काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक कोषराज वन्तसहित ११ जना विरुद्ध भ्रष्टाचारको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वन्तमाथि पदको दुरुपयोग गर्दै सशस्त्र प्रहरी बलका युनिटका लागि सामान ढुवानी गर्दा फर्जी बिल भरपाई तयार गरी ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
यस्तै सशस्त्र प्रहरीका निरीक्षक विनबहादुर थापाले पनि त्यति नै भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) र (४) अनुरुप हदैसम्मको जेल सजाय र जरिवाना गर्न माग गरिएको छ ।
यस्तै दुई वटा ढुवानी कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुमाथि सदाज्योती सप्लायर्स र अदिती ट्रान्सपोर्टको मिलेमतोमा प्रहरी युनिटमा सामान ढुवानी गरेको अभियोग छ ।
अदिती ट्रान्सपोर्टले तीन करोड ६२ लाख १० हजार १ सय ३१ रुपैयाँ तथा सदाज्योतीले ३ करोड १६ लाख ३१ हजार रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोग छ ।
यो भ्रष्टाचारकाण्डमा मुछिएका अन्य सातजना सशस्त्रकै पदाधिकारीविरुद्ध मतियारको अभियोगसहित भिन्नै सजाय र जरिवानको माग गरिएको छ
annapurnapost
Post a Comment