वीरगन्जबाट १४ सय ट्रक सामान भित्रियो

फोटो :क्रान्ति शाह (नाकाबन्दी खुलेपछि भारतबाट वीरगन्ज रक्सौल नाका हुँदै मालसामान बोकेर भित्रिएका गाडी वीरगन्ज भन्सार कार्यालयको यार्डमा )
वीरगन्ज: नाकाको अवरोध हटेसँगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम ह्वात्तै बढेको छ । मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो ।

शुक्रबार दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको अवरोध हटाएर नाका खुलाएका थिए । नाका खुलेलगत्तै शुक्रबार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामान बोकेका गाडी वीरगन्ज भित्रिने क्रम सुरु भएको हो ।


नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै इन्धन र मालसामान बोकेका एक हजार चार सय एक मालवाहक गाडी वीरगन्ज भित्रिएको जानकारी पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिए । श्रेष्ठका अनुसार शुक्रबार एक सय ५४, शनिबार ६ सय ५६ र आइतबार पाँच सय ९१ वटा मालवाहक गाडी वीरगन्ज भित्रिएका हुन् ।

तीन दिन अवधिमा नेपालबाट पनि वीरगन्ज नाका हुँदै पाँच सय २६ वटा ठूला मालवाहक गाडी रक्सौलतर्फ गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । भारतबाट सहज रूपमा मालसामान भित्रिन थालेपछि वीरगन्ज भन्सार कार्यालयको यार्ड मालसामान र ट्रकले खचाखच भरिएको छ ।

नाकाको अवरोध हटेपछि शुक्रबारदेखि वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली पनि ह्वात्तै बढेको छ । नाकाबन्दी खुलेपछिको तीन दिनमा ११ करोड ७३ लाख रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा पौडेलले बताए ।

पौडेलका अनुसार आइतबार सात करोड, शनिबार तीन करोड ८५ लाख र शुक्रबार ८८ लाख रुपैयाँ राजस्व असुली भएको हो । ‘नाकाबन्दी भएको सुरुका केही दिनमा राजस्व असुली दैनिक २०–२५ हजार रुपैयाँमै झरेको थियो’, पौडेलले भने, ‘तर शुक्रबारदेखि नाकाको अवरोध हटेपछि दैनिक राजस्व असुली चार करोडको हाराहारीमा पुगेको छ ।’

सामान्य अवस्थामा वीरगन्ज भन्सार कार्यालयले दैनिक ३० देखि ३२ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । नाकाबन्दी खुलेपछि राजस्व असुली बढे पनि चालू आर्थिक वर्षका लागि भन्सार विभागले दिएको लक्ष्य भने पूरा गर्न नसकिने सूचना अधिकृत पौडेलले बताए । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७२/०७३ मा एक खर्ब तीन अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको १४ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म भन्सार कार्यालयले वार्षिक लक्ष्यको १४.१९ प्रतिशत मात्र अर्थात् १४ अर्ब ६१ करोड ६५ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको पौडेलले बताए ।

उनका अनुसार नाका खुलेपछि भारतबाट आयात भएका मालसामान र गाडी जाँचपासका लागि भन्सार कार्यालयका कर्मचारीको कार्यव्यस्तता पनि बढेको छ । तीन दिन अवधिमा भारतबाट नयाँ जिप, कार, भ्यान, प्याकिङ मेटेरियल, एचआर सिट, मकै, पिना, चामल, कपडा, हार्डवेयर, मेसिनरी पाटपुर्जालगायतका सामान आयात भएको पौडेलले बताए ।

‘अहिले भारतबाट इन्धन आएको छैन । शुक्रबार चार बुलेट ग्यास र एक ट्यांकर डिजेलमात्रै आयो’, उनले भने, ‘सोमबार वा मंगलबारदेखि इन्धनको आयात हुन्छ होला अनि राजस्व पनि अझ बढ्छ ।’ नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख भानुभक्त खनालले सोमबारदेखि इन्धनका ट्यांकर भारतबाट वीरगन्ज हुँदै नेपाल भित्रिने बताए ।
annapurnapos

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget