भन्दै कोइरालालाई खिल्ली उडाउने कतिपयले प्रयास गरे पनि कोइरालाको सादगी पनलाई चुनौती दिने अवस्था छैन ।
प्रधानमन्त्री बनेका बेला कोइरालाको किचेन क्याबिनेटमा रहेको उनका सहयोगीहरुले आर्थिक अनियमितता गरेका समाचारहरु नआएका होइनन् । तर, व्यक्तिगतरुपमा सुशील निश्कलंक नै रहे । श्रीमती र छोराछोरी नभएका उनी व्यक्तिगत विवादमा आएनन् ।
पार्टी र देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र सुस्तपन देखाएको असक्षमताको आरोप खेप्नुपरे पनि उनी भ्रष्टाचारमा मुछिएनन् ।
तैपनि सुशील कोइरालाले पाँच वर्ष पार्टीको सभापति र पौने दुई वर्ष देशको प्रधानमन्त्री बनेका बेला देशमा भ्रष्टाचार नियन्त्रण भएन । सुशीलले वर्षौंदेखि नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीमा तलदेखि माथिसम्म भ्रष्ट र कमिसनखोरी प्रवृत्ति विकास भएको तीतो यथार्थ छ । जसले सुशील कोइरालाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न थाती राखेको छ ।
अब कांग्रेसका नेताहरुले सुशील कोइरालाको स्वच्छ सवि र निष्ठाको राजनीतिलाई कसरी व्यवहारमा प्रयोग गर्ला ? यो गम्भीर प्रश्न कांग्रेसको भविश्यसँगै जोडिएको छ । भीमबहादुर तामाङजस्ता त्यागी नेतालाई बिर्सने कांग्रेेसले अब सुशीललाई कसरी सम्झेला ?
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget