एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवम संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रतिवद्धता जनाएको समय (माघ ८) मा संविधान जारी गर्न नसकेकोमा क्षमायाचना गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन‘ आज माघ ८ । जनतासंग गरिएको प्रतिबद्धता–भीष्मप्रतिज्ञा अनुरुप १ बर्षभित्र नयाँ अग्रगामी संविधान देशलाई दिन नसकेकोमा आफ्नो हिस्साको जिम्मेवारी लिंदै सम्पूर्ण मतदाता र आदरणीय जनसमुदाय समक्ष अन्तर्हृदयैदेखि क्षमायाचना गर्दछु ।’
उनको स्टाटस जस्ताको तस्तैः
आज माघ ८ । जनतासंग गरिएको प्रतिबद्धता–भीष्मप्रतिज्ञा अनुरुप १ बर्षभित्र नयाँ अग्रगामी संविधान देशलाई दिन नसकेकोमा आफ्नो हिस्साको जिम्मेवारी लिंदै सम्पूर्ण मतदाता र आदरणीय जनसमुदाय समक्ष अन्तर्हृदयैदेखि क्षमायाचना गर्दछु ।
संविधानका मुख्य अन्तर्वस्तुमा सहमतिको त्यति नजिक पुगेर पनि तिनलाई समयमा टुंग्याउन नसक्नु दुःखद कुरा रहेको छ। तर सहमतिको सम्भावना अझै छ र सहमतिबाट बन्ने संविधानले मात्रै देशमा दिगो शान्ति सुनिश्चित गर्न सक्छ।
साथै सहमतिको प्रक्रियाबाट मात्रै छोटो समयमा संविधान बन्न सक्छ भने हिजोका आन्दोलनकारी शक्तिहरु वीचमा नै विवाद रहेर बहुमतीय प्रक्रियाबाट जानखोज्दा या त संबिधान नै बन्दैन वा बनिहाले पनि लामो अन्तर्संघर्षका कारण त्यस्ले अत्यन्त कष्टकर र बर्षौंको थप समय लिन सक्छ। त्यसैले आजै वलजफ्ती गरेर बहुमतीय प्रक्रिया शुरु गर्दा केही मान्छेको अहंतुष्टी वाहेक अरुलाई केही पनि प्राप्त हुने वाला छैन र सारा देश तथा जनताले दुःख मात्र पाउनेवाला छन्।
आजको दिनमा संविधान दिन नसके पनि एउटा सकारात्मक काम गर्न सकिन्छ। त्यो हो संविधानसभाका अध्यक्षको पहलमा सर्वदलीय बैठक बसेर सबैले सामुहिक आत्मालोचना गरौं र अर्को निश्चित मितिमा सहमतिबाटै अग्रगामी संविधान दिने प्रतिबद्धता गरौं।
नत्र ग्वेबल्सको प्रचारशैलीमा एकअर्कालाई अनर्गल आरोपप्रत्यारोप गर्ने र गोहीको आँसु झारेर सोझा जनतालाई ढाँट्ने र ठग्ने गरेमा इतिहासले कसैलाई पनि क्षमा गर्नेछैन ।
सबैलाई चेतना भया !
Post a Comment