मोर्चाका नेतालाई भारतीयले कुटेर लखेटे

वीरगन्ज : वीरगन्ज–रक्सौल नाकामा अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीय बासिन्दाले लखेटेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्ध पार्ने निर्णय गरेको थियो ।

मोर्चाको निर्णयअनुसार नाका अवरुद्ध पार्न तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएका मोर्चाका करिब दुई दर्जन कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले कुटेर लखेटेका हुन् ।


नाका अवरुद्ध पार्न गएका मोर्चाका कार्यकर्ता र भारतीयबीच झडप पनि भएको थियो । झडपका क्रममा मोर्चाका तीनजना कार्यकर्ता घाइते भएका छन् । वीरगन्ज मुर्लीका मीर मन्सुरीसहित तीनजना घाइते भएका हुन् । मन्सुरीको टाउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।

एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको वीरगन्ज–रक्सौल नाका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार पुनः अवरोध गर्न खोज्दा भारतीयले कुटेर लखेटेका हुन् । मितेरी पुलमा नाकाबन्दी गर्न गएका आन्दोलनकारीलाई भारतीय बासिन्दा र रक्सौलका व्यापारीले लखेटेपछि आन्दोलनकारी मितेरी पुलबाट फर्किएका थिए ।

मितेरी पुलको नेपाल क्षेत्रको भूभागमा नेपाल प्रहरी र सशस्त्र परिचालन गरिएको छ । भारततर्फको भूभागमा पनि रक्सौलको हरैया थानाका प्रहरी खटिएका छन् । यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा शनिबार साँझ निकाल्ने भनिएको मशालजुलुस पनि स्थगित भएको छ । केन्द्रीय निर्णय नआएसम्म मशालजुलुस स्थगित गरिएको मोर्चाका नेता प्रदीपले बताए ।

पहिलोपटक ग्यास र इन्धन भित्रियो

मधेसी दलको धर्ना र नाकाबन्दीपछि शनिबार पहिलोपटक भारतको रक्सौलबाट इन्धन र ग्यास आयात भएको छ ।

शनिबार चारवटा ग्यास बुलेट र एक ट्यांकर डिजेल मितेरी पुल हुँदै वीरगन्ज भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख भानुभक्त खनालले बताए । शनिबार नै इन्धन भर्नका लागि वीरगन्जबाट ११ वटा खाली ट्यांकर रक्सौल गएका छन् ।

भारतमा आइतबार सार्वजनिक बिदा भएकाले रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसन (आईओसी) को डिपोले सोमबारदेखि मात्र नेपाली ट्यांकरमा इन्धन भर्ने खनालले बताए । शुक्रबारदेखि नाका खुलेपछि भारतबाट सवारीसाधन सहज रूपमा नेपाल भित्रिरहेका छन् ।

शुक्रबार र शनिबार गरी दुई दिनमा रक्सौलबाट इन्धन र ग्याससहितका करिब तीन सय मालवाहक गाडी वीरगन्ज भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

शनिबार ग्यास बुलेट र एउटा डिजेलको ट्यांकरसहित एक सय ५० वटा मालवाहक गाडी वीरगन्ज भित्रिएको सीमा प्रहरीचौकी इनर्वाले जनाएको छ । शुक्रबार पनि सानाठूला गरेर १ सय ५१ वटा सवारीसाधन नेपाल भित्रिएका थिए ।

शुक्रबारदेखि नाका खुलेपछि वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली पनि ह्वात्तै बढेको छ । शनिबार तीन करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा पौडेलले बताए ।

शुक्रबार ८८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । नाका खुलेपछि शुक्रबारदेखि भारतबाट सहज रूपमा मालसामानको आयात बढेको उनले बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget