रक्सौलबाट सात दिनमा ३ सय ६५ ट्यांकर इन्धन

रक्सौलबाट सात दिनमा ३ सय ६५ ट्यांकर इन्धन
वीरगन्ज- रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर यो नाका शुक्रबार खुलेदेखि ३ सय ६५ भन्दा बढी ट्यांकर इन्धन आयात भएको छ। आन्दोलनरत मधेसवादी दलद्वारा १ सय ३४ दिन बन्द नाका गत शुक्रबार खुलेको दिन एउटा डिजेल ट्यांकर र २ वटा ग्यास बुलेट भित्रिए पनि शनिबार इन्धन आएन। आइतबारयता यस नाका भएर इन्धन आयात बढ्दै गएर बिहीबारसम्म ३ सय ६५ भन्दा बढी इन्धन भित्रिएको छ।

'साँझ ४ बजेसम्म १ हजार ३ सय किलोलिटर इन्धनको फिलिङ इनभ्वाइस (तेल भर्ने पुर्जी) जारी भइसकेको छ, साँझसम्म १ हजार ७ सय पुग्ने आशा छ,' नेपाल आयल निगमा अमलेखगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख भानुभक्त खनालले नागरिकलाई भने, 'सबैखाले गरी आज करिब १ सय २० वटा ट्यांकरमा तेल भित्रिँदैछ।'

यसअघि वीरगन्ज नाकाबाट बुधबार साबिकको परिमाणमा अर्थात् एक सय ३७ वटा भर्ती ट्यांकर भित्रिएका छन्। नाका बन्द हुनुअगाडिको अनुपात हेर्ने हो भने १ सय २५ देखि १ सय ५० ट्यांकर सामान्यता रक्सौलबाट नेपालका लागि इन्धन भित्रिने गरेको छ।

मंगलबारको ८३, सोमबारको २४ र शुक्रबारको एउटा जोड्दा बिहीबारसम्म ३ सय ६५ ट्यांकर इन्धन भित्रिएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलकुमार शर्माका अनुसार एउटा ट्यांकरमा कम्तीमा १२ र बढीमा २० किलोलिटर अर्थात १२ हजारदेखि २० हजार लिटरसम्म भित्रिने गरेको छ। यसरी नाका खुलेको पहिलो साता वीरगन्ज भएर ५० लाख लिटरभन्दा बढी इन्धन भित्रिएको छ। नेपाल आयल निगमको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख अभिशेख ठाकुरका अनुसार आइओसीको रक्सौल डिपोले सुरक्षा सतर्कता बढाएको र प्रक्रियामा सामान्यभन्दा केही कडाइ राखेको भए पनि तेल भर्न र सीमामा ट्यांकर भित्रिन कुनै समस्या छैन्।

रक्सौलबाट आउने तेल नै इन्धन खपत हुने नेपालको मुख्य भाग मध्य क्षेत्रमा बितरण हुने गरेको बताए। साबिक किसिमले रक्सौलबाट मुलुकलाई चाहिने ७० प्रतिशतभन्दा बढी इन्धन आपूर्ति गर्न त्यहाँबाट दैनिक २ हजार २ सयदेखि २ हजार ५ सय किलोलिटर तेल भित्रिनुपर्छ। अहिले नाकाबन्द हुँदाको अवस्थामा भएको अभाव टार्न निगमले दैनिक ३ हजार किलोलिटर इन्धन रक्सौलबाट ल्याउने गरी सक्रियता बढाएको ठाकुरले बताए। उनले रक्सौल डिपोले इन्धन आपूर्ती सहज बनाउँदै लगेको बताए।

काठमाडौं, पोखरा, नारायणगढ अमलेखगन्ज, जनकपुर लगायत ठाउँमा धमाधम इन्धन पठाउन थालिएको उनले जानकारी दिए। रक्सौलमा भएको जाम समस्या र रेल्वे लाइनको ब्यारियरको अवरोधले तेल आपूर्ति चाहिएजस्तो गति लिन नसकेको उनले कारण देखाए। 'आजै (बिहीबार) पनि रेल ओहोरदोहोर गराउन ब्यारियर बन्द हुँदा खाली ट्यांकर पार हुन सकेनन् र २ बजेपछि मात्र तेल भर्न पाइयो,' ठाकुरले भने, 'यो सधैंको समस्या हो, नयाँ होइन।'

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले अझै सहज रुपमा इन्धन उपलब्ध भइनरहेको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कुपन वितरण गरेर इन्धन नियमन गर्ने अवस्था नहटे पनि दुईचार दिनभित्र सबै पेट्रोल पम्पहरुमा सहजै इन्धन उपलब्ध हुने गरी आपूर्ति बढिरहेको दाबी गरे। नेपाल पेट्रोलियम व्यवसायी संघका पर्सा अध्यक्ष विनोद चौरसियाले इन्धन धमाधम भित्रिए बाहिर पठाउने प्राथमिकताका कारण स्थानीयस्तरमा इन्धन सहज रुपमा उपलब्ध हुन नसकेको जनाए। नेपालकै मुख्य औद्योगिक क्षेत्र भएर पनि वीरगन्ज इन्धन वितरणको प्राथमिकतामा नपरेकोमा उनले गुनासो गरे।

६२ बुलेट ग्यास बाटोमा
वीरगन्ज नाका बन्द भइरहँदा रक्सौलमा आएर थन्किएकामध्ये रिरुट भएर जान बाँकी रहेका ६२ बुलेट (ट्यांकर) खाना पकाउने ग्यास नेपालतर्फ आउने बाटोमा छन्। 'नेपाल भित्रिसकेको अवस्था होइन, ती बुलेट सुनौली र अरु नाकातर्फ जाने क्रममा विभिन्न ठाउँमा पुगेका छन्,' ठाकुरले भने, 'हामीले पाएको लोकेसनको जानकारीअनुसार तीमध्ये धेरैजसो जाममा परेका छन्, बिस्तारै आइपुग्छन्।' रिरुट भएका कारण ग्यास आपूर्तिमा देखिएको अलमल केही दिनभित्र सकिने उनले दाबी गरे। शुक्रवार २ वटा र बुधबार २ वटा गरेर नाका खुलेयता वीरगन्ज भएर ४ बुलेट ग्यास मात्र भित्रिएको छ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget