नेपाली खेलाडी फ्रिकिक हिरो

फाल्गुन १३, २०७२- नेपालको यू–२३ फुटबल टिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतलाई २–१ ले हराएर स्वर्णपदक जितेको एक साता भइसकेको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियममा नेपालले गरेका दुवै गोल लोभलाग्दा थिए । पहिलो हाफमा नेपाल ०–१ ले पछाडि थियो । सब्स्टिच्युट प्रकाश बुढाथोकीले दोस्रो हाफमा फ्रिकिकमा दर्शनीय गोल गरेपछि फाइनलमा नेपालको भाग्य फेरिएको थियो ।

‘प्रकाशको फ्रिकिक रोनाल्डो (क्रिस्टियानो) को भन्दा कम थिएन,’ नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘नेपाली खेलाडीले त्यो स्तरको फ्रिकिक हान्नु एकदमै राम्रो हो । उनले फ्रिकिक हानेको स्टाइल पनि रोनाल्डोको जस्तै थियो ।’ प्रकाशले ६६ औं मिनेटमा करिब २५ यार्डबाट फ्रिकिकमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बलले मानवीय पर्खाल र भारतीय गोलकिपरलाई जिल्याउँदै लोभलाग्दो गोलको रूप लिएको थियो । त्यसले नेपाललाई १–१ को बराबरीमा पुर्‍याएको थियो ।

प्रकाशकै क्रसमा नवयुग श्रेष्ठले ७२ औं मिनेटमा निर्णायक गोल गरेपछि भारतविरुद्ध २–१ को जित निकाल्दै नेपालले दक्षिण एसियाली खेलकुदमा २३ वर्षपछि स्वर्णपदक हात पारेको थियो । नेपालको यू–२३ टिमले जितेको पहिलो उपाधि यही हो । फाइनलमा नवयुगको गोल निकै उत्कृष्ट थियो । तर, उनी प्रकाशको फ्रिकिक गोललाई खेलको ‘टर्निङ प्वाइन्ट’ मान्छन् ।

‘उनले अपत्यारिलो रूपमा गोल गरे,’ १२ औं सागमा सर्वाधिक ७ गोल गरेका नवयुगले भने, ‘फाइनलको टर्निङ प्वाइन्ट त्यही हो । त्यसैले हामीले २३ वर्षपछि सागमा स्वर्ण जित्न सक्यौं ।’ प्रकाश यू–२३ टिमका पहिलो रोजाइका खेलाडी होइनन् । प्रशिक्षक शाक्यले उनलाई डिफेन्डर मनबहादुर तामाङको स्थानमा ४१ औं मिनेटमा मैदानमा प्रवेश गराएका थिए ।

मिडफिल्डर विक्रम लामालाई डिफेन्समा झार्दै प्रकाशलाई विङ्समा खेलाइएको थियो । पेनाल्टीमा ३१ औं मिनेटमै गोल बेहोरेको नेपालले प्रकाशको आगमनसँगै लय समातेको थियो ।
त्यो लोभलाग्दो गोलमा परिणत भएको फ्रिकिक प्रहार गर्न विशाल राई तयार भएका थिए । ‘माल्दिभ्सविरुद्ध सेमिफाइनलमा २ घन्टा खेल्दा साह्रै थाकेको थिएँ । त्यसैले फ्रिकिक प्रकाशलाई हान्न लगाएँ,’ विशालले भने, ‘उनले निकै राम्रो प्रहार गरे र सुन्दर गोल भयो । साह्रै खुसी लाग्यो ।’

त्यस्तो फ्रिकिक प्रकाशका लागि नौलो भने थिएन । उनले फ्रेन्ड्स क्लबबाट खेल्दा नियमित फ्रिकिक प्रहार गर्थे, केही लोभलाग्दा गोल गरेका थिए पनि । एक सिजन थ्री–स्टारमा उनीसँगै खेलेका नेपाली टिमका कप्तान विराज महर्जनले भने, ‘थ्री–स्टारमा अभ्यास गर्दा उनले त्यस्ता फ्रिकिक खुबै हान्ने गरेका थिए । त्यसैले यो उनमा देखिएको नयाँ खुबी भने होइन । उनी यस्ता थुप्रै गोल गर्न सक्छन् ।’

धरान–२७ स्थित पटनाली, विष्णुपादुकाका प्रकाशलाई फ्रिकिकमा मौका पाए गोल गर्ने आस थियो । ‘पेनाल्टी क्षेत्रवरिपरि फ्रिकिक पाएँ भने भने राम्रैसँग हान्छु भन्ने थियो । मौका पाएँ, सेकेन्ड बार च्याप्दै प्रहार गरें, गोल पनि भयो,’ २२ वर्षीय उनले भने, ‘सेमिफाइनलमा पनि त्यस्तै एक प्रहार गरेको थिएँ । त्यसमा गोल भएन तर बल पोलमा लागेको थियो ।’

धरानदेखिको यात्रा गत वर्ष धरान उपमहानगरपालिकामा समायोजन हुनुअघि प्रकाशको घर विष्णुपादुका गाउँ विकास समितिमा पथ्र्यो । उनको फुटबल कौशल धरानबाट सुरु भएको हो । स्थानीय टोल, क्लबबाट छलाङ मार्दै उनी चाँडै राजधानीका क्लबमा पुगे ।

दायाँ–बायाँ दुवै खुट्टा चलाउने उनी गोलका अवसर सिर्जना गर्न र आफैं पनि गोल गर्न सिपालु छन् । सानो जीउडालका उनको क्रस विपक्षीका लागि डरलाग्दो हुने गर्छ । उनी खासमा राष्ट्रिय लिग २०६९ बाट चिनिएका फुटबलर हुन् । त्यसबेला फ्रेन्ड्स क्लबबाट खेल्दै उनले ६ गोल गरेका थिए । सुपरलिगमा ५ गोल गरेपछि उनी प्रशिक्षकको रोजाइमा लिगकै सर्वोत्कृष्ट विंगर चुनिएका थिए ।

उनी अर्को सिजन ललितपुरकै क्लब थ्री–स्टार गए । तर, स्टारहरूको भीड भएको क्लबमा पहिलो रोजाइमा नियमित अवसर नपाउँदा उनी छायामा पर्न थाले । उनले थ्री–स्टारबाट एएफसी प्रेसिडेन्ट्स कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाए । ३१ अगस्ट, २०१३ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध २–० ले नेपालल जितेको खेलमा उनले दोस्रो हाफमा जगजितको स्थान लिंदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट दुई खेल खेलेका छन् ।

संयोग नै मान्नुपर्छ, प्रकाशले १२ औं सागमा पहिलोपल्ट मैदानमा ओर्लंदा पनि जगजितको स्थान लिएका थिए । त्यो माल्दिभ्सविरुद्ध ४–३ को जित हात पारेको नाटकीय सेमिफाइनल थियो । ‘उनले माल्दिभ्सका डिफेन्सलाई पूरा दबाबमा राखेका थिए,’ प्रशिक्षक शाक्यले भने, ‘उनी दुवै खुट्टाले सशक्त रूपमा बल प्रहार गर्न सक्छन् । त्यसैले पछाडि परेको अवस्थामा उनले फाइनलमा खेल परिवर्तन गर्न सक्ने लाग्यो । त्यसैले उनलाई खेलाएँ ।’

बंगबन्धु गोल्डकप र १२ औं साग गरी नेपाली फुटबल टिमले एक महिनाभित्र दुई उपाधि जित्यो । ढाकामा भएको बंगबन्धुमा च्याम्पियन हुँदै राष्ट्रिय टिमको उपाधिविहीन यात्रालाई २३ वर्षमा पूर्णविराम लगाएको टिमका सदस्य थिए, प्रकाश । तर, उनले बंगलादेशी मैदानमा खेल्ने अवसर पाएका थिएनन् । उनले यू–२३ टिमबाट गुवाहाटीमा बल्ल दुई खेलमा मौका पाए । दुवै खेलमा सब्स्टिच्युटका रूपमा मैदानमा ओर्लिएका उनी आखिरी खेल फाइनलको हिरो भएर निस्किए ।

.ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget