यो अटोमेटिक राम्री भइने उमेर हो,’ भर्खर २३ वर्षमा टेकेकी नायिका नीता ढुंगाना आफ्नो सुन्दरताको ‘राज’ खोल्छिन्, ‘म जे छु, प्राकृतिक हो । मलाई आर्टिफिसियल सुन्दरतामा विश्वास छैन ।’
आफ्नो उमेर नै राम्री देखिने भएकोले यो उमेरमा जो पनि सुन्दर देखिने बुझाइ उनको छ । ‘२२–२५ को उमेरमा जो पनि राम्रो देखिन्छ,’ उनी भन्छिन्, ‘खास सुन्दरता हेराइमा भरपर्छ । कसैले मलाई निकै राम्री मान्ला, कसैले ठिकै अनि कसैले नराम्री । सर्वमान्य भन्ने केही छैन ।’
फिल्ममा राम्री देखिन मेकअपको भरपूर सहारा लिए पनि रियलमा भने सजिएर मन पराउँदिनन् उनी । ‘मलाई नेचुरल ब्युटी नै मन पर्छ । त्यसैले बाहिर हिँड्दा धेरै सजिने गरेकी छैन,’ उनी भन्छिन्, ‘सुटिङमा सधैँ मेकअप गर्नुपर्छ । त्यसैले बाहिर विनामेकअपै हिँड्न मन लाग्छ ।’ उनलाई गाजल भने निकै मन पर्दाे रहेछ । त्यसैले उनले आँखामा हम्मेसी गाजल छुटाउँदिनन् ।
जाडोको वेला बिहान सात बजे उठ्ने गर्छिन् उनी । अनि गर्मीमा भने पाँच बजे नै उठिसक्छिन् । ‘सुटिङको वेलामा भने यो रुटिन लागू हुँदैन,’ नीता भन्छिन्, ‘राति भने दश बजे सुतिसक्छु ।’
आफू बसेको अपार्टमेन्टमै जगिङ गर्ने गरेकी उनी त्यहीँ रहेको जिममा एक्सरसाइज गर्ने गरेको बताउँछिन् । ‘तौल बढ्न नदिन साइकलिङ गर्छु,’ भन्छिन्, ‘घरमै जिम खाना भएकाले फुर्सद हुनेबित्तिकै ज्वाइन भइहाल्छु ।’ पाँच फिट चार इन्च अग्ली नीताको तौल भने ५० किलो छ । ‘म ४५ किलोभन्दा माथि हुन चाहन्नँ । तर, अहिले ५० पुगेछु । त्यसलाई घटाउन लागिपरेकी छु,’ उनी भन्छिन्, ‘यसका लागि एक्सरसाइज गरिरहेकी छु । ४७ किलोसम्ममा झार्ने इच्छा छ ।’
अमिलो, पिरो मन पराउने भए पनि स्वस्थ रहनका लागि उनले खान छोडेकी छिन् । ध्यान, योगा गर्ने बानी छैन उनको, तर मन भने सधैँ शान्त रहन्छ रे । ‘म कहिल्यै तनाव लिन्नँ,’ नीता भन्छिन्, ‘तनाव लिए हरेक काममा बाधा पुग्छ । मान्छेहरूले के भो ? सन्चो भएन भनेर सोध्छन् । त्यसैले म सधैँ तनावरहित रहने गरेकी छु ।’
तनावरहित रहनका लागि के कुराले साथ दिएको रहेछ त उनलाई ? ‘सकारात्मक सोच,’ दार्शनिक पारामा उनी भन्छिन्, ‘हरेक कुरालाई सकारात्मक ढंगले सोच्ने, सबैको भलो चिताउने र भगवान्प्रति आस्था राख्ने, यत्ति गर्यो भने कहिल्यै ‘टेन्सन’ हुँदैन र रोग पनि लाग्दैन ।’
पहिला सुन्दरी हुनका लागि ब्युटी क्लब जाने गरेकी भए पनि अचेल भने हप्ता–दश दिनमा मात्र ब्युटी पार्लर जान्छिन् रे उनी । त्यो पनि थ्रेडिङ गर्न । ‘पहिला–पहिला त ब्युटी क्लब गइरहन्थँे । तर, अचेल फुर्सद हुँदैन । थ्रेडिङ, कलर गर्नका लागि घरनजिकैको पार्लर जाने गरेकी छु,’ उनी भन्छिन्, ‘घामले अलि डढेको छ भने मात्र फेसियल गराउँछु । नत्र त्यत्तिकै चलिरहेको छ ।’
ग्यास्टिक हुने डरले अचेल भने उनी भातभन्दा रोटी खान जोड दिन्छिन् । ‘रोटी खानु फाइदाजनक रै’छ,’ उनको अनुभव बोल्छ,’ ग्यास्टिकबाट बचिने, धेरै बेरसम्म भोक नलाग्ने अनि सुगर पनि नबढ्ने भएकाले अचेल रोटी खाने गरेकी छु ।’ पानी भने दिनमा दुईदेखि तीन लिटर पिउँछिन् रे उनी । जोनसोम बेबी क्रिम, लोनस उनका ‘फेभरेट’ हुन् । ती कस्मेटिक्सले साइड इफेक्ट नगरेको अनुभव उनको छ ।
नयपत्रिका बाट
Post a Comment