२०७१ माघ १५ बिहीवार
प्यूठान : प्युठानको दुर्गम अर्खा गाविसकी नमा पुन (नाम परिवर्तन) भर्खरै १७ वर्ष पुगिन् । उमेरले सानी सानी भए पनि उनी तेस्रो बच्चाको जन्माउने तर्खरमा छिन् ।
नारीकोटकी यामला विक (नाम परिवर्तन) ले १५ वर्ष नपुग्दै पहिलो बच्चा जन्माइन् । उनका पति विदेश गएकाले दोस्रो बच्चा भएको छैन । नमा र यामला जिल्लाका प्रतिनिधि पात्रमात्रै हुन् । यी दुवै पात्रजस्तै जिल्लामा अन्य धेरै छन् ।
“विवाह भन्ने के हो ? थाहा पाएको थिइन ।' नमाले भनिन्, 'दोस्रो बच्चा हुने समयमा बल्ल विवाहको अर्थ र विवाह किन गर्ने भन्ने जानेजस्तो लाग्यो ।' सानै उमेरमा विवाह भएकाले विवाहको अर्थ नै नजान्ने नमाले आफू स्वयम् अरुको स्याहारमा रहने समयमा पहिलो र दोस्रो बच्चा समाल्दै छिन् ।
नमा र यामलाले अहिलेसम्म परिवार नियोजनका साधनबारे सुनेका पनि छैनन् । उनीहरु दुवैजना अहिलेसम्म गर्भवती अवस्थामा स्वास्थ्य संस्थासम्म पुगेका पनि छैनन् । आइरन चक्की खाएका छैनन् । गर्भवती अवस्थामा कसैले स्वास्थ्य संस्था जानुपर्दछ भनेर भनेको पनि छैन उनीहरुलाई ।
प्यूठान सबैभन्दा बढी बाल विवाह हुने जिल्लामध्येमा पर्ने गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । अत्यधिक बाल विवाह हुन थालेपछि यसका लागि विद्यालय तहसम्म पुगी सचेतीकरण अभियान सञ्चालन गरिएको जिल्ला बाल कल्याण समितिका अध्यक्ष मेघराज भट्टले बताए ।
'कम उमेरमा विवाह र गर्भधारणका कारण महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहने गरेको छ ।' उनले भने, 'समस्या समाधानका लागि बालविवाह नै रोक्नुपर्छ ।'
नेपाल सरकारले प्रत्येक वर्ष महिला तथा बालबालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका लागि लाखौँ रुपैयाँ खर्च गरे पनि प्यूठानमा यो सुगम केन्द्रित रहेको सरोकारवालाको बुझाई छ ।
बाल अधिकार अधिकृत सुशीला सिंखडाले बाल विवाहमा अभिभावकको दोषभन्दा पनि आफैँ विवाह गर्ने प्रचलन बढिरहेको जानकारी दिइन् । 'हामीले यही कुरालाई मध्यनजर गरी बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहेका छौँ ।' उनले भनिन्, “सानै उमेरमा प्रेम सम्बन्धमा पर्नाले बालविवाह हुने दर बढिरहेको छ ।' राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्कले पनि जिल्लामा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या अत्यधिक देखाएको छ ।
जिल्लामा १९ वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ६० हजार १२२ रहेको छ भने १० वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ५७९ रहेको छ । त्यस्तै १० देखि १४ वर्षभित्र विवाह गर्नेको सङ्ख्या नौ हजार ९०८ देखिएको छ । रासस
Post a Comment